|

काठमाडौं : पब्लिकेसन्स नेपालयले क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्धसंग्रह कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ। प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन।

‘यो किताब केहि समयदेखि बजारमा उपलब्ध थिएन, केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ। यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ,' किताबबारे दिवंगत लेखक कोइरालापुत्र कमल भन्छन्, 'त्यो भन्दा पनि महत्वपूर्ण : यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्नेछ। कोशी उतिबेला बिहारको श्राप भएपनि अब वरदान भएको कुरा उनीहरू नै बताउँछन्। कोशीमा धेरै पानी बगिसक्यो तर यी कथाहरू मानवीय दुःखको चित्रण र आशाको खोजीका निम्ति अझै कालजयी छन्।’ 

यस संग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन्, जहाँ परिवारसहित निर्वासनका बखत लेखकको बाल्यकालका महत्वपूर्ण हिस्सा गुज्रेको थियो।

सात सालको क्रान्ति ताका नेपाली कांग्रेसका 'सुप्रिम कमाण्डर' तथा क्रान्ति पछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सोभन्दा अगाडी देखि नै साहित्यकारका रूपमा परिचित थिए। 'कोशीको कथा' कोशी वा पौराणिक कौशीकी नदी वरिपरिका विषयवस्तु र जाति उपर लेखिएका निबन्ध तथा प्रबन्धहरूको संगालो हो।

कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर वि सं. २०११ सालको कोशी सन्धी प्रकरणसम्मका विषयलाई समेटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.