|

विराटनगर  :  मोरङमा एकै दिन ९ जनाको  कोरोना संक्रमणबाट मृत्यु भएको छ।

विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जस मध्ये मंगलबार विहान मात्र पाँच जनाको मृत्यु भएको हो। जसमा मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन्। प्रदेशमा एकै दिन यतिका धेरै मानिसको कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो।

मृत्यु भएका मध्ये आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो भने एक जनाको एक जनाको होम आइसोलेसन बसेको अबस्थामा मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको  छ।

मन्त्रालयका अनुसार विराटनगरको नोबेल  अस्पतालमा  पाँच जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जना गरी नौ जनाको मृत्यु भएको हो।

मंगलबार विहान मात्र नोबेलमा  झापा गौरादह–५ का ६५ वर्षीय  पुरुषको  बिहान साढे ८ बजे मृत्यु भएको छ।  त्यसैगरी तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि १० मिनेटको फरकमा बिहान ८ः२०  अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो।  

झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो। 

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेल मै ज्यान गएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। वृद्ध पुरुषको उपचारका क्रममा ज्यान गएको उनले बताए।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ। कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। 

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ज्यान गएको छ।  सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिड मै ज्यान गएको छ। बस्नेतका अनुसार वृद्धको मृत्यु बिहान ७:३० बजेतिर भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो। 

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९:५० बजेतिर मृत्यु भएको छ। निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा ज्यान गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ बजेतिर मृत्यु भएको थियो। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्। 

मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन्। योसँगै प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुनेका संख्या १ सय ७७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.