विज्ञ भन्छन्‌ : चाहनावाला र बहानावाला शिक्षकले डुबाए

|

काठमाडौं : सरकारले कोरोना (कोभिड-१९) नियन्त्रण गर्न भन्दै चैत्र ११ गतेबाट लकडाउन शुरू गर्‍यो। लकडाउनका कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन ठप्प भएसँगै शैक्षिकसत्रमा असर परिसकेको छ।

शैक्षिकसत्र खेर जान नदिन भन्दै सरकारले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गरेको भनेको पनि छ। तर, प्रभावकारी नभएपछि वैकल्पिक पढाइप्रति पनि प्रश्न उठ्न थालेको छ। शैक्षिकसत्र वैशाखदेखि शुरू भएर चैतमा सकिन्छ। चालु शैक्षिकसत्र सकिन अब मुस्किलले पाँच महिना मात्रै बाँकी छ। यस हिसाबले यो शैक्षिकसत्र गुम्ने स्थितिमा पुगेको छ। 

निजी विद्यालयवालाको भनाइ

चालु शैक्षिकसत्र अब के हुने भन्ने अन्योल अझै कायम रहेको निजी विद्यालयको संगठनका प्रतिनिधि बताउँछन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टिकाराम पुरीले थाहाखबरसँग भने, ‘चालु शैक्षिकसत्र गुम्ने खतरा छ, सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने सम्पूर्ण अधिकार दिएर कोरोना जोखिम नभएका क्षेत्रका विद्यालय सञ्चालन गर्न दिनुपर्छ, यति गरे शैक्षिकसत्र गुम्दैन।’

उनका अनुसार वैकल्पिक प्रणालीबाट सिकाई पूर्ण प्रभावकारी नभएपनि प्रकृया भने रोकिएको छैन। तिहारपछि विद्यालय सञ्चालनमा ल्याउन सकिए भौतिक उपस्थितिमा पढाउँदा छिट्टै कोर्ष अगाडी बढाउन सहजता मिल्नेछ। यसो गर्दा ढिलोमा चैत्र मसान्तसम्ममा शैक्षिकसत्र सकिन्छ।

अफलाइन सेन्टरमा र अनुसन्धान विधिबाट पढाउनुपर्छ : शिक्षाविद् कोइराला

चालु शैक्षिकसत्र बचाउनका लागि विज्ञहरूले सरकारलाई विभिन्न विकल्प देखाएका छन्‌। शिक्षाविद् डा.विद्यानाथ कोइराला भन्छन्‌,‘वैकल्पिक सिकाइले मात्र शैक्षिकसत्र सकिँदैन, धेरै विद्यार्थी प्रविधिबाट बञ्चित छन्, यसका लागि अफलाइन सेन्टर बनाएर पढाउनुपर्छ, विश्वविद्यालय तहमा चाहिँ अनुसन्धान पद्धतिबाट पढाउनुपर्छ।’

उनका अनुसार अफलाइन सेन्टर भन्नाले विद्यार्थी स्वयम् घरमै बसेर पढ्ने हो। जस्तो कि : विद्यार्थीले तरकारीलाई त्रिभुज बनाएर सिक्न सक्छन्‌। यसका लागि इन्टरनेट र प्रविधिको आवश्यकता पर्दैन। नजिकैको शिक्षकले भने विद्यार्थीलाई सहजीकरण गरिदिनुपर्छ।

‘अनुसन्धान पद्धति भन्नाले विद्यार्थीले कुन विषयमा के कसरी पढ्दा ठीक हुन्छ भनी आफैँ लाग्नु हो,’ उनले भने, ‘जस्तो की विद्यार्थीले किला ठोक्न के चाहिन्छ भन्दा घन चाहिन्छ भन्ने त जानकारी हुन्छ नि ! यसैगरी अध्ययन र सोचविचार गरी विश्वविद्यालयका विद्यार्थीले पढ्न सक्छन्‌। यसले शैक्षिकसत्र खेर जान नदिन मद्दत पुर्‍याउँछ।’

उनले यस पद्धति, विधिलाई विद्यालय र सरकारले विद्यार्थीको निगरानी हुनेगरी पहुँचमा पुर्‍याउनुपर्ने बताए। सरकारले शैक्षिकसत्र बचाउन चासो नै देखाउन नखोजेको भन्दै उनले आक्रोश पनि पोखे।

‘सामुदायिक विद्यालयका शिक्षकले नियमित तलब खाइरहेका छन्‌, घरमै बसीबसी खानु भनिएको त होइन नि ! शिक्षकले पनि यो समयमा कसरी के गरेर पढाउँदा ठीक हुन्छ भनेर सोच्नु पर्‍यो। तर, त्यतातर्फ ध्यान छैन, सरकारले नै बदमासी गरिरहेको छ,’ कोइराला भन्छन्‌‌।  

शिक्षकले कन्भिन्स कोर्ष बनाएर पढाए सहज रुपमै शैक्षिकसत्र बच्ने उनी बताउँछन्‌। ‘कोर्षलाई कसरी पढाउने वा अगाडी बढाउने भन्ने मुख्य हात शिक्षकको हुन्छ,’ उनले भने, ‘त्यसैले यसमा शिक्षकले नै जिम्मेवारी भएर पढाउनुपर्‍यो। तर, चासो देखाउँदैनन्‌। त्यसो त म चाहनावाला शिक्षकबहानावाला शिक्षक भनेर भन्ने गर्छु।’

उनले शैक्षिकसत्रको समय अझै भएको भन्दै यसमा सरकारले अन्य नगर्नुपर्ने बताए। विश्वविद्यालयका पदाधिकारी अधिकांश पार्टी विशेषका रहेकाले शैक्षिक सवालका विषयमा केही बोल्न नसकेको उनको भनाई छ। 

के छ सरकारको तयारी?

शैक्षिकसत्र गुम्ने खतरा देखिएपनि सरकार भने अझै वैकल्पिक सिकाइको मुख ताकिरहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्‌, ‘विद्यालय बन्द भएपनि वैकल्पिक माध्यमबाट पढाइ भैरहेको छ, पढाई रोकिएको छैन।’

शैक्षिकसत्र खेर जाने देखिएपछि सरकारले चालु वर्षको र २०७८ को सत्र समेत गाभ्ने तयारी गरेको खबर सार्वजनिक भइरहेको छ‌। तर, सरकारले यसबारे कुनै विकल्प नरोजेको प्रवक्ता शर्मा बताउँछन्‌।

‘शैक्षिकसत्र गाभ्नेबारे​ मन्त्रालयको कुनै तयारी छैन,’ उनले भने, ‘कसरी शैक्षिक  सत्र बचाउने भन्नेबारेमा छलफल भने चलेको छ, अरू विकल्प आउन सक्ला।’

सरकारले तिहारपछि कोरोना जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालन गर्ने तयारी थालेको जानकारी दिँदै उनले विद्यालय सञ्चालनमा आएपछि थप शैक्षिकसत्र बच्ने सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.