प्राविधिकले झुक्याए, त्यसमाथि राजनीति भएपछि किसान अलग्गिँदै

|

सिमरा : बाराको ग्रामिण भेगका कृषिजन्य उत्पादन भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारको अनुदान लिएर साना किसान कृषि सहकारी संस्था डुमरवानाले शुरू गरेको शीत भण्डार सञ्चालन भएको दुई वर्ष नबित्दै बन्द भएको छ। 

सरकारको १५ लाख रुपैयाँ अनुदान र साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको ३७ लाख रुपैयाँ लगानी गरी ५२ लाख रुपैयाँमा २०७२ सालमा शुरू भएको ‘सहकारी शीत भण्डार’ सञ्चालन गरेको दुई वर्ष नबित्दै बन्द भएको हो। सो शीत भण्डारमा जितपुरसिमरा उपमहानगर वडा नं १२, १३, १४, १५, १६ र १७ का कृषकहरूले शुल्क तिरेर बीउ आलु तथा चिस्यान केन्द्रमै राख्नुपर्ने अन्य बालीका बीउहरू भण्डारण गर्दै आएका थिए।

सरकारी इन्जिनियरहरूले नै गलत प्रविधि दिएको र सञ्चालन खर्चसमेत अधिक भएको भन्दै दुई वर्षमै चिस्यान बन्द गर्नुपरेको साना किसान कृषि सहकारी डुमरवानाका प्रबन्धक नारायण क्षेत्रीले बताएका छन्।

‘नेपाल सरकारका इन्जिनियरहरूले नै हामीलाई सही सुझाव दिएनन्, यो प्रविधि गलत देखियो, यस्तो चिस्यान खासमा बजारमा बिक्रीको लागि तयार भएको तरकारी दुईचार दिनलाई मात्रै राख्न मिल्ने रहेछ, हामीले कृषकको बीउ आलु राख्न प्रयोग गर्‍यौं, तर सफल भएन,’ प्रबन्धक क्षेत्रीले भने, ‘सञ्चालन खर्च अधिक भयो, हामीले धान्नै सकेनौं।’ सो शीत भण्डारका लागि जिल्ला कृषि विकास कार्यालय बारा र कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालयको आर्थिक सहयोग गरेका थियो। 

सरकारी अनुदान र नौ हजार साना कृषकको लगानी रहेको सो चिस्यान केन्द्रलाई भत्काएर संस्थाले सो ठाउँलाई धान गोदामको रुपमा प्रयोग गरेको छ। नौ हजार ४६ जना सेयर सदस्य रहेको सो कृषि सहकारी संस्थाको ९९ करोड वचत, १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी र सेयर सदस्यहरूसँग ६ करोड ६० लाख रुपैयाँ आर्थिक कारोबार गरेको छ।

बाराको उत्तरी भेगको सबैभन्दा ठूलो सो कृषि सहकारीमा दुई वर्ष अघिसम्म १० हजारभन्दा धेरै सेयर सदस्य रहेका थिए। पछिल्लो समय आन्तरिक राजनीतिका कारण विवाद बढ्दै गएपछि कृषकहरूले संस्था छोड्दै गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.