जेष्ठ नागरिक भन्छन्‌ : संघीयता आएपछि हेपियौं, प्रमुख भन्छन्‌ : कर्मचारीले बदमासी गरे

|

जुम्ला : चन्दननाथ नगरपालिकामा ७२० जना जेष्ठ नागरिकले भर्ता नपाएको गुनासो गरेका छन्‌।

​पहिलो चौमासिकमा नै पाउनुपर्ने सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिकाभित्रका जेष्ठ नागरिकको यस पटकको दशैँसमेत अभावमै टारेको बताएका छन्‌।‌  भत्ता दिन पटक-पटक आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको जेष्ठ नागरिकको आरोप छ।

नगरपालिका-५ का ७८ वर्षीय पूर्णबहादुर खत्रीले भने, 'चार महिनादेखि भत्ता पाएका छैन, दशैँ त जसोतसो गयो, अब आउने तिहार कसरी मनाउने होला भन्ने चिन्ता लागेको छ।’ यस अघि वडा दशैँमा भत्ता पाउने काँटछाँट नदेखेपछि एक हजार रुपैयाँ लुकाएर राखेको र त्यही रकमले दशैँ मनाएको उनले बताए। भत्ता नपाए आफूले तिहार मनाउन नपाउने भन्दै उनले दु:खेसो पोखेका छन्‌। नगरपालिकाले जेष्ठ नागरिकलाई वास्ता नगरेको र कसैले भत्ता निकालिएको छ भन्दा आफूहरू अन्योलमा परेको जेष्ठ नागरिकहरू बताउँछन्‌। 

पूर्णबहादुरले हरेक चौमासिकमा ८ हजार रुपैयाँ भत्ता पाउँथे। भत्ता पाउने आशमा पटक-पटक नगरपालिकाभित्र छिरेपनि आफूहरूलाई कसैले वास्ता नगर्ने गरेको उनले बताए।

जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले जेष्ठ नागरिकलाई साथ दिने निकाय संघीयतापछि घटेको बताए। 'पहिला गाविस हुँदा हरेक बजेट तर्जुमा गर्दा हामी सहभागी हुन्थ्यौँ, संघीयता आएपछि गाउँका सिंहदरबारले बजेट तर्जुमा गर्दा सहभागी गराउँदैनन्,' भारतीले भने, ‘केन्द्रीकृत सत्ताले सम्मान दिएको जेष्ठ नागरिकलाई संघीयताले हेप्दै लगेको छ। जेष्ठ नागरिकको पक्षमा बोलिदिने नियम, कानुन, प्रशासन, राजनीतिक नेता छैनन्।’ गत भदौ महिनादेखि नै भत्ता दिने वातावरण बनाउन आग्रह गरिएपनि सुनुवाइ नभएको उनले बताए।

'जेष्ठ नागरिक सबै एकै प्रकारका छैनन्, कोहीले राम्रो परिवारको साथ पाउँछन्, कसैले दसैंका लागि भत्ताको आश गरिरहेका हुन्छन्‌, तर गाउँका सिंहदरबारले न दशैँमा भत्ता दिए, न त तिहारमा नै भत्ता दिने भए, यो निकै दुःखद् विषय हो,' उनले थपे। 

चन्दननाथ नगरपालिकामा ७२० जना जेष्ठ नागरिक छन्। एकल महिला ४५, बालबालिका एक हजार ४०० र अपांगता भएका व्यक्ति १६६ जना छन्। ६० वर्ष माथिका जेष्ठ नागरिकलाई महिनामा दुई हजार रुपैयाँ भत्ता दिइएको छ। ७० वर्ष माथिकालाई दुई हजार भत्ता र एक हजार उपचार खर्च दिने व्यवस्ता छ। एकल महिलालाई महिनामा दुई हजार र बालबालिकालाई प्रति महिना ४०० रुपैयाँ भत्ता दिइन्छ। स्थानीय सरकारबाट अरू सुविधा पाउनुको साटो भत्ता समेत नपाउँदा यहाँका जेष्ठ नागरिक दुखी बनेको बताएका छन्‌।

​नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भने, 'भत्तामा भइरहेको ढिला सुस्तीबारे गम्भीर बनेको छु, सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको बदमासीका कारण दशैँमा पनि भत्ता उपलब्ध गराउन सकेनौँ। तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन।'

उनले यसको लागी काम भइरहेको र प्रक्रिया प"रा गरेर तिहार लगत्तै सामाजिक सुरक्षा भत्ता बाँड्ने बताए। सामाजिक सुरक्षा फाँटमा भइरहेको बदमासीको अख्तियारले पनि अनुसन्धान गरिरहेको छ। नगरपालिकाले पनि पटक-पटक स्पष्टिकरण सोधेको चौलागाईंले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.