दैनिक ७ हजार बेड चार्ज, सुविधा शून्य​

|

काठमाडौं : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको खानामा हेलचेक्रयाइँ गरेको पाइएको छ। १० दिनअगाडि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका हेटौँडा निवासी सुदीपराज गिरीलाई दिइएको खानामा स्टयाप्लर पिनसमेत भेटिएको छ।

अस्पतालले संक्रमित बिरामीका लागि दिएको बेलुकाको जाउलोमा स्ट्याप्लरको पिन भेटिएको प्रतिष्ठानको आइसोलेसनमा उपचाररत संक्रमित गिरीले जानकारी दिए। पिन देखिएपछि खाना खान डर लाग्ने गरेको उनले बताए।

उनले खाना ल्याइदिने 'सिस्टर'लाई जानकारी गराउँदा कोही बेला यस्तो सामान्य हुने गरेको प्रतिक्रिया पाएको दुखेसो सुनाए। खानाको बारेमा गल्ती भेटेर टिप्पणी गर्दा पनि अस्पतालले जिम्मेवारपूर्वक काम नगरिरहेको उनले गुनासो गरे।

'खानामा हेलचेक्रयाइँ गरिन्छ अन्य सुविधामा कति हेलचेक्रयाइँ गरिन्छ,'आक्रोशित हुँदै उनले भने,' वार्डको बिहान एकपटक सफाइ हुन्छ। बेड चार्ज तिरिएको छ तर, रातभरि जाडो हुन्छ, ब्ल्याङ्केट पनि दिएको छैन, बेड सिट परिवर्तन पनि गरिएको छैन।'

एक हप्तासम्म पाएनन् एक्स-रेको रिपोर्ट

आइसोलेसनमा रहेको संक्रमितले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा केही जानकारी पाउँदैनन्। गिरीले छातीको एक्स-रे गरेको एक हप्ता भइसक्दा पनि रिपोर्ट पाएका छैनन्। चिकित्सकले संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ भनेर जानकारी गराउनुपर्ने उनको माग छ।

दैनिक संक्रमितको उपचार गर्नको लागि आउने चिकित्सक फेरिएर आउने गरेको उनले सुनाए। उनी भन्छन्,' अघिल्लो दिन राउण्ड आउने चिकित्सकलाई एउटा कुरा सुनायो, भोलिपल्ट अर्को हुने गरेका छन्। आफ्नो स्वास्थ्य अवस्थाको जानकारी माग्दा पनि पाइएको छैन।'

बिरामीलाई बेवास्ता गरेको गुनासो

आइसोलेसन वार्डमा बाबा (टंकप्रसाद गिरी) सहित ९ दिनदेखि उपचाररत छन् सुदीप। हेटौँडाबाट बाबाको निमोनियाको उपचार गराउन आउँदा उनलाई कोरोना पुष्टि भएको हो। अस्पतालमा अपांगमैत्री शौचालय नभएकोले बाबाको घुँडामा अप्ठयारो भएकोले दिशा पिसाब गर्न गाह्रो भइरहेको उनले जानकारी दिए।

संक्रमितलाई प्रतिष्ठानको आइसोलेसनमा एक दिनको बेड चार्ज ७ हजार तिर्नुपर्ने गिरी बताउँछन्। 'अस्पतालबाट डिस्चार्ज भएर जाने समयसम्ममा मेरो पैसाको बिल १ लाख माथि हुन्छ,' उनले भने।

उनलाई रेमडिसिभरको प्रयोग गरिएको छ। रेमडिसिभरको प्रयोगले स्वास्थ्यमा निकै सुधार भइरहेको छ। १ डोजको ५ हजार ३ सय ६० तिरेर उपचार गरिरहेको उनले सुनाए। 'पैसा नहुनेको लागि रेमडिसिभर मँहगो रहेको,' उनले अगाडि थपे,' अझै चार डोज लगाउन बाँकी छ। जम्मा ६ डोज लगाउनुपर्छ।'

अस्पतालको लापरबाही र बिरामीले आफ्नो स्वास्थ्य बारेमा जानकारी लिन खोज्दा पनि किन दिइएन? भनेर थाहा खबरले सम्पर्क गर्न खोज्दा प्रतिष्ठानका निर्देशक डा. रवि शाक्य सम्पर्क हुन सकेन। अर्का कोभिड संक्रमितको उपचारको लागि अस्पतालले तोकेको डा. आशिष श्रेष्ठसँग बुझ्न खोज्दा अस्पतालका दुवै अधिकारीसँग सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.