चीन-भारत जोड्ने सडक छिट्टै पूरा गरिने

|

संखुवासभा : प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको अवलोकन गरेका छन्। 

बुधबार बिहान साढे ९ बजे नेपाली सेनाको  हेलिकप्टरबाट संखुवासभा आइपुगेका ओलीले अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अवलोकन गरेका छन्। 

चीन, भारत र नेपाललाई जोड्न देशकै महत्वपूर्ण मानिएको कोशी राजमार्ग राज्यको प्राथमिकतामा रहेको उनले बताए। सडकखण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको बताउँदै ओलीले ट्रयाक खुलेपछि कालो पत्रेसम्मको काम क्रमशः गर्दै जाने प्रतिवद्धता जनाए  । 

रहरले प्रधानमन्त्री भएको होइन

प्रम ओलीले आफू रहरले प्रधानमन्त्री नभई जनताले बनाएको बताए। जनचाहना अनुसार आफुले सरकारको नेतृत्व गरिरहेकोले कसैले राजीनामा दिन लगाउनु जनचाहना विपरीत रहेको पनि उनले बताए। 

‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोही कसैले राजीनामा माग्नु व्यर्थ हो’, प्रम ओलीले भने। पछिल्लो समय पार्टी फुटको हल्ला चलाइएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि उनले आग्रह गरे। प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने पनि बताएका छन्। ‘जनताको विश्वासले आएको हो’, उनले थपे, ‘अहिले सरकार परिर्वतन हुँदैन, हल्लाको पछि नलाग्नू।’

अरुणको कामबाट सन्तुष्ट

ओलीले अरुण तेश्रो जलविद्युत् आयोजनाको कामबाट आफू सन्तुष्ट रहेको पनि बताए। उनले अरुण तेस्रोको स्थलगत अनुगमनका क्रममा यस्तो बताएका हुन्।

उनले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा सतजल कम्पनीका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति बिवरण प्रस्तुत गरेका थिए। 

अरुण तेश्रो बारेमा लगानी बोर्डमार्फत भइरहेको र यस पटक आफै स्थलगत अनुगमनमा आएको प्रधानमन्त्री ओलीले बताए। अरुण तेस्रोको २०७५ वैशाख २८ गते  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै शिलान्यास गरेको स्मरण गराउनुहुँदै कामबाट आफु सन्तुष्ट रहेको बताए। 

२४ घण्टा काम

हाल दुई हजार ४ सय कामदारबाट २४ सै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ। अहिलेसम्म ३ सहायक सुरुङ मार्गसहित ड्याम साइडबाट पावर हाउससम्म पुग्ने सुरुङ मार्ग (डाइभर्सन टनेल) निर्माण सम्पन्न भइसकेको छ। 

 ९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना सन २०२२ मा सम्पन्न हुने परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ। 
१ खर्ब ४४ अर्ब लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलब ९ प्रतिशत निशुल्क विद्युत् प्राप्त हुनेछ। विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपैयाँ आर्थिक लाभ लिनेछ। 

आयोजनाबाट स्थानीय प्रभावितहरुले १ अर्ब ६० करोड रुपैयाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिट विद्युत प्राप्त गर्नेछन्। निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ। 

प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, राष्ट्रिय सभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतमसहित संखुवासभा आइपुगेका थिए। टोलीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.