|

कञ्चनपुर : कञ्चनपुरस्थित दोधारा-चाँदनीदेखि दार्चुलाको तिंकरसम्म निर्माणाधीन महाकाली करिडोरको ब्रह्मदेव कौवानी त्रिशुलीधारसम्म रुख कटान गर्नका लागि प्रक्रिया अघि बढाइएको छ।

सडक निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएर आएको छ। सडक क्षेत्रमा पर्ने रुखको लगत लिने कार्यसँगै नम्बर राख्‍न मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ। मन्त्रालयबाट लगत स्वीकृत भएर आएपछि रुखमा छपान गर्ने कार्यसँगै कटानी हुने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए।

इआइए नहुँदा अहिलेसम्म ब्रह्मदेव कौवानी खण्डमा निर्माण सडक निर्माण शुरू हुन सकेको छैन। इआइए नगरिएका कारण पहिलो वर्षमै सडक निर्माणमा अवरोध गरिएको थियो। सरकारले सडक बनाउन शुरू गरेकै वर्ष वि.सं. २०६६ मा ब्रह्मदेवमा ठेक्का लगाइ काम अघि बढाएको थियो। 

गत वर्ष इआइए गरिएपछि डिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुख कटान प्रक्रिया अघि बढाएको हो। ‘इआइए रिपोर्ट अनुसार सडक क्षेत्रमा पर्ने रुखको लगत लिइएको छ, काट्ने अनुमति आएपछि छपान गरी काट्न शुरू गर्छाैं’ डिजिभन वन कार्यालयका सूचना अधिकारी अवस्थीले भने। 

अवस्थीका अनुसार करिडोर निर्माण क्षेत्रमा पर्ने एक हजार ९१२ वटा रुखको लगत लिइएको छ। सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले डिभिजनलाई रुखको लगत लिन गत महिना पत्राचार गरेको थियो। 

सरकारले चीन र भारतसहित त्रिदेशीय व्यापारका लागि दार्चुलाको तिंकरसम्म महाकाली करिडोर बनाउने कार्यलाई तीव्र रुपमा अगाडी बढाएको छ। वि.सं. २०७४ को निर्वाचनपछि जनप्रतिनिधिहरूले करिडोर क्षेत्रमा पर्ने ब्रम्हदेव क्षेत्रको सडक निर्माणका अवरोध हटाउन पहल थालेर गत वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको थियो। वातावरणीय प्रभाव मूल्याङ्कनपछि सडक निर्माणका अवरोध हटेका हुन।

सरकारले यस वर्ष महाकाली करिडोरलाई बहुवर्षे ठेक्कामा लगेर ९३ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको छ। रुख कटानपछि यस वर्ष ब्रह्मदेव कौवानी खण्डको ११ किलोमिटर सडक निर्माण पनि अघि बढ्न लागेको हो। 

कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा. दीपकप्रकाश भट्टले वातावरणीय प्रभाव मूल्याङ्कन भएर सडक निर्माणको अवरोध हटेकाले यस वर्ष ब्रह्मदेव कौवानी खण्डमा काम शुरू गरिने बताए। ‘सरकारले करिडोरका लागि ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ, त्यसको ठेक्का प्रक्रिया गरी यस वर्ष ब्रह्मदेव कौवानी खण्डमा पनि निर्माण शुरू हुन्छ,’ साँसद भट्टले भने। 

वि.सं. २०७४ मा निर्वाचनमा महाकाली करिडोर सांसद भट्टको मुख्य चुनावी एजेण्डा थियो। निर्वाचित भएपछि उनले सडक निर्माणमा वर्षौंदेखिको अवरोध हटाउन इआइएका लागि सरकारलाई निरन्तर दबाव दिएका थिए। 

अहिले महाकाली करिडोरलाई दोधारा चाँदनीसम्म पुगाउने प्रक्रिया अघि बढाइएको छ। यसका लागि करिडोरलाई गड्डा चौकीसम्म जोड्ने सडक निर्माण शुरू गरिएको छ। करिडोरलाई सुख्खा बन्दरगाहको ६ लेन सडकसित जोड्न लागिएको हो। 

ब्रह्मदेव कौवानी खण्डमा भीमदत्त नगरपालिकामा तीन वस्ती भएर सडक निर्माण हुन लागेको छ। करिडोरले खल्ला, टुँडिखेल र मुसेट्टीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए। 

भीमदत्त नगरपालिका-९ टुँडीखेलका स्थानीय जीत बहादुर बमले तीनै वस्तीका वासिन्दा करिडोर निर्माणको आशमा बसेको बताए। ‘करिडोर हाम्रै घरआँगन भएर बनिरहेको छ,’ उनले भने, ‘यसले यी बस्तीका दुःख कष्ट हराउँछ।’

ब्रह्मदेवदेखि तिंकरसम्म २२५ किलोमिटर सडकलाई दोधारा चाँदनीसम्म पुर्‍याएपछि फेरि विस्तार गरिनेछ। दार्चुला, बैतडी र डडेल्धुरामा सडक निर्माणको काम भइरहेको छ। दार्चुलामा सेनालाई सडक निर्माणको जिम्मा दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.