गाउँपालिकाको निर्णयलाई कांग्रेसका तर्फबाट वडाध्यक्ष बनेका श्रेष्ठले रोके

|

ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका, शिक्षा समितिले गरेको शिक्षक सरुवा तथा दरबन्दी मिलान सम्बन्धी निर्णय कार्यान्वयन वडाले रोकेको छ। गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न भन्दै  ३ नं. वडा कार्यालयले विद्यालयमा पत्र लेखेर रोकेको हो। 

गाउँपालिकाले असोज २९ गते पालिकाभित्र दरबन्दी मिलन तथा केही शिक्षकको सरुवा गरेको थियो। सरुवाको निर्णयले शिक्षकहरूलाई मार परेको तथा पठनपाठनमा समेत असर पर्ने भन्दै वडा नं. ३ का अध्यक्ष गंगा श्रेष्ठले सरुवा तथा दरबन्दी मिलानको निर्णय कार्यान्वयन नगर्न विद्यालयहरूमा परिपत्र गरेका थिए।

शिक्षक सरुवाको विषयमा नेपाली कांग्रेसले विरोध जनाउँदै आएको थियो। चिशंखुगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपाले जितेको छ भने ३ नं. वडाका वडाध्यक्ष गंगा श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित हुन्।

श्रेष्ठले वडा भित्रका ६ वडा विद्यालयलाई पत्र लेख्दै ‘शैक्षिक सत्रको मध्य भागका गरिएको सरुवाले पठनपाठनलाई असर पार्ने भएकाले विद्यालयमा सरुवा भइ आउने शिक्षकलाई हाजिर नगराउन तथा जानेलाई रवाना नदिन’ निर्देशन दिएका हुन्। वडाको परिपत्रले विद्यालय अन्योलमा परेका थिए।

यसैबीच, वडाध्ययक्षको परिपत्रपछि गाउँपालिकाले सबै विद्यालय तथा वडामा पत्राचार गर्दै गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले पत्र नै लेखेर क्षेत्राधिकार बाहिरका निर्णय नगर्न र शिक्षा नियमावली अनुसार भएका निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

वडाको परिपत्र सम्बन्धमा गाउँपालिका अध्यक्ष निशान्त शर्माले क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न वडालाई अधिकार नभएको बताए। उनले गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न वडा कार्यालयहरुलाई लिखित निर्देशन दिइएको जानकारी पनि दिए। कोरोना भाइरसका कारण विद्यालयको पठन पाठन अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले विद्यालय सञ्चालन तथा दरबन्दी मिलान, शिक्षक व्यवस्थापनको काम गरेको र राजनीति गर्ने मुद्दा धेरै भएकाले शैक्षिक वातावरण नधमिल्याउन आग्रह समेत गरेका छन्। 

गाउँपालिकाले शिक्षा मन्त्रालयको दरबन्दी मिलान सम्बन्धी परिपत्र तथा चिशंखुगढी गाउँपालिका शिक्षा नियमावलीका आधारमा गाउँपालिका भित्रका ४२ शिक्षकको दरबन्दी मिलान तथा सरुवा गरेको थियो। वडाको पत्रको वैधानिकता नरहेकाले निर्णय कार्यन्वयन हुने गाउँपालिकाले जनाएको छ।​

वडाध्यक्षमार्फत नेपाली कांग्रेसले गाउँपालिकाको निर्णय कार्यान्वयनमा अवरोध गर्ने प्रयास गरेको र उक्त अवैधानिक प्रयासको औचित्य नभएको नेकपा चिशंखुगढीले प्रतिक्रिया दिएको छ।

गाउँपालिकाले पठाएको पत्र :

सरुवा गरिएका शिक्षकलाई हाजिर नगराउन र रवाना नदिन वडाले काटेको पत्र :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.