|

जुम्ला : जुम्लाका स्वास्थ्य बीमितहरूले अस्पतालबाट निःशुल्क रुपमा औषधी नपाएको गुनासो गरेका छन्‌।

मंगलबार स्वास्थ्य परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गएका चन्दननाथ नगरपालिका – ४ का वडाध्यक्ष जगदीश चौलागाईंलाई डाक्टरले बिरामी पूर्जामा लेखिएका पाँच प्रकारका औषधीमध्ये दुई किसिमको औषधी अस्पतालको फार्मेसीले दिएको थियो। बाँकी तीन प्रकारको औषधी बाहिरका निजी मेडिकलबाट किन्ने भन्ने जवाफ दिइएको हो। बाहिर रहेका फार्मेसीबाट उनले ८५० रुपैयाँको औषधी किने।

स्वास्थ्य बीमित व्यक्तिमध्ये उनी एक उदाहरण मात्र हुन्। सहुलियत स्वाथ्य उपचार सेवा गराउने हेतुले बीमा गरेका बीमित नागरिकहरूले बीमाबाट उपचार गराउने भनेर पैसा नबोक्दा औषधी नलिई खाली हात फर्कनुपर्ने स्थिति छ। 

प्रतिष्ठानमा आउने सयौँ सेवाग्राहीले पनि यस्तै दु:ख भोग्दै आएका छन्। बीमाकर्ताले वार्षिक तीन हजार ५०० रुपैयाँ तिरेर एक लाख रुपैयाँसम्मको औषधोपचार पाउने कार्यक्रम नारामा मात्र सीमित भएको बीमितहरूले गुनासोे गरेका छन्‌।

नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरिएको छ। नागरिकको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटानी समेत गरिएको छ। स्वास्थ्य बिमा कार्यक्रम परिवारमा आधारित एक बृहत साझेदारी कार्यक्रम हो। जुम्लामा मात्र ४६ हजारले स्वास्थ्य बीमा गरेका छन्। 

प्रतिष्ठानमा लगाइएको ताला अझै खोलिएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डीन नियुक्त गरिएपछि कर्मचारी कल्याणकारी समाजले लगाएको ताला अझै खुलेको छैन।

असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय, ललितपुरबाट उपकुलपति प्रा.डा.राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा.डा.मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि ताला लगाइएको थियो। क्षेत्री प्रतिष्ठानको तेस्रो डीन हुन्।

निर्णय सच्याउन उपकुलपतिलाई अल्टिमेटम दिए पनि नसच्याएपछि तालाबन्दी गरिएको राष्ट्रिय कल्याणकारी कर्मचारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले बताए। उनका अनुसार यसअघि नै प्रतिष्ठानमा दुई डीन छन्।

‘दुई डीनले भूमिका नपाइरहेको बेला प्रतिष्ठानलाई आर्थिक भार पार्न तेस्रो डीन नियुक्त गरियो,’ उनले भने, ‘ताला लगाएको एक महिना हुँदासमेत निर्णय सच्याउन पहल भएको छैन।’

कर्मचारीले प्रतिष्ठानको उपकुलपति कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका छन्। ताला खोल्नेको लागि दशैँअघि आन्दोलित कर्मचारी र केही पदाधिकारीबीच छलफल भए पनि वार्ता सफल भएन। उपकुलपतिसँग मात्र थप छलफल गर्ने आन्दोलित कर्मचारीको अडान छ।

डीन नियुक्तिको विषयमा कार्यकारी परिषद्को बैठकबाट टुंगो लगाउने तयारी भइरहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। उनी जुम्ला पुगे पनि रजिष्ट्रार र शिक्षाध्यक्ष डा.निरेश थापालाई कोरोना संक्रमण भएपछि दुई सातादेखि आइसोलेसनमा छन्।

आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बैठक बोलाउने तयारी गरिएको डा. थापाले बताए। उनका अनुसार कार्यालयहरूमा ताला लगाइएपनि अस्पताल भने सञ्चालनमै छ।

प्रतिष्ठानको डीन नियुक्ति लगायतका विषयमा प्रतिष्ठानको प्रशासन, उपकुलपति, रजिष्ट्रार, डीनको कार्यकक्षमा गएको २८ असोजदेखि तालाबन्दीमा गरिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले राष्ट्रिय कल्याणकारी कर्मचारी समाज जुम्लाले डीन नियुक्ती लगायतका विषयमा अस्पतालमा लगाएको तालाबन्दीले अस्पतालको फार्मेसीमा औषधी पुर्‍याउन नसकिएको बताए।

उनका अनुसार स्वास्थ्य बीमा गरेका बीमित बिरामीहरूलाई सबै प्रकारका औषधीहरू अस्पतालको फार्मेसीमा उपलब्ध हुन नसकेको कारण बाहिरका मेडिकल पसलबाट किन्नुपर्ने बाध्यता उत्पन्न भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.