|

म्याग्दी : प्राकृतिक स्थलहरुमध्येको रमणीय प्राकृतिक स्थल हो म्याग्दीको टोड्के। मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित प्रशिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्के मानिसलाई प्रकृतिसँग साक्षात्कार गराई तनाब बिर्साइदिने गतिलो गन्तव्यस्थल बन्दै जान थालेको छ।

समुद्री सतहदेखि झण्डै २ हजार पाँच सय मिटरको उचाइमा बनको विचमा रहेको टोड्केबाट उत्तरतर्फ आँखा डुलाउँदा धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन गर्न पाइन्छ।

यहाँबाट मनोरम हिमश्रृङ्खलाहरु र दर्जनौं गाउँहरुको मनमोहक दृश्य देखिन्छन्। निकै आकर्षक, मनमोहक र सुन्दर दृश्यावलोकनका लागि निर्विकल्प गन्तव्य मानिन थालेको म्याग्दीको पर्यटन अभियन्ता राजेश शाक्यले बताए।

दृष्यावलोकन तथा सूर्योदय हेर्नका लागि निकै उपयुक्त मानिने पर्यटकीयस्थल यहाँ टोड्के हिल रिसोर्ट प्रालिद्वारा रु ३ करोडको लागतमा आधुनिक सुविधासम्पन्न सामुदायिक लज सञ्चालनमा ल्याएपछि विगतको वर्षहरुको तुलनामा भन्दा पछिल्लोपटक पर्यटक आगमन बढेको रिसोर्ट संचालक समितिका सदस्य मोहन खत्री बताउँछन्।

यहाँ निर्माण गरिएका नेपाल टेलिकम र एनसेलका अग्ला अग्ला टावरहरुले सुन्दरता थप वृद्धि भएको छ। टोड्कमा रिसोर्ट संचालन भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बताए।

कोभिड १९ को संक्रमण फैलिनुभन्दा अघि टोड्के भ्रमण गर्नका लागि म्याग्दी जिल्लासहित बागलुङ, पर्वत, पोखरा, काठमाडौं र विदेशी मुलुकहरु जापान, चीन, फ्रान्सबाट पर्यटकहरु पुग्ने गरेका थिए। तर अहिले व्यस्त जीवनको तनावबाट मुक्त हुन, मनोरञ्जन लिन र डाँडाकाँडासहित हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न जिल्ला भित्रका विभिन्न स्थानहरुबाट आन्तरिक पर्यटकहरु यहाँ आउने गरेका खत्रीले जानकारी दिए।

आर्गानिक उत्पादनको नमुना क्षेत्र

मुला र आलु खेतीका लागि जिल्लामै प्रशिद्ध टोड्के आर्गानिक उत्पादनको नमूना क्षेत्र हो। यहाँ उत्पादन हुने मुलाले जिल्लामा ख्याती कमाएको छ। टोड्के क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले गति लिन थालेको छ। टोड्के क्षेत्र अवलोकन तथा भ्रमणमा जाने आन्तरिक एवं बाह्य पर्यटक र मालिका मन्दिर दर्शन पुजनमा जाने भक्तजनहरुलाई लक्षित गरेर भौतिक पूर्वाधारको निर्माण कार्यलाई तीव्रता दिइएको छ।

 टोड्केमा दुई वर्षअघि पर्यटन बोर्डबाट प्राप्त ३४ लाख रुपैयाँको बजेटबाट पदमार्ग र गोलघर (प्रतीक्षालय) निर्माण गरिएको छ। यसैगरी यस क्षेत्रमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना (वास) दोस्रो चरणको आर्थिक सहयोगमा सटरसहित बाथरुम र शौचालयको निर्माण गरिएको छ।

यातायातको सहज पहुँचको व्यवस्था भएपनि कुहूँ पूर्णगाउँदेखि सहज पदमार्ग नै टोड्के क्षेत्रको विकासका लागि उपयुक्त हुने देखिएको छ। सरोकारवालाहरुले पदमार्ग विस्तार र पूर्वाधार निर्माण गरी प्रर्याप्त प्रचारप्रसार गर्न सक्ने हो भने टोड्के म्याग्दीको पुनहिल र घोडेपानी जत्तिकै चर्चित पर्यटकीय स्थल बन्न सक्ने सम्भावना रहेको स्थानीयले बताएका छन्।

टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरुलाई स्थानीय उत्पादन मुलाको अचार, कोदो र फापरको ढिँडो, स्थानीय जातका कुखुराको मासुलगायत अर्गानिक खानाहरु खुवाउने गरिएको रिसोर्टका संचालक भीम शेरचनले जानकारी दिए।

हाई अल्टिच्युड प्ले–ग्राउण्ड बनाउने योजना

प्रकृतिको उदात्त मुस्कानले सजिएको टोड्केलाई  खेल पर्यटनको आकर्षकस्थल बनाउने योजना रिसोर्ट संचालकहरुले बनाएका छन्। गत साल काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली ह्याण्डबल टीमले पनि टोड्केमा आएर हाईअल्टिच्युड ट्रेनिङ गरेको थियो।

हाई अल्टिच्युड प्ले–ग्राउण्डका साथै टोड्केमा बनस्पति उद्यान केन्द्र, पार्क निर्माण तथा कृषि खेती गर्नतर्फ जोड दिइएको शेरचनले जानकारी दिए।

उनका अनुसार टोड्के हाईअल्टिच्युड ट्रेनिङका लागि उत्कृष्ट स्थल बन्न सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन्। यिनै सम्भावनाहरु देखेर नै उनको समूहले आवश्यक लगानी गरेर हाईअल्टिच्युड ट्रेनिङ सेन्टर संचालन गर्ने निर्णय गरेको हो।

कसरी जाने टोड्के?

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत करिब दुई घण्टाको यात्रापछि टोड्के पुग्न सकिन्छ। बेनी–अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्णगाउँ, बेनी–घतान–पात्लेखेत–झीँ र बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्णगाउँ भएर टोड्के पुग्नका लागि तीनवटा फरक रुट रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.