|

काठमाडौं : कात्तिक ८ गते महाअष्टमीका दिन। दशैँ मनाउन सामाखुसी चोकमा कोही मासु किनमेलमा निस्किरहेका थिए त कोही खसी काटिरहेका थिए। १२ महिनापछि आएको चाड दशैँको दिन न हो। राजु सुनुवार र उनकी (बनाएको) आमा मीना लामाको दशैँ मनाउने इच्छा कहाँ नहुँदो हो?

तर, मन र इच्छा भएपनि उनीहरुसाथ पैसा थिएन। त्यसो त मासु पनि किन्न सकेनन्। ‘आफुसँग मासु किन्ने पैसा छैन,’दशैँ विषेश सुनाउँछन्,‘पसलमा मासु माग्न गयो भने आन्द्रा मात्रै दिन्छन्। त्यसैले हामीले मासु माग्न पनि गएनौँ। दाल भात खाएरै दशैँ मनायौँ।’ 

दशैँको बेला दुवैले मासु खान पाएनन्। कोही सहयोगीले सहयोग गरेनन् पनि। नयाँ लुगा पहिरनको कुरै छैन। तर, पनि राजुलाई कुनै पर्वाह र गुनासो छैन।  भन्छन्,‘हामी दुवैको दशैँ राम्रैसँग मनायौँ। जे छ त्यसैमा रमायौँ।’ 

दशैँ त सकिसक्यो। फेरि तिहार आइसक्यो,अब कसरी दुवैले मनाउने सोच बनाउनुभएको छ? सजिलैसँग फ्याट्ट जवाफ फर्काए,‘कसैले मासुभात दिए खान्छौँ। नदिए बसपार्कमा रहेको बिजी मलमा खाना दिन्छन्,त्यहीँ गएर ल्याउँला मज्जाले आमा छोरा बसेर दालभात खाउँला।’

४१ वर्षीय पोखराका राजु सडकमा आउनुका पछाडि कारण छ। १५ वर्षअघि श्रीमान–श्रीमती दुवै भोटेबहालमा कोठा लिएर बस्थे। ज्यामी काम गरेरै भए पनि परिवार पालिरहेका  थिए। तर, एकदिन श्रीमती अर्कै केटासँग भाग्छिन्। कहिलै नफर्किने गरी श्रीमती भागेपछि राजु एक्लै भए।

 

‘हामी दुई यही नालीमा बस्छौँ। हाम्रो घर,महल भने पनि यही नाली हो। तर,नगरपालिकाले यहाँ बस्दा पनि खरानी बनाउँछौँ भनेर बेला बेला धम्की दिइरहन्छ,’ राज्यले दिएको दुःखको विलीविस्तार राजु सुनाउँछन। 

आमा बिरामी भएपछि चिन्ता

सडकमै आमा बनाएका मिना केही दिनदेखि बिरामी छिन्। त्यसो त राजु अहिले चिन्तित छन्। बिरामी भएर अहिले खाना पनि खानुहुन्न,’उनले भने,‘आँखाको बिरामी हुनुहुन्छ। उपचार गर्ने पैसा छैन। पूरै थलिएर नालीभित्र सुतिरहनुभएको छ। खै अब के गर्ने–गर्ने सोच्नै सकेको छैन।’

उपत्यकामा दिनदिनै चिसो बढ्दै गएपछि झनै समस्यामा परेको राजु बताउँछन्। भन्छन्,‘चिसोले नालीभित्र बस्नै सकिँदैन। तर,पनि अरू केही विकल्प छैन। यस्तै हो भने जाडोले कुन दिन कठ्य्र‌ांग्रिएर मरिने होला।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.