दाङ : दाङको गढवा गाउँपालिका-८ कोइलावास निवासी लल्लु खान अहिले ५३ वर्षका भए। अहिलेसम्म उनी न नेपाली नागरिक हुन्, न त भारतीय नै !
उनका बाउ-बाजे कोइलावासमै जन्मिए, हुर्किए र बिते। उनी पनि कोइलावासमै जन्मिए, तर अहिलेसम्म नेपाली नागरिकता नपाउँदा आफू कुन देशको नागरिक हुँ भन्ने नै थाहा नपाएको उनी गुनासो गर्छन्।
नेपाली नागरिकता पाएर आफूलाई 'म नेपाली हुँ' भनी गर्वका साथ भन्न मन लागेको उनी बताउँछन्। तर, अहिलेसम्म नागरिकता नपाउँदा आफूहरूले धेरै समस्या भोग्दै आएको खानले बताए।
‘मेरो नागरिकता छैन, अहिलेसम्म राज्यबाट पाउने सेवा सुविधा पनि नागरिकता नपाएकैले रोकिएको छ,’ उनले भने, ‘नागरिकता नहुदाँ छोराहरूलाई वैदेशिक रोजगारीमा पठाउन समेत पाएको छैन, २०६३ सालमा कोइलावासमा पुगेको नागरिकता टोलीले नागरिकताको लागी निस्सा दिएपनि विवाद हुँदा पाउन सकिएन।’
कोइलावास भारतसँग जोडिएको सिमानामा पर्दछ। त्यहाँ करिब एक हजार ३०० मानिसको बसोबास रही आएको छ। तीमध्ये ९०० जनाले नेपाली नागरिकता पाएका छन् भने करिब ४०० जनाले अहिलेसम्म पाएका छैनन्।
२०१२ सालमा कोइलावास मै जन्मिएका सनी उल्लाह खानले पनि अहिलेसम्म नेपाली नागरिकता पाएका छैनन्। नागरिकता नपाउँदा राज्यबाट पाउने सेवा सुविधा लगायत पानी र विद्युत सेवासमेत लिन नपाएको उनको गुनासो छ। नागरिकता नपाउँदा आफूले मतदान गर्नबाट बञ्चित हुँदै आएको उनी बताउँछन्।
अर्का स्थानीय हारुन खानको समस्या पनि उस्तै हो। ६२ वर्षीय खान अहिले पनि नागरिकता पाउने आशमा बसेका छन्। तर त्यो आश कहिले पूरा हुन्छ, थाहा छैन। अहिलेसम्म नागरिकता नपाएर धेरै समस्या भोग्दै आएको उनको भनाइ छ। तर, पछिल्लो समय कोइलावासले मुहार फेर्दै गइरहेकोमा आफू खुशी भएको उनले बताए।
‘केही अघिसम्म समय पहिला यहाँका नागरिकहरूले खानेपानी, यातायात लगायत अन्य समस्या भोग्दै आएका थिए,’ उनले भने, ‘अहिले खानेपानीको पनि व्यवस्था हुन लागेको छ, सडक पक्की भएपछि चहलपहल बढ्दै गएको छ। अब फेरि कोइलावास पूरानै अवस्थामा फर्किन्छ जस्तो लागेको छ।’
त्यस्तै अर्की ५० वर्षीया माओती मौरीयाले पनि नागरिकता पाएकी छैनन्। ससुरा, श्रीमान कोइलावास मै जन्मिएर बिते पनि अहिलेसम्म आफूहरूले नागरिकता नपाएको उनले बताइन्। नागरिकता नहुँदा छोराहरूले दैनिकी ज्याला मजदुरी गर्न बाध्य भएको उनले जानकारी दिइन्। ‘नागरिकता नहुदाँ छोराहरूलाई बाहिर कमाउन पठाउन नसकेको छैन। घरखर्च चलाउन दैनिक ज्याला मजदुरी गर्न बाध्य छन्,’ उनले भनिन्। नागरिकता नहुँदा राज्यबाट पाइने सेवासुविधा लगायत भत्ता समेत नपाएको उनले बताइन्।
२०६३ सालमा नागरिकताको लागि पाएको टिकट र जग्गा निस्सा पनि उनीहरूको हातमा छ। तर, वडा कार्यालयबाट कागजपत्र तयार पारेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे पनि कानुनले नमिल्ने भन्दै फर्काउने गरिएको छ। स्थानीयतहमा जनप्रतिनिधि आएपछि नागरिकताको समस्या समाधान हुने आशमा बसेका उनीहरू अझै निरास छन्।
जनप्रतिनिधिले उनीहरूको समस्या समाधान गर्न विभिन्न निकायमा कुरा राखेको भएपनि समाधान हुन नसकेको वडाध्यक्ष सद्दाम सिद्धिकीले बताए। आफू जनप्रतिनिधि भएर आएपछि यहाँका नागरिकहरूलाई नागरिकता दिलाउन प्रयास गरेको भएपनि त्यो पूरा गर्न नसकेको उनको भनाइ छ।
‘म जनप्रतिनिधि भएर आएपछि दुई जनालाई सिफारिस दिएर जिल्ला प्रशासन पठाएँ, तर उनीहरूले कानुनका कारण पाउन सकेनन्,’ उनले भने, ‘पुरानो घरको लालपूर्जा र जन्मदर्ताको आधारमा सिफारिस गरेँ। तर जिल्ला प्रशासनबाट बुवाको नागरिकताको प्रतिलिपि चाहिने भन्दै बोधार्थ पत्र आयो। तर उहाँहरूसँग बुवाको नागरिकता छैन।’ यहाँका स्थानीवासी लामो समयदेखि नागरिकता पाउने आशमा रहेको भन्दै उनले संविधान संशोधन गरेरै भएपनि उनीहरूको समस्या समाधान गर्नुपर्ने बताए।
उनीहरूले जन्मका आधारमा नागरिकता पाएपनि धेरै खुशी हुने वडाध्यक्ष सिद्धिकीले बताए। साथै, नागरिकता नपाउँदा उनीहरू कुन देशका नागरिक हुन् भन्नेसमेत दोधारमा रहेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।