|

बागलुङ : स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँच मुरी फल्ने खेत। पाँच रोपनी पाखो खेतमा रोपाइँ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान परालले उठाउन हम्मे-हम्मे हुन्थ्यो।

बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजालले परम्परागत खेती गर्दै आएका थिए। झण्डै पाँच रोपनी जमिन कोतर्न दुई दिन लाग्थ्यो। बुढ्यौली लाग्दै जाँदा त्यही खेती लगाएर खान पनि कठिन हुँदै गयो। उमेर पुगेका छोराछोरी जागिर खोज्थे। परम्परागत खेतीमा चाहना थिएन। भोलालाई लागेको थियो : अब छोराले खेतीपातीको काम धान्छन्। पढाइसँगै जागिर गरिरहेका छोराले वर्षाको समयमा थोरै समय दिए भने मात्र दुई छाक खान पुग्छ। परिवारको गुजारा चल्छ। तर भोलाले सोचेको जस्तो व्यवहार छोराले भने गरेनन्।

दोलखाको एक जलविद्युत आयोजनामा काम गरिरहेका महेन्द्र रिजाल बाबुले गर्दै आएको खेतीमा रमाएनन्। उनले आफ्नै गाउँमा रहेको पाखोलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोचिरहेका हुन्थे। नयाँ हुटहुटी चलिरहेको थियो। कामकै क्रममा उनि दोलखा पुगेका थिए। जहाँ उनले पाखोमा लटरम्म फलेको फल देखे।

उनको मनको हुटहुटी त्यहि फलमा गएर अडियो। काठमाडौंका ठूलाठूला डिपार्टमेन्ट स्टोरमा यूरोप चीनबाट ल्याएको त्यस्तो फल महंगोमा बेचिन्थ्यो। उनले चासोका साथ सोधे र थाहा पाए : त्यो किवी फल थियो। महेन्द्र काठमाडौँ फर्केर यो फल आफ्नो गाउँमा फलाउन सकिन्छ वा सकिँदैन भन्ने अध्ययनमा लागे।

हावापानी उस्तै माटो पनि उस्तै! किवी आफ्नो गाउँमा पनि उत्पादन गर्न सकिने र बजारको समस्या नहुने बुझेपछि उनी यही खेती गर्ने निर्णयमा पुगे। उनले घर छेउको पाखो खेतमा किवी रोप्ने निर्णय त गरे, तर त्यो कुराले उनको परिवारको चित्त भने बुझेको थिएन। परिवारले मानोस्‌ पनि कसरी ? उनीहरूले जीवनमा पहिलो पटक किवी भन्ने नाम सुनेका थिए।

महेन्द्र भन्छन्, ‘बुबालाई कर लगाएँ, बल्लतल्ल मनाएर किवी रोपेको हुँ।’ परिवारको प्रतिवादकै बीच लगाएको किवीले अहिले लटरम्म फल दिएको छ। हिजो धान फल्ने खेतमा किवी लगाउँ भन्दा छोराको प्रस्तावमा अचम्मित परेका भोलानाथ अहिले खेतबाटै किवी धमाधम बेचिरहेका छन्।

पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब पाँच लाख रुपैयाँ खर्चेर किवीका ८० वटा भाले र पोथी बिरुवा लगाएका हुन्‌। बजारीकरणको समस्या नहोस्‌ भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी पनि खोले।

खेत भरी किवी लगाएका महेन्द्रलाई घर खर्च चलाउन कठिन भएपछि अध्ययन र रोजगरी दुवैको खोजीमा साउदी अरब पुगेका छन्। विरुवा लगाएको तीन वर्ष भयोऽ उनी साउदी लागेको एक वर्ष।

‘बुबाले यो वर्क्ष झण्डै पाँच क्विन्टल फलेको छ भन्नुभएको छ,’ महेन्द्र भन्छन् ‘६०/६२ बिरुवा मात्रै फल्दा त एकै वर्षमा लगानी उठ्ने देखियो, म फर्किँदा त सबै फल्नेछन्।’ खेतमा फलेको बोटबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन्। ‘अब धेरै छैन, तिहार सकिने बेलासम्म सबै बिक्रि हुन्छ,’ उनले भने, ‘खेतमै तौलेर धमाधम बेचिरहेको छु।’

माटो अनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन्। ‘कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न विदेश जानुपर्दैन,’ उनी भन्छन् ‘अब छोरालाई घरमै बसेर किवीको सुसार गर्न भन्छु।’

महेन्द्र पनि खेतमा लगाएको सबै बिरुवा फल्न थाले घरमै बसेर किवीकै प्रवर्द्धन गर्ने सोचमा छन्। ‘बिरुवा रोपेर खर्च चलाउन विदेश आएँ’ महेन्द्र भन्छन्, ‘अब नेपाल फर्किन्छु र यसमै लाग्छु, बाँझो रहेका जग्गा समेत भाडामा लिएर किवी खेती गर्ने सोच छ।’

किवी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो। किवीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत  लगाएका छन्। झ्याल प्रजातीको किवीको रुखमुनि लगाएको नगदे बालीहरूले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.