|

काभ्रे : दशैँपछिको दोस्रो ठूलो पर्व तिहारले देशलाई उज्यालो, संगीत र भातृत्वको आभास दिलाइसकेको छ। तिहारको पनि विशेष दिन मानिने भाइटीका आउन दुई दिन मात्रै बाँकी छ। काभ्रेलाई भाइटीका बजारले तिहारमय बनाइदिएको छ।

यसपालि कोरोना महामारीले चाडबाडहरू राम्ररी मनाउन सकस परिरहेपनि संस्कृति धान्न र कठिनाइकै बीच पनि पर्वमा रौनक ल्याउन सर्वसाधारणदेखि व्यवसायीहरूसम्मले सक्दो प्रयास गरिरहेका छन्‌। लामो समय लगाइएको लकडाउनका बेला भएको आर्थिक क्षति थोरै भएपनि टाल्न व्यवसायीहरूले चाडबाडलाई नै आधार बनाएका छन्‌। डराउँदै-डराउँदै भएपनि तिहारका लागि आवश्यक सामग्री बेच्नेको भीड काभ्रेको बनेपा बजारमा देख्न सकिन्छ। 

फूलमाला, मीठाई, भाइमसला, ओखर, नरिवल, फलफूल, लक्ष्मीका तस्विर, पूजा सामग्री, भाइटीकाका लागि आवश्यक सामाग्री खरिदबिक्री गर्नेहरू पनि बढ्न थालेका छन्। बजारको माहोल हेर्दा कोरोना भाइरसको कुनै प्रभाव भएजस्तो देखिँदैन। तर व्यापारीहरू भने पहिलेजस्तो व्यापार नभएको बताउँछन्। 

बनेपाको चाँदनीचोकमा भाइटीकाको लागि आवश्यक सप्तरङ्गी टिका, फूलमाला, ओखर लगायतका सामग्री बिक्री गरिरहेकी लक्ष्मी श्रेष्ठले कोरोनाको कारण अन्य क्षेत्रको काम तथा व्यवसाय करिब बन्द जस्तै भएकाले तिहार सामाग्रीको बिक्री गर्ने व्यापारीहरू बढेको बताइन्‌। यसकारण पनि पहिला जस्तो व्यापार हुन नसकेको र धेरै बिक्री पसल थपिँदा सयपत्री, मखलमी जस्ता मालाहरू सस्तोमा नै बेच्नु परेको उनको भनाइ छ।

काभ्रेका मुख्य बजार मानिने बनेपा, पनौती, धुलिखेल लगायतका आसपासका बजारमा किनमेल गर्नेहरूको संख्या बढिरहेको छ। पछिल्लो समय सत्रपत्री र मखमली फूलहरूको विकल्पमा ल्याइएका प्लाष्टिकका फूलहरूले बजार रंगीन देखिन थालेका छन्।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.