|

कपिलवस्तु : गौतम बुद्धको गृहनगरी तिलौराकोटसहित सात पुरातात्त्विक स्थलको गुरूयोजना निर्माण हुने भएको छ।

प्रदेश ५ को महत्त्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइदै आएको राजा शुद्धोदनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक वधस्थल सग्रहवा,बुद्धले पहिलोपटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निगालीकोट, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा, बौद्धकालीन स्तूप भेटिएको अरौराकोट सहितका सात मुख्य बौद्ध स्थललाई समेटेर दीर्घकालीन गुरूयोजना निर्माण गर्न लागिएको हो।

‘बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना र लुम्बिनी, कपिलवस्तु र रामग्राम भित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना बनाएका छौँ। योजना अनुसार तिलौराकोटलाई केन्द्रमा राखी गुरूयोजना निर्माण गरिनेछ। नयाँ अध्ययन अनुसार तिलौराकोट क्षेत्रमा नेपालको सबै भन्दा पुरानो सभ्यता फेला परेको छ,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठी  (भिक्षु मेतेया) ले भने, 'विज्ञका अनुसार बुद्ध भन्दा १६ सय वर्ष अगाडीको सभ्यता देखिएको छ। जुन एसियाकै तक्षशीला स गान्धार क्षेत्रसँग तुलना गर्न सकिन्छ। संरचनालाई दीर्घकालीन संरक्षणको प्राथमिकता दिने गरी योजना बनाइनेछ। करिब ६ महिनाभित्र गुरुयोजनाको खाका निमार्ण गरिने छ।’

लुम्बिनी आउने पर्यटकलाई तिलौराकोटसम्म पुर्‍याउने लक्ष्य समेत राखिएको छ। पर्यटक घुम्नका लागी बाटो, बसपार्क, आराम गर्ने ठाउँ, स्थानीय सामाग्री किनमेलका गर्ने स्थल समेत निर्माण गरिने योजनामा रहेको छ। कपिलवस्तु तथा बौद्धकालिन इतिहास सिक्ने थलोको रूपमा समेत विकास हुनेछ। गुरूयोजनाका लागि विज्ञहरूले एक वर्ष अघिदेखि काम गर्दै आएका छन्‌। 

जग्गा अधिग्रहण सहित मुख्य संरचना निर्माणका लागी १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।  गुरुयोजना निर्माणका लागि आर्किटेक ईन्जिनियर डा. सञ्जय उप्रेतीले काम गर्दै आएका छन्‌। उप्रेतीले रामग्रामको गुरुयोजनासमेत निर्माण गरेका थिए।

कोषले तिलौराकोटको गुरूयोजना निर्माणका लागी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जन निर्वाचित प्रतिनिधि, स्थानीय समाजसेवी र सरोकारवालासँग छलफल समेत गरेको छ। पूर्व कृषिमन्त्री तथा सङ्घीय सांसद चक्रपाणि खनाल (बलदेव) ले कपिलवस्तुको दीर्घकालीन  गुरुयोजना बनेर कार्यान्वयनमा आएपछि जिल्लाको पर्यटकीय विकासमा कायापलट हुने विश्वास व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.