इमानदारिता र सुरक्षाको पर्याय कुकुर

|

म्याग्दी : आज तिहारको दोस्रो दिन ! आज्ञापालक र भरपर्दो रक्षकका साथै इमानदारिता एवम्‌ सुरक्षाको पर्याय मानिएको कुकुरको पूजा गर्ने दिन ! लक्ष्मी पूजा पनि आजै परेकोले यस वर्ष कुकुर तिहारको चर्चा कम भएपनि कुकुरको महत्व र कुकुरबाट हुने सुरक्षाको वर्णन उत्तिकै भइरहेको छ।

कुकुरको इमानदारिता र सुरक्षाको बलियो प्रमाण म्याग्दी जिल्लामा देखिएको छ। हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा व्यवसायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ।

गोठ वन जंगलको बिचमा हुने र गोठालाहरू पनि कम हुने भएकाले भेडा बाख्राको सारथी कुकुर हुने गरेका छन्। जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको व्यवसायीहरूको भनाई छ।

हिमालको फेदीमा वन र जंगलमा पालिने भेडा बाख्राको सारथी कुकुर भएका छन्। पछिल्लो समय मानिसहरू आफ्नो घरमा शोख (इच्छा) मा पाल्ने कुकुर भेडी गोठमा भने भेडाको रक्षाका लागि पाल्ने गरिएको छ।

जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा विगत ३ वर्षदेखि भेडा पालन गर्दै आएका हिमबहादुर छन्त्यालको गोठमा अहिले पाँच सयवटा भेडाबाख्रा छन्। ती भेडाबाख्रा हेर्नका लागि उनले पाँचवटा भोटे कुकुर पालेका छन्।

जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरूलाई संकेत गर्ने काम कुकुरले गर्ने उनको भनाई छ। ‘कुकुर भएपछि यो बनको बिचमा रहेको गोठमा हामी रातभरी सुत्न पाउँछौँ, भेडाबाख्रा पनि सुरक्षित हुन्छन्। बिहान कुकुरलाई खाना दिएपछि छाडिदिएपछि दिनभरी भेडाबाख्रासँगै वनमा जान्छन्, अनि साँझमा भेडासँगै गोठमा आउँछन्,' छन्त्यालले भने, 'गत वर्ष मेरो कुकुर थिएन, त्यो वर्ष चितुवा, जंगली जनावरबाट वर्षमा २० वटा भेडाबाख्रा गुमाएँ, यो वर्ष रुमबाट एउटा कुकुरलाई ६० हजार रुपैयाँ हालेर ल्याएको छु। अहिले मसँग ५ वटा कुकुर छन्। अहिलेसम्म भेडाबाख्रा पनि सुरक्षित छन्‌।'

उनका अनुसार अहिले उनीसँग भएको एउटा कुकुर बच्चा पाउनेवाला छ, उसले जन्माउने बच्चालाई पेटमा नै पोखराका एक व्यक्तिले प्रतिगोटा १० हजार रुपैयाँ अग्रिम भुक्तानी दिएका छन्।

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुँदै आएको व्यवसायीको भनाई छ। घुम्ती चरणबाट पाल्दै आएका व्यवसायिक भेडाबाख्रा गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जंगली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गरेको छ।

एउटा कुकुरको मुल्य ३० देखि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ। मानिसलाई हेरालु राख्दा खर्च पनि बढी हुने र जंगली जनावरबाट बचाउन पनि नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालु धनबहादुर विक बताउँछन्।

‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सक्दैनौं, हामी जान नसकेको ठाउँमा कुकुर पुग्छन्, जंगली जनावरबाट हामीले भन्दा बढी कुकुरले नै सुरक्षित राख्छ,’ उनले भने, 'कुकुर भएन भने हामी पनि बस्न सक्दैनौँ।'

घुम्ती चरण गर्दा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदा बाटोमा, विभिन्न अनकन्टार हिमालको फेदीमा चरणका लागि लगेपनि कुकुर बिना भेडीगोठ जोगाउन समस्या हुने गरेको छ। नजिकै भेडी गोठमा पालिने भोटे कुकुर नपाउँदा व्यवसायीलाई कुकुर लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको व्यवसायीको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.