तिहार, सप्तरंगी फूल र पर्व गीत

|

काभ्रे : शम्भु प्रधानको करिब २६ वर्षअघि बनेको फिल्म ‘स्वर्ग’मा समावेश यो गीत तिहार नजिकै गर्दा रेडियो, टिभी तथा व्यक्तिको मोबाइललगायत गाउँ शहर सबैतिर बज्न थालेका छन्। हरेक वर्षको तिहारमा रिलिज हुने तिहार गीतहरूभन्दा पनि यो धेरै नै गुन्जिन्छ। यो गीतको तुलनामा अहिलेका गीतहरू सदाबहार हुन सकेको देखिँदैन।

त्यस्तै, यतिबेला बजारमा सप्तरंगी फूलहरू पनि देखिने क्रम बढेको छ भने फूलको माग अरू बेलाभन्दा ह्वात्तै बढेको छ। गाउँ घरमा खेत बारीको ढिलामा होस् या सहर बजारका घरको कौसीमा रोपेको सयपत्री, मखमली लगायतको फूल तिहार आउने लाग्दा ढकमक्क फूलेको छ।

 फूलको रंगीचंगीले साच्चै नै तिहार आएको आभास हुने गरेको छन्। गाउँ र सहर नै रमाइलो भएको छ। यतिबेला हरेकको घर–घरमा फूलको बगैँचा देखिन्छ। कारण अरु केही नभएर नजिकिदै गरेको पर्व तिहारले गर्दा नै हो। विशेष गरी तिहारलाई फूलहरूको पर्वको रुपमा पनि चिनिन्छ। तिहारको अवसरमा विभिन्न जात तथा थरीका फूलहरू देख्न पाइन्छ।

फूल बिक्रीमा राखेका उद्यमीहरूलाई दशैँयता फूल विक्री समान्य बजारको तुलनामा बढेको छ। यसको मतलब विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरसको असर भने नपरेको होइन। तर यसको जोखिमको बाबजुद पनि मानिस विक्री तथा किनमेलमा लागेका हुन्।

 तिहार र सांस्कृतिक महत्व

तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो। तिहार विशेष गरी नेपालमा मनाइन्छ। यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। तिहारलाई दीपावली अनि दिवालीको साथै फूल र झिलिमिलि बत्तीको पर्वको नामले पनि चिनिन्छ।

 दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने कामनाले पनि तिहार पर्व मनाइन्छ। प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको परम्परा छ।

 तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।

तिहारको सांस्कृतिक पक्ष पनि छ। नेपाल कृषि प्रधान देश हो। कृषक आफ्नो खेतबारीमा सुनौलो अन्न रूपी सम्‍पत्ति फलाएर घरमा ल्याउँने समय कृषकको खुशी एवं उमंगको सीमा हुँदैन।

यस खुशीको अवसरमा तिहार पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा–आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ।

दक्षिण एसियाका धेरै देशमा विशेष गरि नेपाल, भारत, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ। पछिल्लो समय तिहार पराम्परागत नभई केही भड्किलो हुँदै गएको देखिन्छ। तिहारलाई पश्चिमी शैली र संस्कृतिले ग्रस्त पारिसकेको अवस्था छ।

 सप्तरंगी फूल र त्यसको बिक्र

भन्छन्, फूलको महत्व त्यो बेलासम्म रहन्छ जबसम्म फूल बोटमै हुन्छ, टिपेपछि फूलको महत्व हराउँछ। फूलको महत्व मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ। फूलप्रति आकर्षित नहुने को होला र?

 त्यही फूललसँग मानव जीवन दाँज्न खोजिएको छ। हाम्री दिदीबहिनीहरूले फूलहरूको माला लगाउनुको कारण यही कि फूल जस्तै जिवन सुन्दर होस्। त्यसैले तिहारमा फूलहरूले पनि विशेष अर्थ र महत्व छ।

वर्षमा एक दिन दिदि बहिनीले दाजुभाईको दीर्घायुको कामना गर्दै टिका तथा कहिल्यै पनि नओईल्याउने मखमली जस्ता फूलहरूको माला लगाएर दीर्घायुको कामना गर्ने प्रचलन छ। फूल तथा बत्तीको पर्व मानिने तिहारमा विषेश गरी मखमली, सयपत्री र गोदावरीका फूल खास मानिन्छन्। यी तिन प्रकारका फूलहरूको आफ्नै विषेशता छन्।

तिहारको माहोललाई मनमोहक सिंगार्न हाम्रा आफ्नै बारी र बगैंचाका उत्पादनले मात्र नभ्याएर छिमेकी देशबाट समेत सयपत्री लगायतका फूलहरू ठूलो परिमाणमा भित्र्याउने गर्छन्। तर यस वर्ष भने भारतबाट फूल आयत नहुने भएको छ। कोरोना भाइरसको कारण गत वर्ष बजारमा २५ लाख फूल माग भएकोमा यस वर्ष १५ लाख मात्रै माग भएकाले उक्त माग स्वदेशी उत्पादनले नै पुग्ने भएको छ।

गतवर्ष भारतबाट ३ लाख फूल आयत गरेको थियो। तिहारको संस्कृतिमा मौलाएका सयपत्री फूलहरू अरु बेला पनि खपत हुने गरेपनि यसको सर्वाधिक खपत हुने बेला भने तिहार नै हो।

नेपालमा पुष्प खेती गर्नेहरू बढीरहेका छन् भने उनीहरूको फूलले पनि राम्रो मुल्य पाइरहेका छन्। जुन खुशीको कुरा नै मान्नु पर्छ। काभ्रे जिल्लाबाट मात्रै पनि अहिले तिहारमा करोडौ मुल्यको फूल बिक्रि हुने गरेको तथ्याङ्काहरू छन्।

पुष्प व्यवसायीहरूको अनुसार यसवर्ष काभ्रेबाट करिब ६० हजार माला काठमाडौँ उपत्यका भित्रिने देखिएको छ। पुष्प खेती गर्ने व्यवसायीहरू पनि फूल खेती र त्यसको मूल्यबाट सन्तुष्टि देखिन्छन्। तर यसवर्ष कोरोना प्रभावसँगै तिहार ढिला हुँदा फूलेका फूलहरू कहिँकतै ओइलिएर जाने गरेका छन्।

साउन अन्तिम साता लगाएको खेतीमा दशैँको घटस्थापनाका दिनदेखि फूल विक्रि शुरु भएपनि तिहारको पुर्व सन्ध्यामा भने अत्याधिक विक्री हुने गर्छ। यतिसम्म कि नेपालमा उत्पादन भएको फूलले मात्रै नभएर छिमेकी मुलुक भारत लगायतबाटसमेत करोडौँ मूल्य बराबरको आयात हुने गर्छन्।

नेपालमा देश बाहिरबाट कति मुल्य बराबरको फूलहरू भित्रिन्छ भन्ने कुरा गत वर्ष तथा विगतका वर्षमा आयात हुने गरेको फूलको इतिहास हेर्दा नै प्रष्ट हुन्छ। फूलको ३०÷३५ वटा थुङ्गाको एउटा माला बनाएर व्यवसायीहरूले प्रतिमाला रु. ५० रुपैयाँदेखि २०० सम्म लिने गरेको पाइन्छ।

सामान्यतय फूल खेतीको व्यवसाय गर्नेहरूले पनि दशैदेखि तिहारसम्म करिब ५ लाख रुपैयाँको फूल बिक्री गर्ने गरेको बताउछन्। तिहारका लागि फूल खेती गरे पनि दशैदेखि नै फूलको माग आउने तथा बिक्री हुने गर्छ।

सदाबहार छैनन्, तिहार गीत

तिहार भन्नासाथ शम्भु प्रधानको आजभन्दा करिब २६ वर्षअघि बनेको फिल्म ‘स्वर्ग’मा समावेश तिहार गीत ‘तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आईन् आँगन ....’ नसम्झिने/नुसन्ने मानिस सायदै मात्रमा होलान्।

युट्युबमा खोज्ने हो भने थुप्रै नयाँ तिहार गीतहरू भेटिन्छन्। हुन त म कुनै सर्जक अथवा विज्ञ पनि होइन। र पनि मैले आँखै अघि देखेका घटनाहरूको बारेमा भन्न खोजिरहेको हुँ। गतवर्ष मात्रै रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘टीकामाला, खुमन अधिकारी र देवी घर्तीमगरको स्वरमा रहेको गीत ‘आयो तिहार’ हुँदै दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीत ‘ह्याप्पी तिहार’ लगायतका थुप्रै गीतहरू रिलिज भए।

त्यस्तै यसवर्ष पनि पशुपति शार्मा र सम्झना लमिछानेको स्वरमा रहेको तिहार’, खुमन अधिकारी र सम्झना भण्डरीको स्वरमा रहेको ‘झिलिमिली तिहार’, पुर्ण कला विसी र वल कुमार श्रेष्ठको ‘देउसी भैलो’, विष्णु खत्री, टिका पुनको ‘लाहुरे बा को आँगनीमा’, राजु परियारको ‘देउसी भैलो’, विशाल कल्तान, जितु लोप्चन, प्रकाश लामा र सुमिना लोले संयुक्त रुपमा स्वर दिएको ‘सप्तरङ्गी भाईटिका’ लगायतका दर्जनौँ गीत बजारमा आएका छन्।

तर यी अधिकांश गीतले तिहार पर्वको महत्व, संस्कृति र गम्भीरताभन्दा पनि हल्काफुल्का र बजारिया तत्वलाई विशेष गरेर समातेको देखिन्छ। पछिल्ला केही वर्ष यताका गीतहरूलाई हेर्दा ती गीतहरू मौलिक संस्कृतिभन्दा रमाईलोतिर बढी केन्द्रित भइरहेका छन्। यस्ता गीतले पर्व महत्व दर्शाउनेभन्दा पनि विकृतिलाई भित्र्याउन खोजेको जस्तो देखिन्छ।

पछिल्लो समय रिलिज भएका तिहार गीतहरू सदाबहारभन्दा पनि मौसमी र क्षणिक छन्। वास्तावमै अहिलेका पर्व गीतहरू टिकाउ र सदाबहार प्रकृतिका छैन्। जुन कुरा गीत संगीतको क्षेत्रमा अनवरत रुपमा लागिरहेका गीतकार तथा कलाकारहरू नै स्वीकार गर्छन्।

पर्व विशेष गीतहरू छोटो अवधिकै लागि हुने भएकाले पहिलेको तुलनामा तिहार गीतहरू अहिले घटेको पनि देखिन्छ। झन् यसवर्ष कोरोना भाइरसले पनि धेरै असर गरेको छ। खासमा छिट्टै र छोटो समयमा नै चर्चा कमानउतिर मात्रै सर्जकहरूको ध्यानाकर्षण भएकोले पनि पर्व गीतहरूमा त्यति मिहिनेत नदेखिएका हुन्।

 

तिहार गीत लेख्ने र गाउने सर्जकहरूले ‘स्वर्ग’ फिल्ममा लोचन भट्टराई र नूतन प्रधानले स्वर दिएको गीत ‘तिहारै आयो...’ र हेमा लटको स्वर र दिनेश अधिकारीको शब्द रहेको ‘निधारमा लगाएर सप्तरङ्गी टिका’ जस्तो केही औँलामा गन्न सकिने गीत जुन जति पुरानो भए नि सुनौँ सुनौ लाग्ने सदाबहार सिर्जनाबाट सिक्न जरुरी छ।

यो ‘तिहारै आयो ...’ गीत जस्तो सदाबहार गीत २६ वर्षको अन्तरालमा पनि अहिलेसम्म आउन सकेको छैन्। गीतलाई कति आयु दिने भन्नु कुरा सर्जकहरूको हातमा निर्भर हुने हुँदा गीत नै बनाए सकेपछि अलि समयसम्म आयु रहने गीत बनाउन तर्फ सर्जकहरू लाग्नुपर्छ। क्षणिक चर्चा र फाईदाको हिसाबले मात्रै गीत संगीतलाई हेर्नु हुँदैन।

गतवर्ष बजारमा ल्याएको रामकृष्ण ढकालको स्वरमा रमेश बिजीको गीत ‘टीकामाला’ले भने बाध्यता तथा कारणबस टाढा भएको चेली–माइतीबीचको गहिरो सम्बन्धलाई देखाउन खोजिएको थियो। यो सकरात्मक पाटो हो। ‘टिकामाला’ले थोरै भए पनि सदाबहार गीतको लय समातेको छ। न्याय गरेको छ।

पछिल्लो समयमा बजारमा आएको अधिकांश गीत हेर्दा तिहारका गीतहरूमा हुने लय, तिहार के हो? भन्ने बारेमा पनि कम अध्ययन अनुसन्धान भएको र ज्ञान हुने सर्जकहरू पनि त्यतातिर ध्यान दिन नचाहेको स्पष्ट देखिन्छन्।

मलाई कुनै समय पर्व र लोक संस्कृतिका गीतलाई शम्भु राई र बम बहादुर कार्कीजस्ता अग्रजले गरेको राम्रो कामबाट नयाँ पुस्ताले सिक्न नसकेको जस्तो लाग्छ। सबै पुस्तालाई समेट्ने कोसिस गर्नुपर्छ।

त्यसमा आधुनिक प्रयोग हुन जरुरी छ। तर मौलिक संस्कृतिलाई भने चटक्कै विर्सनु हुदैन भन्ने हो। अबको दिनमा हरेक स्रष्टाले सदाबहार सिर्जना दिनेतिर पनि सोच्नुपर्छ। आशा गरौँ, अगामी दिनमा सर्जकहरूको ध्यान यसतर्फ आवश्यक जानेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.