|

काठमाडौं : मखमली फूलले तिहारको स्वागत गरेको छ। दिदीबहिनीले दाजुभाइका लागि स्नेहको डोरीले फूल गाँसिरहेका छन्। परदेशिएका दाजुभाइ तथा दिदीबहिनी आफ्नो घर फर्किसकेका छन्। जो फर्किन पाएका छैनन्। उनीहरूले अर्को वर्ष मनाउन पाउने आशामा बसेका छन्।

रंगीचंगी प्रकाशले तिहारलाई थप रौनकता थपिदिन्छ। यो रौनकता थप आकर्षित बनाउन सप्तरंगी टीका र देउसी भैलोको महत्व अर्को छ। दशैँको रौनकता नसकिँदै तिहारले स्वागत गरे पनि बिदा नपाएकी चण्डिका खतिवडा यसपालि कार्यालयमै काममा व्यस्त हुनेछिन्।

महानगरीय ट्राफिक महाशाखामा  प्रहरी जवान खतिवडालाई घर जान पाए पनि हुन्थ्यो भन्ने लाग्छ। ड्युटीमा भएपछि घर जान नपाए पनि मन नै त हो घर जाऊँ-जाऊँ लागिहाल्छ।

सिन्धुपाल्चोकको  भोटेचौरकी उनी ट्राफिक प्रहरीमा आएको धेरै भएको छैन। पोहोर पनि तालिम भएकाले उनले तिहार मनाउन पाइनन्। यसपालि कोरोना र बिदा नपाएकोले पनि गाउँ जान पाइनन्।

चाडबाड मान्न पनि नपाइने प्रहरी पेसामा किन लाग्नु भयो त? पंक्तिकारले खतिवडालाई सिरियस जोक सोध्यो। अरू कसैले प्रहरीमा जागिर गर्नुपर्छ भनेर प्रहरीमा जागिर खान नआएको उनी बताउँछिन्। 'नेपालमा महिला सशक्तीकरणका लागि महिला शक्ति आवश्यक छ। अरूलाई महिला सशक्तीकरण हुनुपर्छ भन्नेहरू स्वयं आफू घरमा थिचोमिचो हुनपर्ने अवस्था छ।

यद्यपि, कम्तीमा अरूलाई नसके पनि आफू मात्र भएपनि पूर्णरुपले सशक्त हुन सकेको खण्डमा पनि सम्मानजनक जिन्दगी बाँच्न सकिने भएकोले यसतर्फ आकर्षित बनेको हुँ', उनी भन्छिन्, 'चाडहरू आउँदै गर्लान्। कुनै दिन समय अनुकूल भए परिवारसँग बसेर मनाउला।'

नयाँ कुराको सुरुवात गर्न पहिले आफू तयार हुन जरुरी छ। हामीले अरूको सुरक्षा गर्छौं। स्वय आफूको पनि सुरक्षा गर्न सकिने भएकोले आफू प्रहरीमा आएको उनी बताउँछिन्। समाजमा केही घटना भएको खण्डमा डराएर लुक्नुपर्ने अवस्था हुँदैन। यो हामीलाई तालिमका क्रममा सिकाएको हुन्छ’ उनले थपिन्।

घरमा २ दिदी, १ दाजु छन् उनका। 'स्वंय दाजु पनि नेपाली सेनामा कार्यरत भएकोले पनि आफू  घर जान नपाउँदा दाजुले चित्त दुखाउन भने हुँदैन', उनले भनिन्, 'दाजु भने हरेक तिहारमा छुट्टी मिलाएर घर आउनुहुन्छ। यसपालि पनि जानुहुन्छ होला। दिदीहरूसँग तिहार मान्नुहोला। आफूचाँहि ड्युटीमै हुन्छु। यसमा मलाई कुनै दु:खेसो चाँहि छैन।'

 चाडवाडको हरेक वर्ष हर्षोल्लासमा आउँछ। उस्तै रौनकता छोडेर जान्छ। तर, सुरक्षा निकायको भने कुनै चाडवाडले उनको दैनिकीमा खासै परिवर्तन ल्याउँदैन। किनभने सदावहार ड्युटी उनीहरुको विशेषता हो। प्रहरी हवल्दार हरि घर्तीलाई पनि यसपालि बिदा मिलेन। लगभग १४ वर्षको अवधिमा उनले ४ वटा जति  तिहारमा बहिनीको हातबाट टीका लगाउने अवसर मिलेको छ।

दुई बहिनी छन् उनका । हरेक वर्ष बहिनीहरूको एउटै गुनासो हुन्छ, 'सबैका दाजुभाइको बिदा मिल्ने तपाईंहरूको नमिल्ने कस्तो खालको जागिर हो?' उनीहरूको गुनासो पनि सही हो। अर्को वर्ष आउँछु भनेर भाका सार्ने काम गर्नुको उनको अर्को विकल्प छैन।

'सुरक्षा निकायलाई हामीले जसरी बुझेका हुन्छौं बैहिनीहरूले त्यति बुझेका हुँदैनन्। उनीहरूको गुनासो गर्ने हक पनि छ। यता, आफूलाई सेवा गर्ने कर्तव्य पनि छ', उनी भन्छन्।

महाशाखामा कार्यरत उनी ड्युटीमा हुँदा आफूले बिताएका तिनै रमाइला दिनहरु सम्झिएर चाडपर्व जाने बताउँछन्। 'म मात्र होइन मसँगै कार्यरत धेरै सहकर्मीहरू पनि तिहार मनाउन जान पाउनुहुन्न। उहाँहरूसँग रमाइलो गरेर नै तिहार सकिन्छ।'

गुल्मी सिमलटारीका उनले बैहिनीलाई यसपालिको तिहारमा आउँछु भनेका थिए। घर जाने रहर उनलाई पनि थियो। तर, कोरोना र कामले जान पाएनन्। तिहारमा बैहिनीले दाइ आउने दिनको प्रतीक्षा गरेकी होलिन्। देश र जनताको सेवामा खट्नुपर्ने उनको जिम्मेवारी छ। बिदा नपाए पनि यो तिहारमा घर्तीको मन उडेर घर पुगिसकेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.