|

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम्‌ लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले हरेक नौ महिनामा सरकार फेर्ने बानी परेकाले फेरि त्यसै गर्न खोजेको आरोप लगाएका छन्‌। 

आइतबार दाङको तुलसीपुर-४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ९/१० महिनामा सरकार फेर्न बानी लागेका नेताहरूलाई अहिले सरकार फेर्न मन लागेको दावी गरेका हुन्‌। 

अहिले देशमा सरकार परिवर्तनको साटो स्थायित्व आवश्यक भएको बताउँदै पोखरेलले भने, 'केही पाइन्छ कि भन्ने लागेर सरकार फेर्न खोजिएको होला, तर सरकार बदल्ने कुरा जनताको हितसम्मत छैन, यो देशमा धेरै सरकार बदलिए, तर जनताको हित र राष्ट्रको हितसँगको सवाल भएकाले अहिले राजनीतिक स्थायित्व चाहिएको छ।'

देशमा संविधान जारी भएपछिका तीन वर्षमा धेरै प्रगति भएको भन्दै मुख्यमन्त्री पोखरेलले राम्रो गरिरहेको अवस्थामा यो पनि भएन वा त्यो पनि भएन भन्ने कुरा अस्थिरतामा खेल्न चाहानेहरूको खेल भएको आरोप लगाए।

‘नेपाली जतना स्थायित्वको पक्षमा छन्, अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरू छन्, अझ धेरै राम्रो गर्नुपर्ने छ, त्यसका लागि सबै साझेदार बन्नु पर्दछ,’ उनले थपे,‘देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगरौँ, सबै ठाउँका जनताहरूले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिन्छ र देशको विकास हुन्छ।’

प्रदेश सरकारले कोरोना भाइरसका विरुद्धमा राम्रो काम गरिरहेको पोखरेलको दावी छ। ‘शुरूमा प्रदेशमा कोरोना विरुद्धको लडाइँका लागी लड्न संरचनाहरू शुन्य थियो, परीक्षण गर्न काठमाडौं पठाउनुपर्ने बाध्यता थियो, अहिले प्रदेशमा दैनिक ९/१० वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ,’ उनले भने, ‘काठमाडौँ उपत्यकापछि सबै भन्दा बढी प्रयोगशाला भएको प्रदेश लुम्बिनी हो, लुम्बिनी प्रदेश स्वास्थ्य सुरक्षाको दृष्टिले धेरै बलियो ठाउँ होइन, तर हामीले यहाँ जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिएका छौँ।’

साथै उनले लुम्बिनी प्रदेशमा अहिले सम्म भेन्टिलेटरको अभाव नभएको समेत बताए। अहिलेसम्म भएका बिरामीहरूलाई भेन्टिलेटरको अभाव नभएको, तर अक्सिजन अभाव रहेको उनले बताए। उनले भने, 'अहिले धेरै भन्दा धेरै बिरामीहरूलाई अक्सिजन चाहिन्छ, तर हामीसँग पर्याप्त अक्सिजन प्लान्ट नभएको कारण समस्या भएको छ, त्यसको लागी पनि प्रदेश सरकारले प्रकृया अगाडी बढाएको छ।'

२४ लाख १६ हजार रुपैयाँमा फाइवरबाट निर्माण गरिएको बुद्धको मूर्ति १७ फिट अग्लो रहेको छ। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगबाट मुर्ति निर्माण गरिएको शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताए।

दक्षिण एशियाको ठूलो पार्क दावी गरिएको भनिएको राप्ती शान्ति उद्यान गणेशपुरलाई शान्तिको सन्देश दिने स्थलको रुपमा विकास गरिएको हो। राप्ती शान्ति उद्यान र त्यसमा शान्तिका प्रवर्द्धक गौतम बुद्धको सालिक राखिएकाले यहाँबाट शान्तिको बिगुल फुकिने अपेक्षा गरिएको छ। अहिले दैनिक एक हजार जति आन्तरिक पर्यटकहरू पार्कमा आउने गरेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.