|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका-२ हिलेखोला र खरयानमा २५ वर्षपछि बिजुली पुगेको छ। बस्ती बसेको २५ वर्षपछि तिहारको छेकोमै गाउँँमा बिजुलीबत्ती बाल्न पाएपछि हिलेखोला र खरयानबासी दंग छन्‌।

द्वन्द्वकाल शुरू भएको वर्ष २०५२ सालमा स्थापना भएको सो गाउँँमा हिजो शनिबारदेखि बिजुली बल्न थालेको हो। गाउँमा बिजुली बत्ती बाल्न पाएपछि खुशीको सीमा नरहेको स्थानीय जमानसिंह वाइबाले बताए।

गाउँमा बिजुली बत्ती बलेपछि गाउँ नै झिलिमिली भएको अर्का स्थानीय नौमान जिम्बाले बताए। तिहारको अवसर पारेर गाउँमा बिजुली बलेपछि गाउँलेहरूमा खुशीको सीमा नरहेको उनको भनाइ छ। जिम्बाले भने, ‘आफ्नो गाउँको एक किलोमिटर वरपर २२ वर्षदेखि बिजुली बलिरहेको थियो, तर हामी अँध्यारोमै बस्नुपरेको थियो, अहिले बिजुली आएपछि खुशी नहुने त कुरै भएन नि!’

लामो प्रतिक्षापछि गाउँमा बिजुली बलेको अर्का स्थानीय मानध्वज थिङले बताएका छन। अब गाउँमा नै मोबाइल चार्ज गर्ने र टेलिभिजन हेर्ने लगायतका सुविधा उपयोग गर्न पाउने उनले बताए। यसअघि मोबाइल चार्ज गर्न पनि एक घण्टा हिँडेर अन्य गाउँमा जानुपर्ने समस्या रहेको उनले जानकारी दिए।

रौतहट जिल्लाको उत्तरी भेग अर्थात चुरेमा रहेको उक्त स्थान सुकुम्बासीहरूको गाउँ हो। सो गाउँमा अधिकांश तामाङ जातिका मानिस बसोबास गर्दै आएका छन्‌। चन्द्रपुर नगरपालिका-२ को उक्त गाउँमा १५० भन्दा बढी घरधुरी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.