उत्सव र उमंगको पर्व तिहार
उत्सव र उमंगको पर्व तिहार
उत्सव आमार जाति
आनंद आमार गोत्र
उपनिषदमा उल्लेख छ प्रत्येक उत्सव, संस्कार, परम्परा र पर्व आउँछन् जसले हामीलाई उमंग र उत्सव अर्थात् बाहिरको खुसी र केही नयाँपनको आभाष दिलाउँछन्। हाम्रो जाति उत्सव र गोत्र आनन्द बन्न सकेको अवस्था कस्तो हुन्थ्यो होला?
हिन्दी भाषामा उल्लेख हुने ‘त्योहार’ शब्दले जुनसुकै पर्व र उत्सवलाई बुझाएझैं हाम्रो तिहार पर्वले पनि दीपावली र भाइटीकालाई मात्र सीमित नराखेर समग्रतामा उत्सवमय हुने सन्देश दिन खोजेको हो कि भन्ने अनुमान गर्न सकिन्छ। जुनसुकै पर्व र दिवस हुन् वास्तविक सन्देश भने संसारमा उत्सवमय रहनु र आत्मिक रूपमा भित्रको आनन्दलाई नभुलौँ भन्ने नै हो।
पर्व र उत्सवले आफ्नो उद्गम, संस्कृति र वास्तविक पहिचानसँग नजिक हुने अवसर प्रदान गर्दछन्। हाम्रो उद्गम, हाम्रो पहिचान के हो? तनावरहित आनन्दित जीवन हाम्रो पहिचान हो। संस्कृति के हो? सुध्रिएको, सुधार भएको अवस्था संस्कृति हो। हामी कता भड्किरहेका छौं र सुध्रिनुपर्ने के कुरा हो? मनको भड्काव र विचारले घेरिएका मानिसलाई केही नयाँ आयाम दिन हाम्रा पर्व र उत्सवले मद्दत गरिरहेका हुन्छन्।
कुनै पनि पर्वले सांसारिक महत्व मात्र बोकेर आएका हुँदैनन्। ती पर्वले आध्यात्मिक महत्व पनि दर्शाएका हुन्छन्। मानिसले जाने पनि नजाने पनि, माने पनि नमाने पनि ऊ आध्यात्मिक गुणले निपूर्ण प्राणी हो। यसकै सेरोफेरोमा पर्व, संस्कार र परम्पराले निरन्तरता पाएको हुन्छ।
पर्व र संस्कृति
हरेक पर्व र संस्कारमा हामी केही सौन्दर्यको खोज गर्छौं, त्यसको महत्वलाई जान्ने प्रयास गर्छौं। जसमा संगीत, साहित्य, दर्शन, धर्म, ज्ञान, विज्ञान, सामाजिक मान्यता र कला सँगसँगै जोडिएर आएका हुन्छन्।
जसले व्यक्तिको मानसिक दशालाई उन्नत बनाउन मद्दत गर्दछ। यही सम्यक् कृति नै संस्कृतिको अंग हो।
यसपटकको तिहार कोरोनाको प्रभाव भन्ने एउटा मान्यता विकास भए पनि हाम्रा गत वर्षका तिहारहरू कस्ता थिए, कसरी मनायौं? के वास्तवमै उत्सवको रूपमा मनायौं या रीति चलाउनको लागि मान्यौं, एकपटक चिन्तन गरौं।
बाहिरै झिलिमिली पार्यौँ, बाहिर नयाँ पहिरन फेर्यौं, धनतेरसको दिन नयाँ सामान खरिद गर्यौँ। सक्नेले नयाँ हीरा, चाँदी, सुनका गहना र सामग्री किन्यौं। नसक्नेले नयाँ नाङ्लो र कुचो भए पनि किन्यौं। माध्यम जे सुकै र जस्तोसुकै धनराशिको होस् आफैंलाई उत्सवमय बनाउने प्रयास गर्यौँ।
विगतका नकारात्मकतालाई बिर्सेर केही न केही नयाँपन, नयाँ सृजनात्मक भाव पैदा गर्ने कोसिस गर्यौँ।
यही पर्वकै कारण हाम्रा परम्परा, संस्कृति र सभ्यतालाई फर्केर हेर्ने प्रयास गर्दछौं। जति आधुनिकीकरण र सहरीकरणले हाम्रो सभ्यतालाई विकास गरेको छ त्यति नै मात्रामा हाम्रो संस्कृति अर्थात् जागृत अवस्थाको लोप हुँदै गइरहेको छ।
सभ्यताको नाममा आफ्नो उद्गम, पहिचान, मान्यता र पञ्चतत्वको विज्ञानलाई भुल्दै गइरहेका छौं। प्राकृतिक स्वभाव र प्रचलनबाट विचलित हुँदै गइरहेका छौं। शरीरसँगै भावना र आत्मा पनि छ भन्ने कुरा बिर्संदै गइरहेको अवस्था छ।
बहिर्मुख सम्पन्नता र सभ्यताको नाममा सहज जीवनपद्धति र आध्यात्मिक चिन्तन छायामा पर्न थालेको छ। हरेक धर्म, सम्प्रदाय र पर्वका मुख्य उद्देश्य नै आध्यात्मिक ज्ञानको अनुभूति र आफ्नो संस्कृति अर्थात् आफ्नो उद्गमको स्मरण गर्नु नै हो।
संस्कृतिले जीवनशैलीको मौलिकता जोगाउन मद्दत गर्दछ भने आध्यात्मिकताले भित्रको ज्ञान, प्रज्ञा र जागृतिलाई स्मरण गराइरहन्छ। हाम्रा पर्वहरू मान्यतामा मात्र आधारित छन् या यिनले हामीलाई जागृत हुन, सम्यक र संयमतामा बाँच्न एवं जीवन रूपान्तरणमा मद्दत पुर्याएका छन् : मनन गरौं।
तिहारको झिलिमिली र प्रकाशमय जीवन
दीपज्योतिः परब्रह्मः दीपज्योतिः जनार्दनः।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योतिः नमोस्तुति।।
घरबाहिर, भित्र, सहर, सडक र सबैतिर दीपावलीले झिलिमिली तिहारले हाम्रो जीवनलाई त्यसरी नै उज्ज्वल बनाउने प्रेरणा थपिरहेको हुन्छ। शरद् ऋतुले स्वागत गर्ने तिहारको मौसम, न जाडो, न गर्मी, शीतल वायुको प्रवाह, मन प्रफुल्ल अनि शरद ऋतुका रंगीचंगी फूलहरू वरिपरी वास्तवमै रमणीय र आनन्दमय पनि हुन्छ।
कोरोना कहरले छोडेको छैन र पनि सहर र सडकमा भीडभाड नै छ यसको अर्थ हो जति विपद र कष्ट आइपरे पनि आफ्नो चाडपर्व मनाउन पछि हट्दैनौं हामी।
हुन त हो नि, यिनै चाडपर्वले पारिवारिक घनिष्टता बढाएको हुन्छ, आफ्नासँग भएका सबै तीता नमीठा क्षण र सम्बन्ध बिर्सेर खुसीको भावना व्यक्त गर्ने वातावरण बनेको हुन्छ।
बत्तीको झिलिमिली, अन्धकारबाट उज्यालोतर्फको यात्रा नै मानिसको लक्ष्य हो भन्ने सन्देश हो। आफूभित्र रहेको अन्धकार, आफूभित्र रहेका दुर्गुण वृत्तिहरू र अहंकाररूपी अन्धकार हटाएर प्रेम, शान्ति, करुणाको दीप जलाउने सन्देश बिर्सनु हुँदैन।
बाहिरको झिलिमिली बाहिरको अन्धकार हटाई प्रकाशमय बनाउने प्रयास हो भने भित्रको अन्धकार हटाउन भित्रै दीप प्रज्वलित हुनु जरुरी छ। ध्यानको सहाराले, परम विश्राममा जाने प्रयासले, परम चेतनाको अनुभूतिमा जाने अठोटले र निर्विचार शून्यमा रमाउने कलाले भित्रको दीप प्रज्वलित हुन्छ।
बाहिरको दीप बारबार जलाउनुपर्छ भने भित्रको दीप एकपटक प्रज्वलित भएपछि जीवन पर्यन्त त्यसले काम गर्दछ। भित्रको दीप प्रज्वलित भएपछि आफूलाई मात्र होइन सबैलाई प्रकाशमय ऊर्जा प्रवाह गरी आनन्दित जीवन जिउन सहजता मिल्छ।
आत्मियताको पर्व
पारिवारिक प्रेम, दिदीभाई, दाजुबहिनीको आत्मीयता र अपनत्वको संस्कृति कुनै परिभाषाले समेटिन सक्दैन।
बर्सेनि आउने भाइटीकामा टीका र आशीर्वादले मात्र भाइ र बहिनीहरूको सम्बन्ध र प्रेमको वर्णन अपूरो हुन सक्दछ। निधारमा लगाइदिने सप्तरंगी टीका र मखमलीको मालाले प्रकट गर्ने सुविचार, सकारात्मक धारणा अनि प्रकृति र प्रेमको अभिव्यक्ति त्यतिनै गहन छ। हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रहरूको प्रभाव सात रंगसँग छ त्यसरी नै भाइटीकामा प्रयोग गरिने रंगले उस्तै वैज्ञानिक र आध्यात्मिक महत्व दर्शाउँछन्।
रंगहरूको प्रयोग र प्रभाव मानव जीवन, जगत र पदार्थ सँगसगै रहन्छ। मखमली फूलको माला पहिराएर मखमली फूलझैं दीर्घायु देख्न चाहन्छन् आफ्ना भाइहरूलाई दिदीबहिनी। मखमली फूल सधैँ उस्तै देखिन्छ कहिल्यै ओइलाउँदैन। दुबो कहिल्यै सुक्दैन। अलिकति चिसो भेट्नेबित्तिकै हरियो हुन्छ।
तेल माटोमा पर्दा सुक्न धेरै समय लाग्छ। त्यसैले पनि दाजुभाइको दीर्घायुको कामना गर्दा यस्ता प्रसंग जोडिए होलान्, ‘तेलको धारा नसुकेसम्म, मखमलीको माला नओइलाएसम्म र दुबो नसुकेसम्म यमदूतले मेरा दाजुभाइलाई लैजान नसकून्।’ ओखर फोडेर भाइहरूको दुःख मेटाउने, तेलको घेराभित्र भाइहरूलाई राखेर यमराजबाट जोगाउने प्रचलन र विधिले गहिराईसम्मको दिदीबहिनी र भाइको आत्मीयता, करुणा, प्रेम र सुमधुर सम्बन्धको सन्देश दिन्छन् चेलीबेटीहरू। हरेक पर्वले ल्याउने सन्देशलाई आजका मानिसले आत्मसात गर्न सकेका छैनन्।
आत्म-विश्लेषण र बोधको पर्व तिहार
दीपावली र भाइटीकाले जगाउन खोजेको आफूभित्रको प्रकाश, आपसी सहयोग, भाइचारा, स्वाभिमान र सम्मान जस्ता चिन्तनले भौतिक विकासको मात्र प्रतिनिधित्व गर्ने होइनन्। यिनले त आफ्नो उद्देश्य, कार्यकुशलता, आत्मविश्लेषण, होसियारी र बोधलाई समेत समेटेका हुन्छन्।
खुसी, शान्ति, आनन्द र उमंग मिलोस् त्यसैले पर्वले हामीलाई एउटा सकारात्मक तरंग प्रदान गर्दछ। वर्षमा ५ दिन मनाइने तिहारमा ५ दिन मात्र खुसिरहनु पक्कै जीवनको उद्देश्य होइन। यो उत्सव र उमंगले अरू बढी जागरूकता, उत्साह र उत्प्रेरणा मिलोस् र बाँकी ३६० दिन पनि त्योहार (तिहार) बनोस् यसप्रति बोध हुन सक्नुपर्दछ।
तिहारमा ५ दिन घर सफा र उज्यालो बनाएर मात्र होइन वर्षैभरि घरमा प्रेमको, होशको, सदभावनाको र ध्यानको दीप बल्न सक्यो भने हाम्रो उद्देश्य पूरा हुनेछ।
पर्वको उमंगले ल्याउने ईर्ष्यारहित, घृणारहित सदभावलाई सभ्य, सु–संस्कृत, मर्यादित र प्रेमल बनेर आफ्नो आन्तरिक प्रतिभा र सम्पदाको उजागर गरी कल्याणकारी कार्यमा लाग्ने प्रेरणा जागृत भयो भने हामीले पर्व मनाएको सार्थक मानिन्छ।
पर्व आउँछन् र जान्छन् तर पर्वको मर्मले जीवनमा थपेको उत्सव, उत्साह र संकल्पको शक्तिलाई आत्मसात गर्दै व्यवहारोपयोगी बनाउनु जरुरी हुन्छ। थोरै दिनको पर्वमा जसरी हामीमा खुसी र उम“ग छाएको हुन्छ त्यसलाई जीवनभर अपनाउन कुनै असम्भव छैन।
भित्रको बोध र जागरणले जीवनमा जे प्राप्त छ त्यसलाई खुसी र सुखको आधार मानेर जीवनभर उत्सवमय भावमा जिउन सकिन्छ। पर्व मनाउन अपनाइने विधि, सरसफाइ र प्रार्थनालाई जीवन जिउने सूत्र बनाउन सके अरू सार्थकता मिल्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।