|

काठमाडौं : कोरोना महामारी भएपनि सामाजिक दूरी कायम गरी मास्क लगाएर रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन शुरू भएको छ। दिदीबहिनी नहुने दाजुभाइहरूले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। बाल गोपालेश्वर मन्दिर वर्षमा १ दिन भाइटीकाको मात्र खुल्ने गरेको छ। यस वर्ष भने आज र भोलि खुला गरिने छ। 

२०७२ सालको महाभूकम्पले रानीपोखरीको क्षति गरेपछि बाहिर बसी टीका लगाउने गरिएको थियो। रानीपोखरीको पुनःनिर्माण र बिच भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनःनिर्माण सकिएपछि सदाझैँ यसपटक मन्दिर परिसरमा बसी टीका लगाइएको हो।

असनकी सहारा बुढाथोकी बिहानै रानीपोखरी मन्दिरको प्राङ्गणमा बसेकी छिन्। एक-एक वर्ष बिराएर रानीपोखरीमा टीका लगाउने आउने गर्छिन्। उनीहरु दुई दिदीबहिनीसहित टीका लगाइदिन आएकी छिन्। सहारा र राइना मन्दिर अगाडि बसेर टीका लगाउन आउनेलाई टीका लगाइरहेकी छिन्।

उनले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेकी छिन्। मुहारमा मास्क र हातमा पन्जा लगाइ टीका लगाउने गरेकी छिन्। 'दिदी बहिनीहरू  नभएकाहरु टीका लगाउने आउने भएको विशेषगरी त्यस्तालाई टीका लगाउने गरेको छु,' सहारा भन्छिन्,' यस दिन हामीले पनि टीका लगाउने पाइने र अरुलाई पनि हामीले लगाउने भएकोले रमाइलो हुन्छ।'

यसपटक रानीपोखरी र मन्दिर बनेकाले पनि यहाँ बसेर टीका लगाइँदा रमाइलो अनुभुति भइरहेको उनी बताउँछिन्।

काठमाडौं महानगरपालिकाका कर्मचारीले रानीपोखरी प्रवेश गर्नेलाई मास्क प्रदान गरी शरीरको तापक्रम नापिरहेका छन्। प्रत्येकले हात-हातमा स्यानिटाइजर लगाएर जानको लागि व्यवस्था गरेको छ। 

रानीपोखरीमा प्रवेश गर्नेलाई अनिवार्य मास्कको व्यवस्था गरिएको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए। टीका लगाउँदा अनिवार्य मास्क लगाउनलाई आग्रह गरिएको उनको भनाइ छ। रानीपोखरी दुई दिन खुल्ने भएको छ। भोली उपत्यकाका नेवार समुदायले भाइटीका मनाउने भएकोले उनीहरुको लागि विशेष दिन मानेर पनि खुला गरिने उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.