गरिब दु:खीलाई सरकारको आस, सरकारलाई कोरोनाको निहुँ
गरिब दु:खीलाई सरकारको आस, सरकारलाई कोरोनाको निहुँ
काठमाडौं : आज भाइटीका। दिदीबहिनीले दाजुभाइहरूलाई टीका लगाई फूलका माला लगाएर पूज्ने गर्छन्। सबै दाइभाइहरूको निधारमा सप्तरंगी टीकाले सजिएको हुन्छ। तर, वर्षौंदेखि निधार खाली नै हुन्छ लक्ष्मण खड्काको। सडकमा आएपछि उनी आठ वर्षदेखि दिदी-बहिनीबाट तिहारको भाइटीकाका दिन टीका लगाउन पाएका छैनन्।
यतिखेर जताततै तिहारको रौनक छ। तर, काभ्रे पनौतीघर भएका लक्ष्मण अहिले पनि मागेर भोकोपेट भर्न बाध्य छन्। आइतबार दिउँसो मैतीदेवी मन्दिरको गेटमा हात फैलाइरहेका भेटिए। भन्छन्,‘मैले ८ वर्ष अगाडि नै दशैँ तिहार अन्य पर्व मनाएको रहेछु। अहिले त के दशैँ के तिहार केही छैन। टीकाको दिन चाँहि दिदी-बहिनीको याद आउँदो रहेछ।’
सरकारले सडकमा बस्नेहरूका लागि भाइटीकाको दिन सामूहिक टीका लगाइदिए आफू भाग्यमानी ठान्ने उनी बताउँछन्। ‘टीकाको बेला सबैका घाँटीमा फूलमाला देखिन्छ। निधारमा टीका देखिन्छ। सरकारले हामीजस्ताका लागि टीका लगाउने कार्यक्रमको आयोजना गरे हाम्रो पनि पक्कै निधार खाली हुने थिएन होला।’ भावुक हुँदै उनले थाहाखबरलाई सुनाए।
अहिले जताततै मासुको सुगन्ध पाउँछन् उनी। तर, मासु किनेर खाने क्षमता लक्ष्मणसँग छैन। तर,पनि उनी चोरेर खाँदैनन्। मनले पनि कहाँ मान्दो हो। त्यसो त तिलगंगा आँखा अस्पतालअगाडि बाँडेको निःशुल्क खाना दैनिक खान जान्छन् उनी। चाडपर्व भए पनि मासुसँगको खाना उनी खोज्दैनन् रोज्दैनन्।
लक्ष्मण सडकमा आउनुको कारण छ। ‘पहिला राम्रैसँग जिन्दगी धानेको थिए,’उनले विगत सम्झिए,‘हात भाँचिएपछि स्टिल हालेका छु। भारी बोक्न सक्दिनँ। इँटा समाउन मिल्दैन। परिवारबाट सहयोग पाइनँ।’
त्यस्तै, पशुपतिमा भेटिएका १३ वर्षीय सुरज गिरीलाई पनि तिहार आएको थाहा छ। तर, पनि यस वर्षको उनको निधार पनि खाली नै हुने भयो।
बारा घर भएका सुरजले भने,‘सडकमा बस्नेलाई त प्रहरी लगाएर लखेट्छन्। हाम्रो अभागीको निधार सधैँ खाली त हो नि, कसले सप्तरंगी टीका लगाइदिन्छ,’ दिदीबहिनीले आफ्ना दाइभाइका लागि फूलको माला किनेमेल गरेको अहिले देख्छन्। तै पनि आफ्नै भाग्यलाई दोष दिएर मन बुझाउँछन्, अनि सडकको पेटीमा थचक्क जिन्दगीको भारी बिसाउँछन्।
सिन्धुपाल्चोकका दीपेन्द्र तामाङ पनि बौद्धमा मागिरहेका भेटिए। उनका ५ जना साथीहरू छन्। उनीहरूलाई पनि तिहारको रौनकताले छाएको छैन। ‘मैले दिदी बहिनीको हातबाट टिका नथापेको त चार वर्ष भयो,’ शिर निहुर्याउँदै भने,‘हामी त सडकमै बस्ने मान्छे हौँ। कसैले लगाइदिए टीका लगाउँला नभए यतिमै रमाइन्छ।’
यी त एक उदाहरण मात्रै हो। यसरी सडकमा बसेका कैयौँ बालबालिका र वृद्धवृद्धाको दशैँ तिहार केही छैन। वर्षौंदेखि उनीहरूको निधार भाइटीकामा खाली हुने गर्छ। तर, सरकारले कसैलाई व्यवस्थित गर्न सकेको छैन। चाडपर्वको रमझम दिलाउन सकेको छैन।
सरकारलाई कोरोनाको निहुँ
सडक पेटीमा बस्नेहरुका लागि सरकारबाट टीका लगाइदिने केही सरकारको कार्यक्रम छ भन्ने प्रश्नमा बालबालिका खोजतलास समन्वय केन्द्रका अधिकृत सन्तोष चन्द्र अधिकारी भन्छन्,‘टीका लगाउनेलगायत कार्यक्रम केही छैन। कोरोनाले गर्दा सरकारले नै सबै यस्ता कार्यक्रमहरु बन्द गरेको छ।’
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले भने अहिले सडक बालबालिका नरहेको जिकिर गरे। ‘अहिले सडकमा बालबालिका छैनन्,’उनले भने,‘अहिले सडकमा भएका बालबालिका भारतका हुन्। कोही भने आमाबाबुबाट आफूखूसी आएका भने बालबालिका छन्।’
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा (४) मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई सुनिश्चित भविष्यको लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार हुने व्यवस्था छ। तर, उक्त अधिकार बालबालिकाले पाएको अनुभूति गर्न सकेका छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।