कञ्चनपुर : थारु समुदायको लठौवा नाचको लोकप्रियता बढ्दो रुपमा रहेको छ।
लोप हुने अवस्थामा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नौखरीका थारु युवाहरु टोलीनै गठन गरी विभिन्न सामजिक, राजनीतिक र सांस्कृतिक समारोहमा देखाउन थालेपछि यसले लोकप्रियता पाएको छ।
नाचको मौलिकपन, परम्परागत पहिरन र नाच देखाउने कौशलकलाका कारण नाचको माग हुन थालेको छ । थारु युवाहरुले नाच जोगाउनका लागि १२ जनाको टोली बनाएका छन्।
थारु समुदायको दशै तिहार, माघी लगायतका चाडपर्वमा देखाईने लठौवा नाच लोप हुन थालेपछि जोगाउनका लागि युवाहरु अगाडी बढेका छन्। बुढापाकाहरुले जोगाएको संस्कृति जोगाउनका लागि टोलीनै गठन गरी नाच जोगाउने कार्यमा लागेको डुढन डगौराले बताए।
नाचलाई कसरी पुरानै तरिकाले देखाउन सकिन्छ। मौलिकता थप्न सकिन्छ भनेर दैनिक अभ्यामा थारु युवाहरु जुटेका छन्। सांस्कृति समारोह र अन्य कार्यक्रममा समेत युवाहरुले लठौवा नाच देखाउने गरेका छन्। नाचका लागि आवश्यक पर्ने पहिरन बनाउनका लागि सीप समेत सिकेका छन्।
‘सामाजिक, राजनीतिक र सांस्कृतिक समारोहमा लठौवा नाचलाई देखाउँदा संस्कृति जोगाउनका लागि मद्दत पुग्छनै’ बिहारी चौधरीले भने, ‘नाच बारे सबैले जानकारी पाँउछन्। पछिल्लो पुस्ताले समेत नाच बारे जानकारी पाउने भएकाले निरन्तरता दिदै आएका छौं।’
नाच देखाउँदा पहिरन, तन्त्रमन्त्र र अन्यमा गरी धेरै खर्च लाग्ने गर्दछ। नाच देखाउन माग आएको ठाउबाट निश्चित शूल्क समेत युवाहरुले लिने गरेका छन्। तान्त्रिक विधिको प्रयोग गरी लठौवा नाच देखाइने गरेको छ। नाच निकै आकर्षक र मनमोहक हुने भएकाले दर्शकले यस नाचको बढी माग गर्ने गर्दछन्।
हातमा लाठी (लौरो) लिएका युवाहरुले पिठ्युमा मयुँरको प्वाँख बाँधेर आकर्षक तरिकाले परम्परागत गीत गाउँदै नाचलाई प्रस्तुत गर्दछन्। यो नाच समुहमा देखाईने गरिन्छ । दुई वटा लहरमा रहने आर्कषक पहिरनमा रहने युवाहरुले मादलको ताल संगै विभिन्न मुन्द्रामा नाचलाई पस्कने गर्दछन्।
नाच टोलीलाई भवितव्यबाट जोगाउनका लागि गुरुवा समेत संग संगै हिडने गर्दछन्। गुरुवाले निश्चित घेरा बनाई नाचलाई सोही ठाउमा देखाउने गरिन्छ ।
थारु समुदायको यस सामुहिक लोक नृत्यमा एक जना हाँस्यव्यंग गर्ने व्यक्ति पनि रहने गर्दछन। जसलाई थारु भाषामा ‘सोङग्या’ भन्ने गरिन्छ।
‘नाच परम्परागत कालदेखि चल्दै आएको छ’ चन्द्र बहादुर चौधरीले भने, ‘नाच आयोजन गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाडदै आएका थिए। हाल युवाले अन्य जिल्लाबाट यस नाचबारे सिकेर जगेर्ना गर्नमा जुटेका छन।’
नृत्यमण्डलीमा रहने गुरुवा (तान्त्रिक) ले परम्परागत विधिद्बारा नाचको प्रारम्भ गर्ने र पूजा विधि द्वारानै समापन गर्ने गर्दछन। कञ्चनपुरमा यस नाचको लोकप्रियता बढ्दो छ ।
परम्परागतकालमा गोठाला जादा गोठालाहरुले खेल्दा खेल्दै यस नाचकलाको विकास गरेको थारु बुढापाकाहरुको भनाइ रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।