|

काठमाडौं :  तराईमा मनाइने छठ पर्वको विधिवत् सरु आजदेखि भएको छ । यसक्रममा तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ।

छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था र पूजा व्यवस्थापन समितिहरु जुटेका छन्। छठ पर्वको प्रमुख स्थलमध्येको एक मानिने जनकपुधामस्थित गँगासागर,धनुषसागर,अंगराजसर,बिहारकुण्ड,अग्निकुण्ड, भैया पोखरी, महन्थ पोखरी, लगायतका जलाशयहरुमा सरसफाई तथा घाट निर्माण कार्य गरिएको छ। यस वर्ष आजबाट छठ पर्वको बिधि शुभारम्भ नहायखाय, बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा भई बिधिवत रुपमा बिसर्जन हुने धार्मिक कार्यक्रम रहेको छ।

पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्टी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ्य  दिन्छन् । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी)को आराधना गर्दै घाटमै रात बिताउने चलन छ। यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमणको सन्त्रासले धेरैजसो बर्तालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन्। पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन्। सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अर्घ्य देखाइएका सामग्री उदाउँदो सूर्यलाई देखाउँदै दोस्रो अर्घ्य दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.