पत्र काटेको अख्तियारलाई नै थाहा छैन

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातकोत्तर प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको ‘क्वान्टम मेकानिक्स’का विद्यार्थी आशीष पौडेलले उत्तर पुस्तिकालगायत परीक्षासम्बन्धी प्रतिवेदन नष्ट गरी प्रमाण लोप गरेको आरोपमा अभियुक्तलाई कानुनी कारबाहीका लागि भदौ ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाले।

त्रिविले उत्तरपुस्तिका जलाई अभियुक्तलाई जोगाउन डिन कार्यालय सक्रिय भएको भन्दै पौडेलले कारबाही माग राखी राष्ट्रिय सतर्कता केन्द्र, र राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका थिए। अख्तियारमा पौडेलको उजुरी परेपछि असोज महिनाबाट अख्तियारले छानबिन थाल्यो।

पौडेललका अनुसार अख्तियारले छानबिन गरी प्रतिवेदन १५ दिन भित्रमा पेस गर्नु भनी असोज २ त्रिविको डिन कार्यालयलाई पत्र काटेको थियो। तर,पत्र काटेको दुई महिना पुग्दा पनि डिनले कुनै छानबिन गरी प्रतिवेदन अख्तियारमा पेस गरेको छैन।

‘अख्तियारले १५ दिनभित्र प्रतिवेदन बुझाउनु असोज २ गते नै पत्र काटेको हो,’ उनले भने, ‘दुई महिना पुग्दा अख्तियारले केही कारबाही गरेको छैन। अख्तियारको नियममा समयसीमा भित्र पत्राचार नगर्नेलाई एक हजार रुपैयाँ जरिवाना र निजलाई विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था छ।’ 

 


पत्र काट्नमा अख्तियारको बदमासी 

पौडेल भन्छन, ‘कानुनअनुसार अख्तियारले छानबिन गरी प्रतिवेदन बुझाउनु भनेर माथिल्लो निकाय त्रिविको रजिष्टार वा कार्यकारी परिषदलाई पत्र काट्नुपर्ने थियो। तर, डिनलाई काटेको छ। मैले आरोप डिनलाई नै लगाएको हुँ। उसले नै खल्तीमा पत्र बोकेर हिँडिरहेको छ।’

अख्तियारले नै चोरलाई चाबी सुम्पिएको उनको आरोप छ। गलत ठाउँमा पत्र काटेपछि अख्तियारका शिक्षा क्षेत्र हेर्ने उपसचिव रामप्रसाद सुवेदीविरुद्ध १०७ टेलिफोनमार्फत उजुरी दिएको उनले जानकारी दिए।

‘पत्र केन्द्रीय कार्यालयमा पठाएका छौँ, अब छानबिन उसैले गर्छ’

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका पिए दीपक पाण्डेले डिनमा आएको पत्र केन्द्रीय कार्यालयमा पठाइसकेको जानकारी दिए। उनले भने, ‘अख्तियारबाट छानबिनका लागि पत्र डिनमा आएको रहेछ। डिनबाट छानबिन गर्ने अधिकार छैन, मिल्दैन। त्यसैले गत बिहीबार नै केन्द्रीय कार्यालयमा पत्र पठाएका छौँ। अब छानबिन उसैले गर्छ।’

कार्यकारी परिषद सचिवालयका प्रमुख सूर्यराज अधिकारीले सूचना शाखाका केही कर्मचारीमा कोरोना संक्रमण देखा परेकाले पत्र पाउन समस्या भएको बताए। ‘हामीकहाँ पत्र आइसकेको होला, ’उनले भने, ‘सूचना कक्षका केही पदाधिकारीलाई कोरोना देखा परेकाले कार्यालय बन्द छ। पत्र पाइसकेपछि आवश्यक छानबिन थाल्छौँ।’ 

पत्र काटेकोबारे अख्तियार नै बेखबर

अख्तियारले १५ दिनको समयमा पत्र काटी छानबिन प्रतिवेदन बुझाउन भनेको दुई महिना पुगिसकेको छ। तर, त्रिविमार्फत अहिलेसम्म कुनै प्रतिवेदन अख्तियारमा पुगेको छैन। छानबिन गरी प्रतिवेदन बुझाउनेबारे पत्रबारे केही जानकारी नभएको अख्तियारका सहायक प्रवक्ता एवं सूचना अधिकारी गणेशबहादुर अधिकारीले बताए।

उनले भने, ‘यसबारे केही जानकारी छैन। बुझ्नुपर्छ। पहिला लिखित उजुरी भने आएको थियो।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.