|

मुगु : हिमाली जिल्ला मुगुको सबैभन्दा ठूलो गाउँका रूपमा परिचित भामवाडा गाउँ एक दुरदर्शी गाउँ हो। झट्ट हेर्दा शहर जस्तो देखिने भामवाडा गाउँ एक नमूना गाउँ पनि हो।

यस गाउँमा ४ सय २२ घरधुरी छ भने २६ सय जनसख्या छ। मुगु जिल्लाको एकमात्र विमानस्थल ताल्चा विमानस्थल पनि यसै वडामा पर्छ। ढुंगा, माटो र काठले खादिएर बनेका घर टाढाबाट अथवा हवाईजहाजबाट हेर्दा पक्की शहरजस्ता देखिन्छन। 

गाउँ हेदाँ जति राम्रो देखिन्छ, यहाँका नागरिक त्यति नै दूरदर्शी पनि छन्‌। मुगु जिल्लाको परिवेशलाई नियाल्ने हो भन्ने भामवाडा गाउँका युवाहरू हरेक वर्ष सरकारी सेवामा प्रवेश गरिरहेका हुन्छन्‌। देशको धेरै ठाउँमा युवाहरू वैदेशिक रोजगारीमा भासिइरहँदा यहाँका युवाहरूको लक्ष्य भने मेहनत गरेर पढ्ने र निजामती सेवामा नाम निकाल्ने नै हुने गरेको छ।

मुगु जिल्लाभर नै गणतन्त्रकालमा भामवाडा गाउँ स्थायी कर्मचारी धेरै भएको गाउँमध्ये पर्छ। २०६४ सालयता लोकसेवा आयोगबाट सफल हुने स्थायी कर्मचारी भामवाडा गाउँमा अहिले ४१ जना छन्‌। लोकसेवा आयोगले लिने परीक्षामा वर्षेनी यो गाउँका आधादर्जन युवाहरू उत्तीर्ण भइरहेका छन्‌।

​सरकारी सेवा प्रवेशमा चर्चित स्याङ्जा र गुल्मी लगायत जिल्लासँग तुलना गर्दा यो संख्या थोरै देखिएपनि दुर्गम हिमाली जिल्ला मुगुको अवस्थिति र शैक्षिक स्थितिलाई हेर्दा निकै आशालाग्दो भएको जिल्लाका बुद्धिजीविहरू बताउँदछन्‌। ​पछिल्लो समय जिल्लाभर भामवाडा गाउँको प्रशंसा हुने गरेको छ।

क्षेत्री समुदायको बाहुल्यता रहेको भामवाडा साविकको कार्कीवाडा गाविसको वडा नं १, २, ३ र ४ हो। तर अहिले संघीय संरचनापछि एक वडामात्र भएको छ।

स्थायी कर्मचारीलाई सम्मान

२०६४ सालयता लोकसेवा आयोगमा सफल उम्मेदवारलाई बुधबार वडा कार्यालयले सम्मान गरेको छ।

छायानाथ रारा नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित्रबाट सरकारी सेवामा प्रवेश गरेकाहरूलाई सम्मान गरेको हो।

स्थायी कर्मचारीलाई प्रोत्साहन, हौसला र नयाँ पिंढीलाई प्रेरणास्वरुप सम्मान गरिएको वडा अध्यक्ष बिष्णुकुमार भामले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.