चीनको जनमुक्ति सेना (पीएलए) ले पूर्वी लद्दाखस्थित भारत–चीन सीमामा 'माइक्रोवेभ' हतियार प्रयोग गरेको चर्चा यतिखेर विश्वभर चुलिएको छ। तर, भारतीय सेनाले भने यो हल्ला मात्रै भएको दावी गरेको छ।
भारतीय सेनाका एडिशनल डाइरेक्टरेट जनरल अफ पब्लिक इन्फर्मेशन (एडीजीपीआइ) को आधिकारिक ट्वीटर ह्याण्डिलमा लेखिएको छ, 'पूर्वी लद्दाखमा माइक्रोवेभ हतियार प्रयोग भएको भन्ने खबर आधारहीन हो।'
Media articles on employment of microwave weapons in Eastern Ladakh are baseless. The news is FAKE. pic.twitter.com/Lf5AGuiCW0
— ADG PI - INDIAN ARMY (@adgpi) November 17, 2020
भारतीय रक्षा मामिलाका जानकार एवम् इन्डियन डिफेन्स रिभ्यूका एसोसियट एडिटर दानवीर सिंहले पनि चिनियाँ दावी झुठो भएको बताएका छन्। उनी भन्छन्, 'लाइन अफ साइट अर्थात सीधा रेखामा काम गर्ने यी हतियार पहाडी क्षेत्रमा प्रयोग गर्न सजिलो छैन।'
पूर्वी लद्दाखमा चलिरहेको सैन्य तनावका बीच पीएलएले 'माइक्रोवेभ' हतियार प्रयोगमार्फत भारतीय सेनालाई तितरवितर पारेको खबरहरू चिनियाँ मिडियाहरूले सार्वजनिक गरेका छन्।
चीनको रेनमिन विश्वविद्यालय, अन्तराष्ट्रिय सम्बन्धका प्राध्यापक जीन केनरिङलाई उद्धृत गर्दै समाचारहरूमा लेखिएको छ : पीएलएले रणनीतिक महत्वको दुई वटा पहाडी टाकुरा नियन्त्रणमा लिन ती उचाइमा रहेका भारतीय सैनिकमाथि डाइरेक्ट इनर्जी वेपन्स (डीइडब्ल्यू) को प्रयोग गरेको छ।
यो हतियारको प्रयोगका कारण भारतीय सैनिकलाई वान्ता भएको र १५ मिनेटभित्रै उनीहरू उभिन नसक्ने हालतमा पुगेको चिनियाँ पक्षको दावी छ। साथै, बान्ता भएर ढल्न थालेपछि भारतीय सैनिक त्यहाँबाट सकिनसकी भागेका र चिनियाँ सेनाले ती थुम्का पुनः आफ्नो नियन्त्रणमा लिएको पनि लेखिएको छ।
अगस्ट २९ का दिन भएको यो लडाईंका क्रममा चिनियाँ सैनिकले कुनै गोली खर्चनु नपरेको पनि उल्लेख गरिएको छ। चीन र भारत दुवैले अलग–अलग कारणले गर्दा यो घटनामा प्रचारमा नल्याएको केनरिङले बताएका छन्।
के हो 'माइक्रोवेभ' हतियार
माइक्रोवेभ हतियार डायरेक्टेट इनर्जी वेपन (डीइडब्ल्यू) कै एक प्रकार हो। यो माइक्रोवेभ्स इलेक्ट्रोम्याग्नेटिक रेडियसनको रुपमा रहन्छ।
यो हतियारको वेभलेन्थ एक मिलिमिटरदेखि एक मिटरसम्म हुन्छ भने फ्रिक्वेन्सी ३०० मेगाहर्ज (१०० सेन्टिमिटर) र ३०० गिगाहर्ज (०.१ सेन्टिमिटर) सम्म रहन्छ। यसलाई हाइ इनर्जी रेडियो फ्रिक्वेन्सी पनि भनिन्छ।
भारतीय रक्षा मामिलाका जानकार सिंह भन्छन्, 'घरमा भएको 'माइक्रोवेभ'ले जसरी काम गर्छ, यो हतियारले पनि सोही प्रकारले काम गर्छ। यसमा भएको म्याग्नेट्रानले 'माइक्रोवेभ' तरङ्ग छाड्छ। कुनै खाद्यपदार्थमा यो तरङ्ग छाड्दा ताप पैदा हुन्छ। 'माइक्रोवेभ' हतियारको सिद्धान्त पनि यही हो।'
तर चिनियाँ दावीलाई भने सिंह अस्वीकार गर्छन्। उनी प्रतिप्रश्न गर्छन्, 'तपाईं नै सोच्नुहोस् कि कुनै उचाइमा रहेका सैनिकलाई हटाउन कति ठूलो म्याग्नेट्रान बनाउनुपर्ला ?'
तर, भारतकै रक्षा मामिला संवाददाता राहुल बेदी भने यो हतियारको प्रयोग सम्भव भएको तर्क गर्छन्। उनी भन्छन्, 'यसलाई नन कन्ट्याक्ट वारफेयर भनिन्छ, जसमा आर्टिलरी सेल, गोली या ट्यांक प्रयोग हुँदैन, अल्ट्राभ्वायलेट रेज प्रयोग हुन्छ, तर चीनको दावीलाई चाहिँ म पनि फर्जी नै भन्छु। भारतको रक्षा तथा अनुसन्धान विकास संगठन (डीआरडीओ) ले पनि यो हतियार बनाउन खोजिरहेको हो।'
तर चीनले यसमा कति उपलब्धि हासिल गरेको छ भनी भन्न नसकिने उनी बताउँछन्। उनी थप्छन्, 'यो हतियार भविष्यमा बन्छ नै।'
१९ औं शताब्दीमै डाइरेक्टेड इनर्जी वेपन (डीइडब्ल्यू) बनाउन खोज शुरु भएको थियो। सन् १९३० मा राडार प्रविधि आविष्कार भएसँगै यो हतियार बनाउने दिशामा महत्वपूर्ण उपलब्धी हासिल भएको थियो।
इलीन एम वालिंगको पुस्तक हाइ पावर 'माइक्रोवेभ्स ः स्ट्राजेटिक एन्ड अपरेसनल इम्पिलेसन्स फर वायरफेयर मा यसबारे विस्तृतमा उल्लेख गरिएको छ। यो पुस्तकमा वायरलेस र राडार प्रविधिको उपयोग सैन्य क्षेत्रमा निकै बढ्ने र एडभान्स अर्ली वार्निङ, डिटेक्सन तथा वेपन फायर कन्ट्रोल समावेश हुने लेखिएको छ।
अमेरिकाले जारी शताब्दीको पहिलो दशकदेखि नै लेजर हतियार परियोजनामा काम गरिरहेको छ। अहिले पनि यो परियोजनाअन्तर्गत काम भइरहेको छ।
बेलायत सरकारले सन् २०१४ मा लेजर हतियार बनाउन ३० मिलियन पाउन्डको एक परियोजना अघि बढाएको छ। वैज्ञानिक र इञ्जिनियरहरूले अहिले पनि लगातार फ्रिक्वेन्सी स्पेक्ट्रममाथि काम गरिरहेका छन्। यसका साथै अतिरिक्त एप्लिकेसन पनि विकास गरिँदैछ।
कुनै समय डाइरेक्टेड इनर्जीलाई विज्ञान कल्पना (साइन्स फिक्सन) मात्र मानिन्थ्यो। तर यतिखेर भने यो यथार्थ बनिसकेको छ। तर, हाइ पावर 'माइक्रोवेभ' टेक्नोलोजीमा भएको उपलब्धि अहिलेसम्म बाहिर देखिएको छैन।
डाइरेक्टेड इनर्जी वेपन यस्तो हतियार हो, जसबाट निस्कने केन्द्रीकृत उर्जा (फोकस्ड इनर्जी)ले आफ्नो टार्गेटलाई नष्ट गरिदिन्छ। यस्तो फोकस्ड इनर्जीमा लेजर, 'माइक्रोवेभ' र पार्टिकल वीम पर्छन्। यस प्रविधि प्रयोग गरी बनाइने सम्भावित हतियारले सैनिक, मिसाइल र अप्टिकल उपकरणहरूलाई नष्ट गरिदिन सक्छ।
पारम्पारिक हतियारका तुलनामा डायरेक्टेड इनर्जी वेपन निकै असरदार हुने वैज्ञानिकहरूले बताउँदै आएका छन्।
यस्तो हतियार प्रयोग गरेको थाहै हुँदेन र स्पेक्ट्रम माथि या तलतिरबाट हेर्दा तरङ्ग (रेडियसन) अदृश्य हुन्छ। यो हतियारको लेजर प्रकाशको गतिमा प्रवाह हुन्छ। यो हतियारले ड्रोन या मिसाइललाई पनि असफल बनाइदिने बीबीसी हिन्दीमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।