माइनस ७० डिग्रीमा औषधि राख्‍ने क्षमता नेपालमा छैन

|

काठमाडौं :  कोभिड-१९ का कारण विश्वमा १३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म यसको निराकरण गर्न कुनै पनि आधिकारिक औषधि वा खोप बन्न सकेको छैन।

विभिन्न मुलुकले निर्माण गरिरहेका खोपको प्रभावकारिताका कुराहरू सार्वजनिक भइरहेको छन्। खोपको प्रभावकारिता बढेसँगै धेरै संक्रमितले यसबाट लाभ प्राप्त गर्न सक्ने आशा गरिएको छ।

चीन, अमेरिका, बेलायत र रुसले विकास गरिरहेका १० वटा खोप तेस्रो चरणको 'क्लिनिकल ट्रायल' मा छन्। अहिले बनिरहेका खोप परीक्षणमा सफल भएमा  केही समयपश्चात् विश्वका विभिन्न मुलुकमा पुगिसक्नेछन्। तर, नेपालमा भने अहिले बनेका खोपले अनुमति पाए पनि तत्काल आइपुग्ने अवस्था छैन।

यता, सरकारले कोरोना भाइरस विरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खोलिसकेको छ। आपतकालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल गर्न कानुनी आधार बनिसकेको छ।

अध्यादेशमा खोपको क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ । त्यस्तै, नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ ।

औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो। ‘कुनै पनि विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिबमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिक ट्रायल गर्न चाहेमा नेपाल सरकारले अनुमति दिन सक्नेछ,’ अध्यादेशमा उल्लेख छ ।

अन्य मुलुकमा औषधि बन्न थालेपछि नेपाल सरकारले खोप आयात गर्नको लागि एक कमिटी पनि बनाइसकेको छ। समयमै खोप आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिवसहितको एक कमिटी बनेको हो।

विकसित भइरहेका कुनै पनि खोप बजारमा आउनासाथ नेपालमा ल्याएर तुरुन्त प्रयोग गर्न सहज छैन। आवश्यक पर्ने कतिपय पूर्वाधार नेपालमा बनेका छैनन्। प्रयोगमा आउने कुनै पनि खोपलाई माइनस तापक्रममा राख्दा भण्डारण गर्ने उपकरण 'कोल्ड चेन' निर्माण भएका छैनन्।

औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेक बनाएको खोप ९० प्रतिशतसम्म मानिसमा संक्रमण रोक्न प्रभावकारी भएको दाबी गरिएको छ। तर, उक्त खोपलाई कम्तीमा माइनस ७० डिग्रीमा राख्नुपर्ने भनिएको छ। नेपालमा उक्त तापक्रममा राख्नको लागि उपयुक्त भण्डारस्थल बनाइएको छैन।

नेपालमा खोप आएमा भण्डार गर्नको लागि समस्या हुने देखिएको छ। संक्रमण देखिएको नौ महिनासम्म खोप भण्डारण गर्ने क्षेत्र बनाइएको छैन। विदेशमा निर्मित खोप आयात भएमा कसरी व्यवस्थापन गर्ने त्यसको विकल्प तयार गरिएको छैन।

कम तापक्रममा खोप भण्डार गर्न सकिन्न

विभिन्न राष्ट्रहरूले निर्माण गरेका कोरोनाका खोप अहिलेसम्म अन्तिम चरणमा नपुगिसकेकोले नेपालमा औषधि र खोपको भण्डार गर्न भौतिक संरचना निर्माण गर्न अहिले नै यसै गर्न सकिन्छ भनेर भन्न नसकिने अवस्थामा रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा बताउँछन्।

सबै खोप अहिले पनि परीक्षणमा रहेकोले कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर केही भन्न सक्ने अवस्था नरहेको उनले शर्माले जानकारी दिए।

उनले भने, 'पहिलो कस्तो खोप तयार हुने हो त्यसको फाइनल हुनुपर्‍यो त्यसपछि भण्डार गर्न तयारी हुन्छ। बाहिर सार्वजनिक भएको जस्तो माइनस ७० डिग्रीमा राख्न सक्ने क्षमता नेपालमा बनिसकेको छैन।'

बाहिर सार्वजनिक भए अनुसार खोपको लागि अत्यधिक कम तापक्रममा राख्नुपर्ने त्यसको लागि नयाँ संरचना निर्माण गर्न सकिने उनले प्रष्‍ट पारे।

२ देखि २० डिग्री क्षमतामा राख्‍न मिल्ने भए अहिले भएको भौतिक संरचना राख्‍न सकिने उनले जानकारी दिए। अहिले पनि नेपालमा उपलब्ध भएका खोपहरू २ देखि ८ डिग्री सेल्सियस तापक्रममा खोप राखिएको उनको भनाइ छ।

नेपालमा लगाइने कुनै पनि प्रकारको खोप अभाव नभएको उनले जानकारी दिए। चाहे जति खोप स्टकमा राखिएको उनले बताए।

'कूटनीतिक पहल थालौँ'

नेपालसँग कूटनीतिक सम्बन्ध भएका मुलुकमा खोप निर्माण हुन थालेकोले अहिलेदेखि खोप आयात गर्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. सुरेश तिवारी बताउँछन्। खोपको निर्माणको सम्भाव्यता बढ्न थालेको तत्कालै कूटनीतिक पहल थाल्नलाई सरकार गम्भीर हुनुपर्ने उनको धारणा छ।

अर्थ मन्त्रालयसँग बजेट माग गरेर खोप भण्डार गर्नको लागि भौतिक संरचना तयार गर्नलाई ढिलाइ गर्न नहुने उनको भनाइ छ। सरकारले महामारीमा पहिलो प्राथमिकतामा खोप आयात र औषधिलाई राख्नुपर्ने उनले बताए।

'खोप निर्माणको सुरुवाती चरणमा पहल गर्न सकिएन भने नेपाल खोप पाउने अन्तिम मुलुकमा हुन्छ,' डा. तिवारीले भने,' अब नागरिकको स्वास्थ्यलाई लिएर सरकार गम्भीर हुनुपर्ने बेला आएको छ।'

खोप आयात गर्न अनुमति

खोप आयात गर्नको लागि अध्यादेश जारी भइसकेकाले नेपालमा खोप ल्याउनका लागि बाटो खुलेको स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली बताउँछन्। अहिले चर्चामा आएका कुनै पनि खोप अन्तिम डकुमेन्टड तयार नभएको अवस्थामा कुन खोप आयात गर्न सकिन्छ भन्न नसकिने उनले बताए।

सबै खोप तेस्रो चरणमा रहेकोले यहीँ खोप नेपालमा प्रयोग गर्न सकिन्छ भनेर दाबी  गर्न नसकिने उनले प्रस्ट पारे। उनले भने,' फाइजरको खोप प्रारम्भिक चरणमा रहेको छ। सबै अन्तिम चरणमा पुगेका छैनन्।'

स्वास्थ्य अनुसन्धान परिषद् खोप किनेर भए पनि परीक्षणको खोप प्रयोग गर्न आतुर रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.