कम्युनिस्ट र कांग्रेसका कार्यकर्ता नै सहभागी

|

धनगढी : राजा फालेर संघीय गणतन्त्र स्थापन गर्न २०६२/०६३ जनआन्दोलन गर्ने प्रमुख राजनितिक पार्टीका कार्यकर्ता अहिले ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शनमा उत्रिन थालेका छन्।

देशका प्रमुख राजनीतिक पार्टीभित्र आन्तरिक विवाद र सत्ताको खिचातानी चलिरहेका बेला राजा फाल्न आन्दोलनका सहभागी भएका कार्यकर्ता नै राजतन्त्र स्थापनको माग गर्दै प्रदर्शनमा सहभागी भएका छन्। 

बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दु राष्ट्र पुनःस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा आयोजना गरेको बृहत् मोटरसाइकल र्‍यालीमा अधिकांश कम्युनिष्ट र कांग्रेसका कार्यकर्ता सहभागी थिए।

‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो शान, प्राण भन्दा प्यारो छ’ भन्दै गरिएको बृहत् प्रदर्शनमा युवाहरुले मोटरसाइकल र्‍याली निकालेका थिए। धनगढीबाट निस्केको भीड अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको थियो।

हिन्दु राष्ट्र पुनःस्थापना, संघीयता खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित प्रदर्शन गरिएको आयोजकले बताएको छ। अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको समाजका संयोजक रवीन्द्र कार्कीले बताए।

धनगढीदेखि अत्तरियासम्म गरिएको प्रदर्शनमा एक सयभन्दा बढी चारपांग्रे सवारी साधनसहित तीन हजार हाराहारी मोटरसाइकल सहभागी भएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.