घटनस्थलतर्फ जाँदै प्रहरी

|

बैतडी : बैतडीमा ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ वटा गाई फेला परेका हुन्।

सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएका छन्। खानेपानीको मुहानमा मरेका गाई फेला परेपछि पुर्चौंडी नगरपालिका वडा नं ६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयमा खानेपानीको समस्या भएको छ।

गाउँमा आउने खानेपानीको मुहानमा गाई मरेका भेटिएपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय सीता साउदले बताईन्। उनले भनिन् ‘पानीको मुहानमा ११ ओटा गाई मृत अवस्थामा भेटिएका छन्। पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ। त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ।’

पुर्चौंडी नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजिकै रहेको पानीको मुहानमा गाई मृत अवस्थामा भेटिएकाले सडकबाटै गाईलाई फालिएको हुन सक्ने स्थानीयहरूले अनुमान गरेका छन्। ‘११ वटा गाई पानीको मुहानमा मृत अवस्थामा फेला परेका छन्। गाई मारेर फालेको हुन सक्ने अनुमान गरेका छौं।’ स्थानीय प्रेम साउदले भने, ‘पानीको मुहानमा गाई मरेका भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ।’

मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ। पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई २ हजार ५ सयका दरले ती व्यक्तिहरुको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले जानकारी इईन्।

बाटोमा कतै नछोड्ने शर्तमा उनीहरुले गाई लगेको समेत उनले बताइन्। पानीको मुहानमा मृत अवस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

पानीको मुहानमै गाईहरू मृत भेटिएपछि मुडेलीस्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकाहरुलाई समेत खानेपानीको समस्या भएको छ। गाईको  हत्या गरेर फालेको भए कानुनअनुसार कारबाही हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.