आचारसंहिता बन्यो, कार्यन्वयन भएन

|

इलाम :  मौसम खुलेसँगै इलामको सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र श्रीअन्तुमा यति बेला पर्यटकको चाप थामिनसक्नु छ। बिहानै झिसमिसेको देखिने सूर्योदयको पहिलो दृश्य हेर्न देशभरका पर्यटक आउने चर्चित ठाउँ पनि हो श्रीअन्तु। तर, श्रीअन्तुमा आजकाल बिहानै देखिने माहोलले भने कोरोनाको जोखिम बढाउने चिन्ता थपिँदै गएको छ। 

८ महिनापछि खुलेको अन्तुमा अधिकांश पर्यटकहरुले न त मास्क लगाएको देखिन्छ न त सुरक्षाको अन्य उपाय नै अबलम्वन गरेको नै पाइन्छ। खुल्लमखुल्ला रमाउनेहरुको लर्कोले अहिले अन्तु तातेको छ।

त्यसो त स्थानीय  त्रसित छन। अहिले सूर्योदयको दृश्य हेर्नका लागि बनाइएको भ्युटावरमा खुट्टा टेक्ने स्थान पाइँदैन। टावर प्रवेशका लागि नगरपालिकाले ५० रुपैयाँ शुल्क लिने गरेको छ।  टिकट काउन्टरका अनुसार कोरोनाको कहरका बीचमा पनि दैनिक औषतमा ५ सय पर्यटकले अन्तु भ्रमण गर्छन्।

दैनिक पर्यटकबाट प्रवेश वापत २५ हजार भन्दा बढी शुल्क संकलन गर्ने नगरपालिकाले आगन्तुकहरुका लागि मास्कको व्यवस्थापन अहिलेसम्म गर्न सकेको छैन। 
सेनिटाइजर राख्ने गरिएको भएपनि माग्नेहरुका लागि मात्र उपलब्ध गराइन्छ।  मास्क लगाउन पर्यटकहरुले समेत अटेर गर्ने गरेको टिकट काउन्टरका कर्मचारी दिपेन पुलामी बताउँछन्।

‘मास्क नलगाउनेलाई आग्रह गर्ने गरेका छौ,’उनले भने,‘नजिकैको पसलहरुमा समेत बिक्री गर्न राखिएको छ। माथि टावरमा गएपछि चाहि फोटो खिच्नका लागि पनि फुकाल्छन् होला। हामीलाई टिकट काट्न भ्याइनभ्याइ हुन्छ।’

व्यवस्थापनको प्रयास गरिरहेका छौँ  

सूर्योदय दृश्यावलोकन गर्ने स्थानमा करोडौँको लगानीले नगरपालिकाले सिगार्ने काम गरेको छ। पर्यटकहरुको सुरक्षालाई ध्यानमा राखेर टावरमुनि सूर्योदय हेर्ने स्थानमा कलात्मक रेलिङ समेत लगाएको छ। धेरै संख्यमा पर्यटकहरु विहानीको सूर्योदय र कञ्चनजंघाको दृश्य हेर्न भेला हुने भएकाले टावरमा नअटाउँदा कतिपयले जमीनबाट नै हेर्न गरेको छन्।

जसका कारणमा श्रीअन्तु क्षेत्रमा सामाजिक दुरी कायम भएको देखिदैन्। अहिले पर्यटनको सिजनलाई ध्यानमा राखेर नगरपालिकाले होटल र होमस्टे संचालनको लागि अनुमती दिएपनि सुरक्षाको व्यवस्थापन गर्न नसकिरहेको नगर प्रमुख रणबहादुर राईले स्विकार गरे।

 ‘डिसीएमसी र नगरबीच समन्वय गरेर मास्क र सेनिटाइजरको प्रयोग सँगै भीडभाडलाई कम गराउने प्रयास गरेका छौ। तर पर्यटकहरुको चाप अत्याधिक रहने भएकाले सुरक्षाको व्यस्थापन गर्न सकेका छैनौ।’ उनले भने। नगरपालिकाले अहिले आफ्नो स्रोत साधन र क्षमतालाई प्रयोग गरेर व्यवस्थापनको प्रयास गरिरहेको जानकारी दिए। 

आचारसंहिता बन्यो, कार्यन्वयन भएन

अन्तुमा ६३ घरमा होमस्टे सञ्चालन रहेको छ। कटेज र होटल पनि सञ्चालन भइरहेका छन्। होमस्टे सञ्चालकले कोरोना संक्रमणबाट जोगाउन पर्यटकका लागि सात बुँदे र होमस्टे सञ्चालकका लागि छ बुँदे आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याइएको छ। तर, पर्यटकहरुले आचारसंहिता पालना गर्न अटेर गर्ने अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताए।

उनले भने,‘पर्यटकले मास्क लगाउँदैनन्, हामीले सचेतता अपनाए पनि धेरैले अटेर गरेको पाइयो।’ पर्यटकहरुको सुरक्षाको लागि भनेर आचारसंहिता बनाइए पनि उनीहरुले नै पालना नगरेपछि समस्या आएको उनले बताए।

आचारसंहितामा पर्यटकले मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम राख्नुपर्ने, पाहुनालाई तोकिएको शौचालय, बाथरुम र धारा प्रयोग गर्नुपर्ने, तोकिएको स्थानमा मात्र हिँडडुल, नाचगान र क्याम्प फायर गर्नुपर्ने लगायत उल्लेख गरिएको छ।

त्यस्तै, होमस्टे, होटल र कटेज सञ्चालकले पनि भान्साघरमा काम गर्नेले मास्क, पन्जा र एप्रोन अनिवार्य लगाउनुपर्ने, पाहुनाका लागि अलग्गै साबुन पानी र सेनिटाइजर राख्नुपर्ने, पाहुनालाई प्रयोग गरिएको थालबटुका अरूले प्रयोग नगर्ने, एक दिन बिराएर मात्र अर्को रात पाहुना राख्नुपर्नेजस्ता नियम बनाइएको छ। 

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सामाजिक दूरी कायम गर्न र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ। मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डसमेत जारी गरेको छ।

तर, मन्त्रालयले जारी गरेको मापदण्ड र आग्रहको धज्जी पर्यटकीय क्षेत्रमा उडेको देख्न सकिन्छ।  स्वास्थ्य सुरक्षाका मापदण्डमा स्थानीय सरकारले कडाई नगर्दा पर्यटकीय क्षेत्र ‘कोरोना बम’ बन्न सक्ने अवस्था सिर्जना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.