|

ओखलढुंगा : ओखलढुंगामा आलुको भाउ ह्वात्तै बढेको छ। कोरोना महामारीका कारण अन्यत्रबाट आलु आयात हुन छाडेपछि स्थानीय आलुको भाउ बढेको हो। 

अघिल्लो वर्ष प्रतिकेजी ५० रुपैयाँमा किनबेच भइरहेको आलु यसवर्ष १ सय २० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ। जिल्लाको लेकाली भुगोलमा बुङ बनाएर रोपिएको आलु उत्पादनमा कमी भएसँगै आलुको भाउ हालसम्मकै उच्च भएको हो।

जिल्लाको २ हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा उत्पादन गरिँदै आएको बुङको आलुको माग बढी रहेको र तराईबाट आयात नभएका कारण स्थानीय बजारमा  भाउ बढेको उपभोक्ताहरू बताउँछन्‌।

रोग लागेर कम फलेपछि आलुको भाउ ह्वात्तै बढेको किसान राकेश श्रेष्ठले बताए। गएको माघदेखि चैतसम्म आलु रोप्ने बेलामा पटक पटक हिउँ परेको र चैतपछि निरन्तर पानी परेकाले आलुमा डढुवा रोग लागेकोले उत्पादनमा कमी भएको उनको भनाई छ।

हिउँ र पानीका कारण किसानले यसवर्ष भनेजति क्षेत्रमा आलु लगाउन समेत पाएका थिएनन्। जिल्ला सदरमुकाममा यतिबेला तरकारीको लागि तथा बिउको लागि प्रयोग गरिने आलु १२० देखि १५० रुपैयाँसम्म किनबेच भइरहेको छ।

जिल्लाको खिजिदेम्बा गाउँपालिका-६, ७, ८ र ९, मोलुङ गाउँपालिकाको वडा नं. ६, ७ र ८, सिद्धिचरण नगरपालिकाको वडा नं. ५, ६ र ७ चिशंखुगढी गाउँपालिकाको वडा नं. ७ लिखु गाउँपालिकाको वडा नं.५, ७, ८ र ९ लगायतका २ हजार मिटरभन्दा माथिका क्षेत्रमा हुँदै बुङमा आलु खेती हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.