|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर नेकपा दुई धारमा देखिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा नेता पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर नेकपाभित्र थप विवाद बल्झिएको हो। 

शनिबार चितवनको राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा नेता पाण्डे विरुद्ध प्रधानमन्त्री ओली खेमाका कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए। चितवन नेता पाण्डेको गृहजिल्ला पनि हो।

यही विवादलाई लिएर नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेको ध्यानाकर्षणको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खण्डन गरेका छन्।  प्रवक्ता श्रेष्ठले नेता पाण्डे विरुद्ध सुनियोजित रुपमा दुव्र्यवहारको गरेको बताएका थिए। चितवनमा घटेको घटना कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि निहत उनले औल्याएका थिए। 

‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क. सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सना योग्य छ, प्रवक्ता श्रेष्ठले भनेका थिए, ‘यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्।’

यसको प्रतिउत्तर फर्काउँदै सल्लाहकार थापाले प्रवक्ता श्रेष्ठ गुटगत राजनीतिमा लागेको आरोप लगाएका छन्। उनले प्रवक्ता श्रेष्ठमाथि बुटवलमा प्रदेश राजधानीको विवादको क्रममा मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलमाथि ढुंगा प्रहार हुँदा नबोलेको भन्दै कटाक्ष गरेका छन्। 

‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य तब न नारायणकाजी!’  उनले अगाडी भनेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिंदा  निदाउनुभएको थियो क्यारे!’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.