|

कञ्चनपुर : नेपाली कांग्रेसनिकट नेपाल दलित संघमा आबद्ध कार्यकर्ताहरूले क्रियाशील सदस्यता बढाउनका लागि माग अघि सारेका छन्। आउँदो पार्टीको महाधिवेशनलाई लक्षित गरी वितरण हुन लागेको क्रियाशील सदस्यतामा दलित समुदायको सहभागिता बढाउन माग गएिको हो।

क्रियाशील सदस्यतामा जिल्लामा दलित समुदायको सहभागिता दोहोरो अंकमा नभएकाले यसलाई बढाउन माग अघि सारिएको नेपाली कांग्रेस कञ्चनपुरका क्षेत्रिय सदस्य गोविन्द नेपालीले बताए।

‘पार्टीमा जहिले पनि दलित समुदायले साथ दिएन भनेर चर्को रुपमा आवाज उठने गरेको छ’ उनले भने, ‘पार्टीमा दलित समुदायको सहभागिता कति छ भनेर विचार गरिदैन। दलित समुदायको पार्टीमा न्यून सहभागिता भएपछि साथ कसरी हुन्छ।’

आउँदो महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणको कार्यलाई अगाडि बढाइएको छ। पार्टीमा लामो समयदेखि संलग्न रहेका दलित समुदायका व्यक्तिहरुले क्रियाशील सदस्यता पाउन सकेका छैनन्।

अब वितरण हुने क्रियाशील सदस्यमा दलितको सहभागीतालाई सुनिश्चित गरिनुपर्ने उनको भनाइ रहेको छ।  ‘वर्तमान दुई तिहाईको सरकारको नियुक्तिमा दलित समुदायलाई स्थान दिइएको छैन’ क्षेत्रीय सदस्य नेपालीले भने, ‘सरकार गठन भएयता धेरै जना दलित समुदायका व्यक्तिहरूको जातीय उत्पीडनका कारण हत्या भएको छ।

नेपाली कांग्रेसले आवाजनै उठाउदैन। सडकमा उत्रिँदैन। दलितलाई संविधानतः उपलव्ध हुने अधिकारका लागिसमेत अगाडि नआउने भएपछि पार्टीमा दलितको सहभागिता बढन सक्दैन।’

 राजीतिक रुपमा दलित समुदायलाई स्थापित नगर्दासम्म पार्टीको राजनीतिले समेत गति लिन नसक्ने उनले बताए। उनका अनुसार बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकाका गरी ३० वडामा रहेका दुई हजार सात सय क्रियाशील सदस्यमा दलित समुदायका क्रियाशील सदस्य मात्रै २७ जना रहेका छन्। जिल्लाका नौ वटा स्थानीय तहका ९० वडामा दलित क्रियाशील सदस्यको संख्या सय नाघेको छैन।

‘पार्टीका हरेक तहमा दलित समुदायको सहभागिता बढाउनका लागि क्रियाशील सदस्यता बढाउनु नितान्त आवश्यक छ’ क्षेत्र नं २ का क्षेत्रिय सदस्य राम बहादुर चुनाराले भने, ‘निर्वाचनमा दलित समुदाय संग मत माग्न जादा कसरी जाने भन्ने समस्या छ।

दलित समुदायका पार्टीमा लामो समय देखि संलग्न रहेका व्यक्तिहरुले समेत क्रियाशील सदस्यता पाउन सकेका छैनन्।  मूल्याङकन नभएपछि पार्टी छाडने क्रमम समेत बढन थालेको छ। यसलाई रोक्नका लागि पनि जिल्ला पार्टीमा दलितको सहभागीता बढाउन आवश्यक छ।’

‘एकै घरका पुरै परिवारका सदस्यहरुलाई पार्टीको क्रियाशील सदस्यता वितरण गरिएको छ’  शुक्लाफाँटा नगरपालिका दलित संघका सभापति डम्बर ओखेडाले भने, ‘अब दलित समुदाय पार्टीसँग क्रियाशील सदस्यताका नाममा भिख माग्ने पक्षमा छैन। न्यायोचित तरिकाले क्रियाशील सदस्यता वितरण हुनुपर्छ भन्ने हाम्रो माग हो।’ समावेशिताको मुद्दालाई ओझेलमा राख्दा पार्टी कमजोर बन्न थालेको उनको बुझाई रहेको छ।

दलित अगुवाहरु भन्छन, ‘पार्टीका भाषणमा दलित समुदायलाई उद्यमी बनाईनु पर्छ, आत्म निर्भर बनाईनु पर्छ भनेर निकै चर्चा गरिन्छ।

दलितको सीपलाई आधुनिकिकरण गरिनुपर्छ पनि भनिन्छ। त्यो कुरा भाषण, सभा र गोष्ठिमै सिमित रहन्छ। दलित समुदायको उत्थानका लागि कार्यहरु आगाडी बढाईदैन। अधिकारका लागि आवाजसमेत उठाईदैन। यस्तो अबस्थामा पार्टीलाई दलित समुदायले साथ मात्रै कसरी दिन सक्छन्।’

साँझ विहान मजदुरी गरेर भएपनि दलित समुदायले एक छाक खाएर छोरा छोरीलाई उच्च शिक्षा सम्म पढाएका छन। रोजागरी नपाउदा अधिकांस भारतमा दरवान र कुल्ली बनेर कार्य गर्दै आएका छन।

युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्नका लागि पार्टीले नहेरेको पार्टीका दलित अगुवाहरुको गुनासो छ। ‘परम्पारगत सीपलाई आधुनिकिकरण गरेपनि धेरै जनालाई रोजगारी दिन सकिन्छ’  शुक्लाफाँटा नगरपालिका दलित संघका सचिव नरेश चुनाराले भने, ‘विना धितो, विना व्याज ऋणको व्यवस्था गरिए पनि उद्यम गर्न चाहने दलित समुदायको उत्थान हुन सक्दछ।

 विपक्षमा बसेको पार्टीले सरकारलाई दलित समुदायको जीविकोपार्जनका योजना ल्याउनका लागि सुझाव दिन सक्छ तर त्यो समेत हुन सकेको छैन।’ दलित समुदायका लागि संविधानमै  घर जग्गाको व्यवस्थागर्ने कुरा उल्लेख भएपनि त्यो समेत लागु हुन नसकेको उनको भनाई रहेको छ।

 दलित अगुवाहरुको एउटै भनाई छ, ‘पार्टीका हरेक नेतृत्व तहमा समावेशी सिद्धान्तका आधारमा दलितको सहभागीता सुनिश्चित हुनुपर्छ। त्यसका लागि पार्टीमा क्रियाशील दलित समुदायका बढीभन्दा बढी व्यक्तिहरुलाई क्रियाशील सदस्यता उपलब्ध गराउनुपर्छ।’    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.