अबदेखि पिसिआर गरेकाको बायोमेट्रिक रेकर्ड हुने

|

काठमाडौं :  विदेश जाने नागरिकलाई उपत्यकाका केही निजी प्रगोगशालाले स्वाब नै संकलन नगरी र स्वाब संकलन गरे पनि परीक्षण नै नगरी  नेगेटिभ रिपोर्ट बनाइदिएको आरोप लागेको थियो।  

पर्यटन मन्त्रालयको अनुरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको नतिजामा देखिएको गडबडीबारे जाँचबुझ गर्न छानबिन समिति बनाएको थियो। तर उक्त समितिले भने उपत्यकाका कुनै पनि प्रयोगशालाले त्यस्तो नक्कली रिपोर्ट दिएको निष्कर्ष निकालेको छ। ​

पर्यटन मन्त्रालयको अनुरोधमा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा मुकुन्द गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

सो समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रयोगशाला विज्ञ बलराम गौतम सदस्य रहेको समितिले यसअघि छानबिन गरेको थियो।

छानबिन समितिलाई २४ घण्टाभित्र सत्यतथ्यसहित प्रतिवेदन बुझाउन भनिएको थियो। समितिले शुक्रबार साँझ प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो। छानबिन गर्दा यसअघि लगाइएको आरोपजस्तो नपाइएको छानबिन समितिका एक सदस्यले बताए।

ती सदस्यले भने, ‘सबै रिपोर्टलाई रेकर्डसँग दाँजेर अध्ययन गर्दा हामीले त्यस्तो गल्ती गरेको पाएनाैं।‘

ती सदस्यका अनुसार पिसिआर परीक्षण गरेका भनिएका व्यक्तिको बायोमेट्रिक रेकर्ड नहुँदा त्यही व्यक्तिको परीक्षण गराएको हो वा अरुकै गरिएको भन्ने पत्ता लगाउन सकिएन। 'त्यसैले अबदेखि विदेश जानेको परीक्षण गर्दा बायोमेट्रिक सिस्टममा रिपोर्ट राख्न सुझाव दिएका छौं,' उनले भने।

यसअघि युएई तथा हङकङलगायत देशमा उडान भरेका नेपाल एयरलाइन्सलाई नक्कली पिसिआर रिपोर्ट बनाएका यात्रु बोकेको भन्दै ती देशमा उडान गर्न प्रतिबन्ध लगाइएको थियो।

नेपाल नागरिक उड्यन प्राधिकरणले प्रतिबन्धमा पार्ने अवस्था नेपालका केही निजी प्रयोगशालाबाट आएका रिपोर्टको कारण भएको निस्कर्ष निकालेको थियो। लगत्तै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई छानबिन गरिदिन आग्रह गरेको थियो।

यसअघि नेपाल एयरलाइन्सले ह्याम्स अस्पताल पिसिआर ल्याब, स्टार अस्पताल ल्याब, सूर्या हेल्थ केयर ल्याब र सेन्टर डाइग्‍नोस्टिक ल्याबबाट परीक्षण गरी उडेका व्यक्तिमा विदेशमा पुनः जाँच गर्दा पोजेटिभ देखिएको भन्दै छानबिन गरिदिन स्वास्थ्यलाई पत्र पठाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.