|

कञ्चनपुर : भीमदत्त नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने अनुमति पाएको छ। महाकाली उप-प्रादेशिक अस्पतालसँगको साझेदारीमा नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति पाएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटीई) ले भीमदत्त नगरपालिकालाई डिप्लोमा तहका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ। 

शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयको सिफारिशमा भीमदत्त नगरपालिकालाई प्राविधिक विषयका कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ।

भीमदत्त नगरपालिका र महाकाली उप प्रादेशिक अस्पतालले प्राविधिक शिक्षालय सञ्चालनका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेका थिए। शिक्षा विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणी पोखरेलका सल्लाहकार जीवन गौतमले भीमदत्त नगरपालिकालाई प्राविधिक शिक्षा सञ्चालन अनुमति पत्र हस्तान्तरण गरेका छन्।

नगर प्रमुख सुरेन्द्र विष्टले आर्थिक रुपमा प्राविधिक शिक्षा आर्जन समस्या हुने समुदायलाई लक्षित गरी नगरपालिकाले महाकाली उप प्रादेशिक अस्पतालसित साझेदारीमा प्राविधिक सञ्चालन गर्न लागेको बताए।

‘प्राविधिक शिक्षा आज सबैको आवश्यकता हो, शासन व्यवस्था फेरिएसंगै शिक्षा पनि समय अनुसार फेरिनु पर्छ’ उनले भने,‘ प्राविधिक शिक्षालाई विकास र विस्तार गर्न शिक्षालय सञ्चालन गर्ने प्रयत्न अघि बढाएका छौ, त्यसका लागि सबैको सहयोगमा यसलाई अघि बढाएका छौँ।’

सिटीइभीटीको मापदण्ड अनुसार प्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया अघि बढाइने नगर प्रमुख विष्टले बताए। ‘अब यसमा फोकस हुने गरी काम अघि बढाउँछौ’ उनले भने,‘अस्पताल सहित अरु सबै सरोकारवालासित समन्वय र सहकार्य अघि बढ्छौँ।’

मन्त्रालयको सिफारिश यस वर्ष सुदूरपश्चिममा भीमदत्त नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकालाई प्राविधिक शिक्षालय सञ्चालनको अनुमति दिएको हो।

भीमदत्तले सञ्चालन गर्ने महाकाली प्राविधिक शिक्षालयमा नर्सिङ्ग सहितका सात कार्यक्रम सञ्चालन गरिने भएका छन। त्यसमा समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक, अप्थाल्मिक साइन्स र फार्सेसीका कार्यक्रम सञ्चालन गर्ने स्वीकृति दिइएको छ।

नगरपालिकाको पूर्ण लगानीमा सञ्चालन हुने प्राविधिक शिक्षालय सञ्चालनका लागि गत कार्तिक २६ गते स्वीकृति दिने निर्णय गरिएको थियो।

स्वीकृति पत्र हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलका सल्लाहकार गौतमले प्राविधिक शिक्षा सञ्चालनबाट सुदूरपश्चिम प्रदेशमा प्राविधिक जनशक्तिको खाँचो हल हुने विश्वास व्यक्त गरे।

‘प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ, भीमदत्त नगरपालिकामा सञ्चालन हुने प्राविधिक शिक्षाबाट जनशक्ति उत्पादन भएर खाँचो पूर्ति हुन्छ’ उनले भने।

सल्लाहकार गौतमले सरकारले प्राविधिक शिक्षा विस्तार गर्ने क्रममा विद्यालय शिक्षामा प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अघि बढेको बताए।

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये भीमदत्त र अमरगढी नगरपालिकाले यस वर्ष प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेका हुन। भीमदत्त नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाइने बताए।

‘भौतिक समाग्रंी तथा मेशिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रम बजोमि गुणस्तरिय प्रशिक्षकका लागि नगरपालिका व्यवस्था गरी अघि बढ्छ’ उनले भने,‘ अस्पतालसित सहकार्य गरी अर्को वर्षदेखि कक्षा सञ्चालन गर्छौ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडकाले भीमदत्त नगरपालिकाले प्राविधिक शिक्षालयलाई नमूना शिक्षालयका रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए।

‘स्थानीय तहसंगको साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन कार्यक्रम एकदैम राम्रो हो’ सभासद् खड्काले भने,‘यो कार्यक्रम नमूनाका रुपमा अघि बढ्नु पर्छ, किनकी पहिलो पटक हो, राम्रो भए राम्रो र नराम्रो सन्देश जान्छ, त्यसैले नमूना हुने गरी सञ्चालन गरिनु पर्छ।’

संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्टले भीमदत्त नगरपालिकाले रणनीतिक र दिर्घकालिन महत्वका योजना अघि सारेको उल्लेख गर्दै प्राविधिक शिक्षालय पनि त्यसैको निरन्तरताको रुपमा आएको बताए।

‘यो भीमदत्तको नयाँ प्रयास हो, यस अघि पनि भीमदत्तले रणनीतिक महत्वका योजना अघि बढाएको छ’ उनले भने,‘अरु तहले पनि कार्यक्रम त गरेको छन्, तर भीमदत्तको दिर्घकालिन र रणनीतिक महत्वका योजनामा यो एउटा थप कार्यक्रम कार्यक्रम हो।’ संविधान सभा सदस्य भट्टले नगरपालिकाले छिटो भन्दा छिटो शिक्षालय सञ्चालन गर्नु पर्नेमा जोड दिए।

महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले कमजोर आर्थिक अवस्था भएका समुदायले शिक्षालयबाट लाभ लिन सक्ने बताए। ‘आर्थिक लगायतका विभिन्न कारणले पढ्न नपाउने अवस्था यसबाट अन्त्य हुन्छ’ उनले भने। उनले शिक्षालय सञ्चालन प्रक्रियालाई अवरोध पुगाउने कार्य समेत हुन थालेको बताए।

महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि स्वीकृति पाएका सबै कार्यक्रममा ४०÷४० जनाका कोटा छन। चिकित्सा शिक्षा आयोगबाट अन्तिम पत्र आएपछि कार्यक्रम सञ्चालनका सबै  प्रक्रिया पूरा हुने भएका छन। त्यसका लागि मन्त्रालयलले आयोगलाई पत्र पठाइ सकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.