गुनासो सुन्‍न डाइरेक्ट कलदेखि पेटिकासम्म

|
फोटोहरु : बागमती प्रदेश प्रहरी कार्यालय, डिआइजी वसन्त लामा, गुनासो संकलन गर्न  पेटिका  हेटौंडा उपमहानगरका मेयर हरिबहादुर राउत र डिआइजी लामा

हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायव महानिरिक्षक बसन्त लामा आएदेखि प्रहरीमा देखिएको कमजोरी सुधार्न लागिपरेका छन्। केही समयअघि प्रहरीमा हुने भ्रष्ट्राचार रोक्न नक्कली सेवाग्राही बनेर घुस लिने प्रहरी समातेर चर्चामा आएका लामाले अहिले जनताको गुनासो संकलनमा ध्यान दिन थालेका छन्।

नेपालमै पहिलो पटक बागमती प्रदेशका स्थानीय तहमा प्रहरी कर्मचारीको लागि गुनासो संकलन गर्न गुनासोपेटिका राखेका लामाले अब जनतासँग सीधै सम्पर्क गर्न फोननम्बर समेत दिएका छन्। 

३१ स्थानीय तहबाट प्रहरीलाई गुनासो

बागमती प्रदेशको ३१ वटा स्थानीय तहमा राखिएको गुनासो पेटीबाट गुनासो तथा सुझावहरु संकलन भएको छ। गएको कात्तिकमा बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुसँग परेको सम्बन्धित गुनासो तथा सुझाव संकलन गरेको हो।

प्रदेश प्रहरी कार्यालयले चितवनबाट २ वटा, मकवानपुर, दोलखा, सिन्धुलीबाट एक/एक वटा गरी ५ वटा गुनासो संकलन गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

बागमती प्रदेश प्रहरी कर्यालययले आम नागरिकबाट प्राप्त सल्लाह, सुझाव तथा गुनासोलाई संकलन गरेर प्रदेश प्रहरी कार्यालयमा ल्याउने र त्यसको कार्यान्वयन गर्ने गरिएको छ। यसअघि असोजमा प्रदेश प्रहरी कार्यालयले मकवानपुर र धादिङबाट ६ वटा गुनासो संकलन गरेर त्यसको कार्यान्वयनसमेत भएको गिरीले जानकारी गराए। 

प्रदेशका सबै वडामा गुनासोपेटिका 

गिरीका अनुसार  बागमती प्रदेश प्रहरी कार्यालयले प्रथम चरणमा असोज १ गतेदेखि प्रदेशको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिकाको ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको थियो।

यस्तै दोस्रो चरणमा अब ६७ वटा गाउँपालिका र तेस्रो चरणमा बागमती प्रदेशका ८ सय ७४ वटै वडामा गुनासो तथा सुझाव पेटिका राखिने भएको छ। आम नागरिक तथा स्थानीय तहका नागरिकले बागमती प्रदेशका कुनै पनि प्रहरीसँग गुनासो भए सुझावपेटिका तथा सोझै प्रदेश प्रहरी प्रमुखसँग पनि सम्पर्क गर्न सकिने जनाइएको छ। 

डिआइजीसँग प्रत्यक्ष सम्पर्क 

बागमती प्रदेश प्रहरी प्रमुख (डिआइजी) सँग प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम आइतबारबाट सुरु भएको छ। प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीलाई पेसागत रुपमा जिम्मेवार बनाउन तथा तोकिएको जिम्मेवारी उच्च मनोबलका साथ सम्पादन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन गर्न र उचित सुझावलाई कार्यान्वयनमा ल्याउन प्रदेश प्रहरी प्रमुखसँग प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम सुरुवात गरिएको हो।

कार्यक्षेत्रमा विभिन्न जिम्मेवारीमा खटिएका प्रहरीले आफूले भोगेका समस्या, चुनौती तथा पीरमर्का र गुनासो साथै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन राय सुझाव संकलन गरी उचित सम्बोधनका लागि प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम सञ्चालनमा लागिएको उपरीक्षक गिरीले बताए।

प्रहरी कार्यालय सहयोगीदेखि उच्च तहका प्रहरी अधिकृतसम्म प्रहरी कर्मचारीलाई निश्चित समय र बार निर्धारण गरी टेलिफोन संवाद कार्यक्रम संचालन गरिएको उनको भनाइ छ।

कार्यक्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको क्षमता प्रदर्शनमा मनोबल वा मनस्थितिको प्रमुख भूमिका रहने भएकोले प्रहरी कर्मचारीको मनोबल वा मनस्थितिलाई सकारात्मक बनाउन उनीहरुमा रहेको समस्या वा गुनासोको उचित सम्बोधन हुनु जरुरी भएको उनले जानकारी दिए।

कार्यक्रमले प्रहरी कर्मचारीहरुको गुनासो वा समस्या मात्र सम्बोधन नगरी कार्यरत प्रहरी कर्मचारीहरुको कार्य सम्पादनको अवस्थामा सुधारका लागि अपेक्षित राय सुझावसमेत संकलन गर्ने लक्ष्य लिइएको छ।

दर्जागत रुपमा निर्धारण गरीएको समय र बारअनुसार प्रहरीले आफूलाई प्रदान गरीएको समयमा प्रदेश प्रहरी प्रमुखको कार्यालयको नम्बर ९८५५०८४४४४ मा सम्पर्क गरी आफ्नो गुनासो तथा सल्लाह सुझाव राख्न सक्ने गिरीले जानकारी दिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.