|

भद्रपुर (झापा) : झापाको सीमामा पर्ने गौरीगञ्ज गाउँपालिका –२ दरियालबस्ती नजिकै कनकाई माईको किनारमा रहेको १९ नम्बर सीमास्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको छ। स्थानीयले भारतीय एसएसबीले भत्काएको अवस्थामा सीमास्तम्भ फेला पारिएको जानकारी दिएका छन्‌।

केही दिनदेखि सो क्षेत्रमा चहलपहल बढाइरहेको एसएसबीको टोली ​हातहतियारसहित प्रवेश गरेर सीमास्तम्भ भत्काइ फर्किएको स्थानीयले बताएका छन्‌। १३/१४ जनाको समूहमा आएको एसएसबीले १९ नम्बरको पिलर भत्काएर काँसले छोपेर गएको स्थानीय जेठा मुर्मुले बताए। उनले स्तम्भ सार्नकै लागि एसएसबीले फुटाएको आशंका गरेका छन्‌।

गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका मुर्मुले भने, ‘एसएसबीले नेपाली भूमिमा प्रवेश गरी कसैलाई जानकारी नदिई पटक-पटक अनुगमनका नाममा आएर फर्किन्छ, सोहीबेला यस्तो घटना भएको छ।’

सीमा अतिक्रमणका लागि १४३ (३) नम्बरको पिलरदेखि नेपालतर्फ नयाँ खाल्डो समेत खनेको अवस्थामा फेला परेको छ। पिलर सार्नकै लागि नयाँ खाल्डो खनिएको स्थानीयको दाबी छ।

गत वर्ष गौरीगञ्जको पिण्डालभुटुस्थित बुद्धिलाल हेमरमको आँगनमा आएर एसएसबीले सीमा स्तम्भ गाडेका थिए। त्यसैको एक वर्षपछि फेरि एसएसबीले स्तम्भ सार्न चहलपहल बढाएको स्थानीयवासीहरू बताउँछन्।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेका अनुसार सीमा स्तम्भ अवस्थामा फेला परेको छ। सीमास्तम्भ भत्काएको थाहा पाएपछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो।

सशस्त्र प्रहरीसँगै भारतीय एसएसबीको पनि उपस्थिति रहेको,तर, सीमास्तम्भ  कसले भत्काएको भन्‍ने विषयमा एसएसबी पनि अनभिज्ञ रहेको प्रतिक्रिया आएको पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.