|

बर्दिया : विगतका वर्षहरूमा तिहार आउनु झण्डै १५ दिन अघि समुदायमा उत्साह र उमङ्‌ग छाउँथ्यो। दशैँको रौनक सकिन नपाउँदै स्थानीयवासी तिहारको रमझममा जुट्थे। तर, यस वर्ष भने त्यसो हुन सकेन। कारण हो : जारी कोरोना महामारी। 

पछिल्लो समय विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाका कारण बर्दियाका थारू तथा नेपाली समुदायका बस्ती सुनसान बनेका हुन्। यस वर्षको तिहार गएको वर्षमा जस्तो रमाइलो नभएको स्थानीयले बताएका छन्। महामारी फैलिँदै गएकाले सावधानी अपनाउँदै स्थानीयले जसोतसो गरी चाडपर्व मनाएका हुन्‌। 

'अघिल्ला वर्षका तिहारमा देउसी-भैलोको रमझम हुन्थ्यो, विभिन्न टोलीहरू विभिन्न पहिरन लगाएर घरघरमा भैलो खेल्न आउँथे, निकै रमाइलो लाग्थ्यो,' ठाकुरबाबा नगरपालिकाका एक स्थानीयले भने, 'तर अहिले कोरोना महामारीका कारण त्यो माहोल बनेन।'  

ठाकुरबाबा नगरपालिकाकै अर्का स्थानीय युवा निराजन उपाध्यायले भने, 'तिहारमा सबै साथीहरू जम्मा भएर रमाइलो गरी देउसी-भैलो खेलिन्थ्यो, आफ्नो मौलिक परम्परा झल्काउने अवसर मिल्थ्यो, तर अहिले भने त्यो परिस्थिती रहेन। त्यसकारण घरमै बसेर सुरक्षित साथ तिहार मनाएका छौं। धेरै स्थानीयलाई अहिलेको तिहार रमाइलो लागेन।'

सुनसान बनेथारू गाउँ

दशैँदेखि तिहारसम्मको एक महिना रातभर हुर्दंगवा र सखिया नाचले गुञ्जायमान हुने थारू गाउँ यसपालि भने सुनसान रह्यो। कोरोनाका कारण जमघट हुन नसक्नु र मनोरञ्जनमा सरकारी रोकले गर्दा थारू गाउँमा यसपालि न मादल बज्यो, न सखिया नाचियो।

हरेक वर्ष दशैँदेखि तिहारसम्मको एक महिना आफूहरू गाउँमा मन्द्रौहा नाचसँगै सखिया नाचेर रमाइलो गर्ने गरेको बताउँदै बर्दियाका स्थानीय गुञ्जमान थारूले भने, 'यसपालि भने दशैँ–तिहारमा न मादल बजाइयो, न त हुर्दंगवा र सखिया नै नाचियो।' 

थारू समुदायमा वर्षभरि खेतिपातीमा व्यस्त हुने र दशैँदेखि तिहारसम्मको एक महिनाको रातभरि गाउँघरमा रमाइलो गर्दै नाच नाच्ने चलन रहेको छ। कोरोनाका कारण यसपाली थारू गाउँमा मादलसमेत नबजेको र दशैँदेखि तिहारसम्मको एक महिनामा सखिया र हुर्दंगवा नाच पनि ननाचिएको गुञ्‍जमानले बताए।

खेलिएन देउसी-भैलो

गएका वर्षहरूका तिहारमा देउसी-भैलोको रमझम हुन्थ्यो, देउसे टोलीहरू घरघरमा विभिन्न पहिरनमा नाचगानसहित देउसी-भैलो खेल्न आउँथे।

​तर, यसपटक त्यसो हुन सकेन। अधिकांशले यस वर्ष विगतको तिहारलाई निक्कै सम्झना गरेका छन्। अहिले कोरोना महामारीका कारण गाउँघर अनि शहर-बजार सुनसान जस्तै बने। 

बर्दियामा विगतका वर्षहरूमा तिहारका समयमा विभिन्न टोलीहरू १ महिना अघिबाटै देउसी-भैलोको तयारी गर्थे। पढाइ तथा कामको शिलशिलामा गाउँबाट बाहिर गएकाहरू चाडपर्वमा गाउँ फर्किन्थे। रमाइलो जमघट हुन्थ्यो। 

मौलिक परम्पराको देउसी-भैलो खेलिन्थ्यो। गाउँ-शहर भैलीको माहोलमा गुञ्जायमान हुन्थ्यो। ३ दिनसम्म पहाडी समुदायको देउडा समेत गाएर रमाइलो गरिन्थ्यो। तर यस वर्ष त्यो सबै देख्न पाइएन। सबै घरमै भएपनि देउसी-भैलो खेलेनन्। 

कोरोना कहरलाई मध्यनजर गर्दै यस वर्षको तिहारलाई बिदा गरेको मीना रिजालले बताइन्। यस्तै, देउसी-भैलो खेलिसकेर भरिभराउ हुने  बर्दियाका पिकनिक स्थलहरू पनि यो वर्ष सुनसान देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.