|

दमक (झापा) : नेपालीहरूको बाक्लै बसोबास रहेको भारतको पूर्वोत्तर राज्य मणिपुरमा बाल्यकाल बिताएका अशोक पाठकलाई त्यहीँ छँदा कलाकारिताको रस पसिसकेको थियो।

मणिपुरको राजधानी इम्फालमा रहेको ताइनिटोक्स स्कुलमा कक्षा–६ सम्म पढ्दा त्यहाँ हुने नाचगानहरूमा आफूलाई उभ्याउन थालिसकेका थिए। त्यसबेला भारतीय सिनेमामा अमिताभ वच्चन, हेमामालिनी, दिलीपकुमार, धर्मेन्द्र लगायतका स्टार चम्किएका थिए। सिनेमाका अम्मली बनिसकेका उनलाई त्यस्तै कलाकार बन्ने भुत सवार हुँदै गर्दा उनी नेपाल बसाई सरे।

बुबा पर्शुराम र आमा चन्द्रादेवीका जेठा छोरा उनी। बुवा आमाले २०२७ सालतिरै झापाको दमकमा आएर जग्गा जमिन जोडिसकेका थिए। तर, आउजाउ चलिरहेकै कारण केही वर्ष उनी मणिपुरमै रहे। बुवा भारत छँदैदेखि व्यापारमा रमेका कारण नेपालमा आएर पनि उनले त्यहि रोजे। जसका कारण पनि उनलाई बाल्यकालमा आर्थिक अभाव रहेन।

नेपाल आएपछि पनि उनको पढाई धरानको धरान सेकेण्डरी स्कुलमा भयो। ७ र ८ कक्षा त्यहाँ पढ्दा पनि उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा अग्रसर हुन्थे। दमकको हिमालय माविबाट २०३६ सालमा सेकेण्ड डिभिजनमा एसएलसी पास गरेपछि भने दोस्रो पटक अध्ययनकै लागि धरान पुगे र हात्तीसार क्याम्पस भर्ना भए। २ वर्षे आइएपछि काठमाडौंको रत्नराज्य क्यापसमा बिएका लागि भर्ना हुँदै गर्दा उनलाई कलाकार बन्ने चाहनाले अध्ययनलाई दोस्रो प्राथमिकतामा राखिसकेको थियो। 

प्रिन्सिपल छोडेर नाटक

२०४० सालतिर काठमाडौ टोखाको एउटा बोर्डिङको प्रिन्सिपल भएर सयम बिताउँदै गर्दा उनी अरू काम छोडेर पनि नाटक हेर्ने जान्थे। जागिरले डेरा भाडा र खाना खर्च पुगि हाल्थ्यो। आर्थिक चिन्ता थिएन।

त्यसबेला नीर शाह, अशेष मल्ल, हरिहर शर्मा, लय संग्रौला, कृष्ण मल्लहरूको नाटकमा बोलवाला थियो। २०४२ सालतिरका दिन सुनाए उनले–‘कसो कसो गरेर मेरो भेट सूर्यनाथ शर्मा सरसँग भयो। उहाँ त्यसबेला नाट्य क्षेत्रका गुरुका रूपमा चिनिनु हुन्थ्यो। उहाँसँग मैले नवरसका बारेका केही सिकेँ र त्यसपछि हिमालय कल्चर एशोसिएसनसँग जोडिन पुगेँ।’

नाटक र कलाकारितामा कलाकारको रूपमा स्थापित हुनुअघि नै उनी त्यहाँ प्रशिक्षकको रूपमा काम गर्न थाले। उनमा अनुभव मणिपुर र धरानमा गरिएका केही सानातिना नाटक र आफ्नै सीप र ढंगले स्टेजमा नाचेको मात्र थियो। त्यहाँ प्रशिक्षकको रुपमा काम गरे पनि उनलाई अझ बढि स्वतन्त्र रुपमा काम गर्ने हुटहुटी जागि रह्यो। अनि हिमालय कल्चर एशोसिएसनको आबद्धता पनि तोडियो।

 

अवसर नपाउँदाको आक्रोश

उनलाई त्यसबेला चल्तीका कलाकारसँग चिनजान थिएन। फिल्महरू साह्रै थोरै मात्र बन्ने र त्यस क्षेत्रमा पनि कोही नचिनेका। तर, पनि कलाकार त बन्नु नै थियो। त्यसमाथि प्रशिक्षक भएर काम गर्दा काठमाडौंमा कसरी टिक्ने भन्ने हिम्मत पनि बढेकै थियो। त्यसैले २०४२ सालतिर उनकै अध्यक्षतामा खडा भयो–नवप्रतिभा नाट्यशाला। त्यो २०४९ सम्म रह्यो। 

आफ्नै भाइ रमेश, आफ्नै ठाउँका आकाश थापा अनि केहि वीरगञ्ज, पोखरा, भोजपुर लगायतका ठाउँका साथीहरूको जमघट भयो। ‘हामी नयाँ कलाकारहरू जुटेर आफ्नै ढंगले नाटक गर्ने गरि नयाँ समुह बनाइयो। त्यसमा केही समयपछि नारायण पुरी, हेमन्त बुढाथोकीहरू पनि जोडिन आइपुगे’ स्वतन्त्रताको खोजी गर्दै सुरु गरेका संघर्षका दिन सुनाउँदै उनले थपे–‘अनि हामी केही तन्नेरीहरू मिलेर आफू-आफू नाटकको अभ्यास गर्न थाल्यौं।’

टिकट बेचेर नाटक

पञ्चायत सशक्त थियो। स्वतन्त्र रुपमा कलाकारिता पनि फस्टाएको थिएन। व्यावसायिक भइसक्ने त कुरै भएन। केही नाट्य समूहले विभिन्न दूतावासको सहयोग पनि पाउँथे। तर, उनीहरूको समूह नयाँ थियो। त्यसबेला उनीहरूले हिम्मत गरे।

सुरुवाती दिनका हिम्मत सुनाउँदै उनले भने,‘म आफैँ समूहको अध्यक्ष थिएँ, त्यसैले व्यवस्थापकीय काममा धेरै समय दिनुपर्‍यो। त्यसैले मनहरी भण्डारी नामका साथीले नाटक निर्देशन गरे। म कलाकारका रुपमा थिएँ। तर त्यस बेला पनि हामीले टिकट बिक्री गरेर नाटक देखाएका थियौं। जनता नामको सो नाटकले हामीलाई सुरुवातका दिनमा भए पनि धेरै नाटक प्रेमी र हामीभन्दा अग्रजहरू सम्म चिनाउन धेरै सहयोग गर्‍यो।’ 

त्यसबेला उनी अशोका नामबाट नाटकमा काम गर्थे। धेरै कलाकारहरूले उपनाम राख्ने प्रचलनको प्रभाव थियो उनमा पनि। पहिलो नाटकले नै हौसिएका उनको कलाकारिताको गियर थप अघि बढ्यो। त्यस पछि पोखरामा नाट्यकर्म गरि रहेका अनुप बराल, अघिल्लो पुस्ताका सरुभक्त लगायतसँग सम्पर्क भयो।

‘पैचो मायाँको विश्वास’ नाटक लिएर पोखरा पुगे। ‘कविको मृत्यु’,  ‘झुठो रहेछ गीता पनि’ लगायतका नाटकहरूबाट उनी एउटा उम्दा कलाकारको रुपमा स्थापित भए। २०४५ सालको नाटक मेलामा निर्देशक र कलाकारको रुपमा सहभागिता जनाएका उनले २०४७ सालको दोश्रो नाटक मेलामा गणेशमान सिंह, गोविन्द मल्ल गोठाले, पारिजात लगायतबाट आरोहण सम्मान पाउँदा आफ्नो जीवननै नाटक मात्रै हो भन्ने सोचि सकेका थिए।

आफ्नै ठाउँ दमकमा मनबहादुर मुखीयाद्वारा लिखित नाटक ‘असत्यम, अशिवम्, असुन्दरम्’ को निर्देशकको रुपमा लिएर जाँदा पनि राम्रो प्रशंसा बटुले। त्यससँगै देशका विभिन्न भागमा उनको टोली नाटक लिएर गयो।

 

टेलिभिजनपछि बाटो मोडियो

​२०४६ सालको परिवर्तनपछि नेपाल टेलिभिजनमा पनि टेलिफिल्महरू बन्ने क्रमले तीव्रता पायो। रंगमञ्चमा स्थापित भइ सकेका नीर शाहकै अग्रसरतामा स्थापित टेलिभिजनमा ‘श्री’ समूह तथा नीर शाहकै समकालीनहरूले पहिलो अवसर पाए।

त्यसपछि दोस्रो छिमलका नाट्यकर्मीहरूको टेलिभिजन प्रवेशका क्रममा भने उनी पनि मिसिए। ‘टेलिभिजनमा टेलिफिल्महरू बन्न थालेपछि धेरै रंगकर्मी त्यसैतर्फ आकर्षित भए’ तीन दशक अघिका दिन सम्झँदै उनले भने–‘देशमा नयाँ परिवर्तन, देशमा भित्रिको नयाँ प्रविधि सवैको आकर्षण त हुनेने भयो। त्यस पछि मेरो नाट्यक्रम पनि सुस्त सुस्त हुँदै गयो।’ टेलिभिजन तर्फ उनको आकर्षण, केहि साथीहरू सिनेमामा व्यस्त, केहि विदेश पुगे पछि भने नवप्रतिभा नाट्यशाला पनि छिन्नभिन्न हुन पुग्यो।

टिभी हुँदै भिडियो फिल्म

‘जनैको साँचो’ नामको टेलिफिल्म हुँदै टेलिभिजन क्षेत्रमा प्रवेश गरेका उनले ‘दोषी म’, ‘रक्षा’, ‘कोरस’ लगायतका टेलिफिल्ममार्फत दर्शकसामु उभ्याए। त्यसबेला अलिक बोलवाला भएका कलाकारहरू ठूला सिनेमातर्फ पुगे भने बाँकीको रोजाई बन्यो भिडियो फिल्म।

सिनेमामा नायक हुने सपना देखे पनि पूरा नभएको रहर सुनाउँदा उनी खिन्न पनि देखिए। ‘त्यस बेला एक त फिल्म खासै नबन्ने, बने पनि सबैले अवसर नपाउने अनि अवसर पाउन पनि अभिनय मात्र राम्रो गरेर पनि नपुग्ने। त्यसैले हामीले त्यता अवसर पाएनौं।’ ठूला फिल्ममा अवसर नपाएपछि उनीहरूको समूह भिडियो फिल्ममा व्यस्त भयो।

पहिलो पटक ‘कालो बादल’ भिडियो फिल्ममा खलपात्रका रुपमा उदाएपछि भने उनलाई आफ्नो लेखन र साथी नारायण पुरीको निर्देशन भएको ‘आई लभ यू’ मा नायक बनेर रोमान्स गर्ने मौका मिल्यो। त्यस पछि अर्को एक भिडियो फिल्म बने पनि रिलिज हुन सकेन। त्यसपछि उनलाई केही ठूला पर्दाका चलचित्रबाट पनि अफर आयो। ‘अफर त आउँथ्यो तर कि त भिलेन कि छोटो रोल’ ठुला पर्दाको अवसर गुम्नुको कारण उनले भने–‘आफूलाई हिरो हुने रहर भिलेनको रोल त गर्दिन भन्ने लाग्यो त्यसैले गरिन।’

घरजमसँगै पूर्णविराम

उच्च शिक्षा लिन भनेर काठमाडौ पुगेको छोरो नाचगानमा लागेको देखेर परिवार चिन्तित थियो। बुवा परशुरामले दमकमा पशुपति चिउरा मिल स्थापित गराई सकेका थिए।

दमक उद्योग वाणिज्य संघ स्थापनामा अग्रसरता लिएका उनलाई आफ्ना सन्तानले पनि व्यवसायनै चलाई देओस भन्ने थियो। फेरि अशोक परिवारको जेठो छोरा। बिवाह गर्ने उमेर पनि भएकाले घरबाट पटक पटक आग्रह भइ रह्यो। ‘उता मेरो करियरको ग्राफ चढि रहेकै बेला घर आइयो। २०४९ सालमा विवाह गरियो त्यस पछि कलाकारिता त पूर्णबिराम लागे जस्तै भयो’–आफ्ना बुवाले स्थापना गरेको व्यवसाय चलाई रहेका उनले भने–‘पछि एउटा फिल्मको डविङ्का लागि त गएँ तर नयाँ काम त्यस पछि केहि हुन पाएको छैन।’

अबको रहर

कलाकारिताबाट अलग भएको पनि तीन दशक हुन लाग्यो। यस बिचमा उनले आफ्ना सन्तानहरु हुर्काई सके। व्यवसाय पनि स्थापित भयो। साढे ५ दशकको उमेर भए पनि ज्यान हट्टा कट्टा छ। नियमित कसरत गर्छन् र स्वास्थ्यमा पनि सजग छन्। अहिले पनि उनको शारीरिक मात्र होईन मानसिक स्फूर्ति पनि हराएको छैन। उहि पुरानो कलाकारिताको भुतले बेला बेला व्यँझाई रहन्छ।

बाँकी रहरका बारेमा उनले भने–‘अझै पनि राम्रो रोल पाए त गर्ने विचार छ तर फ्रिमा होईन व्यवसायीक रुपमा। ’ सिनेमा भन्दा पनि रंगमञ्चमा अझै उदाउने रहर पालेका उनले भने–‘ग्याप लामो त भएकै हो तर कलाकार त बुुढो हुँदैन नि , त्यसैले फेरि अवसर मिलेमा एक पटक इन्ट्री मार्ने विचार छ। अहिलेको नयाँ पुस्तासँगाकाम गर्न पाउँदा पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने लागेको छ।’

जे भो, राम्रै भो

आफूले कलाकारिता छोडेको ३ दशक हुन लाग्दा समेत अझै कलाकारिता व्यवसायीक हुन नसकेको प्रति उनको चिन्ता पनि छ। आफूले संघर्ष गर्दै गर्दा कलाकारितामा लागेर परिवारले गरेको चिन्ता सहि रहेछ भन्ने उनले अहिले बुझे।

कयौं कलाकार जीवन भरि कलाकारितामा मात्रै लागे पनि स्वास्थ्य उपचार गराउन समेत कठिनाई भोग्नु पर्ने बाध्यता देख्दा सुन्दा उनी भन्छन्–‘बेलैमा रंगीन दुनीयाँ छोडीयो, जे भो, राम्रो भो।’

परिवारको ईच्छा विपरीत उनी कलाकारितामा लाग्दा जसरी परिवारले पछुतो मानेन, त्यसै गरि आफ्नो ईच्छा विपरीत कलाकारिता छोड्नु परेकोमा पनि उनलाई पछुतो छैन। तर रहर छ, फेरि पनि रङ्गमञ्च वा सिनेमामा एक पटक रमाउने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.