|

भद्रपुर, (झापा) : वैदेशिक रोजगारीलगायत अन्य पेसा छाडेर अहिले झापामा कृषि पेशातर्फ आकर्षण बढेको छ। कृषकहरू व्यावसायिक खेतीमा आत्मनिर्भर बन्न खोजिरहेका छन्।

तर, कृषि पेसामा लाग्ने कृषकहरू कृषि प्राविधिक अभावकै कारण समस्या झेल्न बाध्य बनेका छन्। बोटबिरुवा लाग्ने अज्ञात रोग र कीराका कारण किसानहरूले बर्सेनि लाखौँ रुपैयाँ रकम नोक्सानी ब्यहोरिरहेका छन्‌। 

खेती तथा विभिन्न कृषिजन्य वस्तुमा लाग्ने रोग–कीरा र तिनको निदान बारे कृषकलाई पर्याप्त जानकारी नहुँदा र समस्या समाधानका लागि समयमै प्राविधिक नभेट्टाउँदा कृषकको लगानी नै डुब्ने अवस्था पुगेको उनीहरू बताउँछन्। जिल्लामा कृषकले केरा, कागती, सुपारी, मेवा तथा व्यवसायीक कृषिमा मौरी, कुखुरा, गाई, माछा लगायत पालन गर्दै आइरहेका छन्।

करिब तीन विगाहा जमिनमा केरा खेती गर्दै आइरहेका बाह्रदशी गाउँपालिका कृषक देवी चिमरीया भन्छिन्, ‘लगभग १० कठ्ठा जमिनभित्रका केराका बोटहरू मरिसकेको छ, केही खेती त खोलाले पनि बगायो, अब हामीलाई लगानी उठाउनै समस्या परेको छ, अहिले कोराको गानादेखि नै कुहिएर बोटहरू धमाधम मर्न थालिसकेकोले समस्या समाधानका लागि प्राविधिक पनि भेटाएका छैनौँ।' कुन रोग लागेको हो, त्यो समेत थाहा नपाउँदा समस्या भइरहेको उनले बताइन्।

यहाँ कृषि प्राविधिकको खाँचो रहेको बताउँदै केरा कृषक लक्ष्मीप्रसाद चिमरीयाले भने, ‘अहिलेसम्म हामीले पुराना साथीहरूको अनुभवकै आधारमा खेती गरिरहेका छौँ, माघ आउन लाग्दा बोटहरूमा कीराको प्रकोप बढ्ने भएकोले त्यसको समाधानका लागि हामीलाई अब प्राविधिक नै चाहिन्छ।’ यसको लागि कृषि ज्ञान केन्द्रमा पनि जानकारी गराइसकेको उनले बताए।

त्यस्तै मौरी कृषक देवी दाहाल भन्छिन्, ‘मौरीमा सानातिना रोग लागेमा हामी अनुभवकै आधारमा आफै व्यवस्थापन गर्छौंं, कृषकलाई कम्तीमा राज्यले त हेरिदिनु पर्‍यो, कृषकहरूले कसरी आफ्नो पेसा र उत्पादन गरिरहेका छन् भन्नेबारे तीनै तहका सरकार बेखवर छन्।’ आफूहरूसँग अन्य कुनै विकल्प नभएकाले प्राविधिक आएपनि सरसफाइ र व्यवस्थापन राम्रो गर्न सल्लाह दिएर जाने गरेको कृषकहरू बताउँछन्। 

बोटबिरुवामा कुन रोग र कीरा लागेको हो भनेर पहिचान नगरिदिँदा र त्यसको औषधि समेत पहिचान हुन नसक्दा कृषकहरू थप मारमा परेका छन्। किसान प्रविधिमा अनभिज्ञ भएकै कारण कृषिमा व्यावसायीकरण हुन सकेको छैन। जसले गर्दा करोडौँ रुपैयाँ बराबरका कृषिजन्य वस्तु आयात गर्नुपर्ने अवस्था एकातिर छ भने पछिल्लो समय प्रविधिको प्रयोग गरेर कृषि पेसामा भविष्य खोज्दै गरेका किसान अहिले कृषि प्राविधिक खोज्न बाध्य छन्।

जिल्लामा दरबन्दी छ, प्राविधिक छैनन्‌

संघीय संरचनामा गएपछि अहिले जिल्लामा प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र रहेको छ। कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकको दरबन्दी १० जना तोकिएको छ।

तर, दरबन्दी अनुसार प्राविधिक नरहेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले जानकारी दिए। उनका अनुसार १० औँ तहका एक, आठौँ तहका ६, छठौं तहका दुई र पाँचौँ तहका एक जना स्थायी दरबन्दीका प्राविधिक हुनु पर्ने हो। तर केन्द्रमा तीन जना स्थायी र तीन जना करारका दरबन्दी रहेको उनले बताए।

६ जना प्राविधिकले जिल्लामा आएका अनुदानको कार्यक्रमको मात्र अनुगमन र समस्या बारेमा जानकारी लिने गरेको बताउँदै उनले भने, ’कुनै कृषकको खेतीमा अज्ञात रोग वा कीराको समस्या देखापरेमा त्यो स्थानीय तहका प्राविधिकले हेर्नुपर्ने हो।’

स्थानीय तहहरूमा पनि पाँच प्राविधिकको दरबन्दी तोकिएको छ। तर, जिल्लाको १५ वटै स्थानीय तहमा दरबन्दी अनुसारको प्राविधिक भने छैन। कम्तीमा एकदेखि बढीमा ४ जना सम्म प्राविधिक स्थानीय तहहरूमा रहेको जानकारी प्राप्त भएको उनले बताए।

‘कतै राजनीतिक चलखेलले हटाइएको छ, भने कतै दरबन्दी अनुसार प्राविधिक राखिएकै छैन, जसले कृषकलाई थप समस्यामा पारेकै हो,’ उनले भने। कुनै कृषकलाई प्राविधिककै खाँचो रहेमा पहिला स्थानीय तहमा जानु पर्ने, त्यहाँ पनि सम्भव नभएपछि स्थानीय तहकै सिफारिसमा थप सहयोगका लागि कृषि ज्ञान केन्द्रले प्राविधिक पठाउने नियम रहेको उनले प्रस्ट्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.