|

काठमाडौं :  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ । यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न शुरुआत गरेको हो ।

बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उहाँले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ । 

उनले भने “सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ , दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौँ ।”

समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ ।

विसं २०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड–१९ को सङ्क्रमित ५० हजार र एक लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए। उनका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना सङ्क्रमित भएका छन् । यस्तै एक लाख ९९ हजार २४ जना निको र एक हजार ३२१ जना सङ्क्रमणबाट निधन भइसकेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.