|

इलाम : प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गोठालो र बिनाबर्दीका जनताले जोगाएको सीमा क्षेत्रमा सरकारी निकायको उपस्थितिपछि आपराधिक घटनामा कमी आउने बताए।  

सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थल जौबारी स्थापना भएको सीमा सुरक्षा पोस्ट (बिओपी) उद्घाघाटनपछि उनले स्थानीयबासी र सुरक्षा संयन्त्रको समन्वयले मात्र राष्ट्रियता रक्षा हुने बताए। कार्यक्रममा प्रदेश १ सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम बहादूर मगरले नेपाल भारत सीमा क्षेत्रमा सीमा सडक निर्माण गर्नुपर्नेमा जोड दिए। 

बिओपी उद्घाघाटनपछि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन र उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। तर खराब मौसमका कारण प्रधानमन्त्री चढेको हेलिकप्टर जौवारीमा उत्रन सकेन। प्रधानमन्त्री आउने सूचना पाएर इलाम उत्तरी क्षेत्रका २ हजार बढी जनता त्यहाँ आएका थिए। 

इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल–भारत सीमा क्षेत्र रहेको इलाममा अहिले धमाधम बिओपी स्थापना भइरहेका छन्। पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ, सलकपुर र जौबारीमा बिओपी स्थापना भएपछि इलामको सीमा सुरक्षा मजबुत भएको प्रमुख जिल्ला अधिकारी तुलसी सेडाईले बताए।

कार्यक्रममा प्रदेश सासंदहरु, खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, सशस्त्र प्रहरी बल बराह बाहिनीपति वंशीराज दाहाल, सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई लगायतले मन्तव्य राखेका थिए। वक्ताहरुले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाएसँगै जनताले सुरक्षित महसुस गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.