|

काठमाडौं  :  केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग नगर्न आग्रह गरेको छ। डब्लुएचओको विज्ञ समूहले कोभिड उपचारमा यसको प्रभावकारिता पुष्टि नभएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो।

हालसम्म रेम्डिसिभिरले बिरामी निको पार्ने र स्वास्थ्यमा सुधार ल्याउने कुनै पनि प्रमाण पुष्टि नभएकाले यसको प्रयोग गर्नु आवश्यक नभएकाे डब्लुएचओले बताएको छ। डब्लुएचओ गाइडलाइन डेभलपमेन्ट ग्रुपका अनुसार चारवटा अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी सात हजार मानिसमा गरिएको परीक्षणमा रेम्डिसिभिर प्रयोगले संक्रमितको उपचारमा सहयोग नपुगेको पाइएको बताइएको छ।

यसअघि गत अक्टोबरमा पनि  डब्लुएचओले रेम्डिसिभिर प्रयोगले संक्रमित निको हुने समयमा खासै केही फरक नपाइएको बताएको थियो। त्यसको केही दिनपछि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसेन (एफडिए)ले कोभिड १९ का बिरामीका लागि रेम्डिसिभिर प्रयोग गर्न मिल्ने भन्दै अनुमति दिएको थियो।

डब्लुएचओले कोरोना संक्रममितको उपचारमा  रेम्डिसिभिर औषधि चलाउन उचित नहुने भने पनि नेपालमा भने कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आइएको छ। रेम्डिसिभिर प्रयोगले संक्रमितको उपचारमा सकारात्मकनै प्रभाव देखिएकाले यसलाई निरन्तरता दिइने अधिकारीहरुले बताएका छन्।

सुरुमा क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेम्डिसिभिरले पार्ने प्रभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अन्तिम प्रतिवेदन सार्वजनिक गरिसकेको छैन। तर यसले गरेको यसको प्रारम्भिक रिपोर्टले यसको प्रयोग प्रभावहीन भने नदेखिएको यसको प्रयोग गर्दा लक्षण केही घटाएको पाइएको बताइएको छ।

संक्रमितहरुले उपचार गराइरहेका अस्पतालमा चिकित्सकहरुले बिरामीको अवस्था हेरेर रेम्डिसिभिर प्रयोग उपयुक्त हुने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। उनले भने‚ ‘हाम्रोमा हालसम्म संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोगले संक्रमितको स्वास्थ्य सुधारमा हेल्पफुलनै देखिएको छ। जसले गर्दा संक्रमितको अवस्था हेरेर सम्बन्धित चिकित्सकले प्रयोग गर्न सक्नेछन्।‘ अब परिषद्ले गरेको अध्ययन र त्यसले दिने सुझाव र डब्लुएचओको पछिल्लो धारणालाई थप विश्लेषण गरी आवश्यक निर्णय लिन सकिने तर हाललाई भने संक्रमितको उपचार गरिरहेका चिकित्सकलेहरुले आवश्यक परेको खण्डमा रेम्डिसिभिर प्रयोग गर्न सक्ने प्राडा गौतमले बताए।

नेपाल मेडिकल काउन्सिलले नेपालमा कोरोना संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्न गाइडलाइन तयार पारेको थियो। काउन्सिलले अहिले पनि यसको प्रयोग जारी राख्नुपर्ने बताएको छ। काउन्सिलले बनाएको गाइडलाइन अनुसार मन्त्रालयले तयार गरेको ट्रिटमेन्ट प्रोटोकलमा पनि रेम्डिसिभिर समावेश गरिएको हो। कोरोनाबाट हुने मृत्युदर घटाउन र कोरोना संक्रमणबाट देखिने कडा खालका लक्षण यसको प्रयोगले कम गर्दै लगेको हुँदा यसले महत्वपूर्ण काम गरेको नेपालमा गरिएको प्रारम्भिक रिपोर्टले जनाएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.