|

काठमाडौं : काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक,आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैंकले राखेका ५१ वटा विज्ञापन बोर्ड हटाएको छ।

ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रवर्द्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि विज्ञापन बोर्ड हटाएको हो।

माइतीघर मण्डला क्षेत्रको व्यवस्थापन कृषि बैंकलाई दिने निर्णय गरेसँगै त्यसको सम्पूर्ण सौन्दर्यको काम बैंकले गरेको हो। माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो।

गत चैत ४ मा माइतीघर मण्डलाको सुन्दरीकरण गर्ने सम्झौतापत्रमा महानगरका तर्फबाट तत्कालीन सहसचिव राजेश्वर ज्ञवाली र बैंक तर्फबाट कायममुकायम उप महाप्रबन्धक ध्रुवचन्द्र गौतमले हस्ताक्षर गरेका थिए।

बैङ्कले महानगरले उपलब्ध गराएको डिजाइन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्व पूरा गर्ने बताएको थियो।

सम्झौता बमोजिम भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरबदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ उल्लेख गरिएको थियो। ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो संस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने उल्लेख गरिएको थियो।

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले विद्युतीय माध्यमबाट आफ्नो संस्थाको पहिचान झल्कने किसिमको सामग्री राख्न सक्ने सम्झौता भएको थियो। तर, दुवै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौताअनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ।

सम्झौताअनुसार व्यवस्थापन र मर्मत सम्भारमा ध्यान नदिने तर विज्ञापन राख्न मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए।

‘रात्रिकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमुना परीक्षणका लागि महानगरपालिकाले माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिसकेको छ। चासो नदेखाएपछि महानगरपालिका आफैंले माइतीघर मण्डलालाई व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम बढाएको हो,’ ज्ञवालीले भने, ‘धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमशः यस्ता बत्ती जडान गर्दै जाने योजनामा छौँ।'

नगर प्रहरी प्रमुख धनपति सापकोटाले पनि ठाउँ लिएर विज्ञापन गर्ने तर आवश्यकताअनुसार काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै महानगरको मापदण्डविपरीत राखिएका बोर्ड हटाएको उनको भनाइ छ।

‘सम्झौताअनुसार काम अघि नबढेपछि माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा राखिएका ५१ वटा साइनबोर्ड नगर प्रहरीको सक्रियतामा क्रेन लगाएर हटाएको हो,’ उनले भने, ‘काठमाडौं महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार कार्य नगर्ने तर विभिन्न व्यापारिक प्रतिष्ठानले आफ्ना वस्तुको प्रचार मात्रै गर्ने उद्देश्यले बिजुलीका पोल र आइल्याण्डमा राखेका साइनबोर्ड हटाइदिएका हौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.