‘उद्योग गाउँमा आयो तर पीडा बढायो’

|

हेटौंडा : गाउँमा उद्योग छिरेपछि रोजगारी र अन्य सुविधा पाउने स्थानीयको अपेक्षा हुन्छ। तर मकवानपुरको राक्सिराङ गाउँपालिका–४ गिडुङमा भने उद्योगले खानी सञ्चालनको प्रयास गर्दा स्थानीयहरु सुकुमबासी बनेका छन्। हेटौंडाको चुरियामाईमा सञ्चालित ऋद्धिसिद्धी सिमेन्ट उद्योगले खानी सञ्चालन गर्न बिचौलियामार्फत स्थानीयले बिक्री गरेको घरजग्गाको पैसा नपाएका हुन्।

मकवानपुरको राक्सिराङ गाउँपालिका–४ गिङुङका जितबहादुर चेपाङले रोजगारी पाउने कमाइ पनि खान पाउने आश्वासनमा बिचौलियालाई घरबारी बिक्री गरेको एक वर्ष भयो।

तर उद्योगले जग्गा खाली गर्न तोकेता गरे पनि चेपाङले अझै पूरा पैसा पाउन सकेका छैनन्। उनीजस्ता एउटा सिंगो गाउँ नै ऋद्धिसिद्धी सिमेन्टबाट पीडित छन्।गिङ्गु डाँडामा सिमेन्ट उद्योगले विगत ३ वर्षदेखि खानी सञ्चालनको प्रयास गर्दै आएको छ। उक्त खानीको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६४ परिवारले आफूहरुको उचित व्यवस्थापन नभएसम्म खानी सञ्चालन गर्न नदिने निर्णय गरेका हुन्।

स्थानीय जनसरोकार समितिले पुस्तौंदेखि भोगचलन गर्दै आएको जमिनको उचित मुआब्जा र उच्च जोखिमा रहेकाहरुको पुनर्बासको माग गरेका छन्। उद्योगले जबर्जस्ती खानी सञ्चालन गर्न खोजे त्यसको प्रतिवाद गर्ने निर्णय गरेको सरोकार समितिका अध्यक्ष गोपाल मुक्तानले बताए।

उनका अनुसार खानी आसपासका २५ हेक्टर जमिन प्रभावित हुनेछ। स्थानीयहरुले चलनचल्तीको मूल्यमा उद्योग आफैंले स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा १० लाख रुपैयाँभन्दा कम रकम प्राप्त हुनेलाई अन्यत्र पुनर्बास गराउनुपर्ने माग गरेका छन्। समितिले उद्योगका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलाई बोलाए पनि उपस्थित नभएको भन्दै उनीहरुले आपत्तिसमेत  जनाएका छन्।

समितिले भेला राखेर निर्णयसमेत गरेको जनसरोकार समितिका सचिव डिल बहादुर प्रजाले बताए। स्थानीय टोल विकास समितिका अध्यक्ष शुक्रमान प्रजा, ४ नम्बर वडासदस्य कर्ण बहादुर बल लगायतले स्थानीयको समस्याबारे भेला गरेर  बोलेका हुन्।

खानी विभागले भने हालसम्म गिङ्गु डाँडामा ऋद्धिसिद्धी सिमेन्टले उत्खनन अनुमति लिइनसकेको जनाएको छ। गिङ्गु डाँडादेखि गोराङ्दी खोला किनारसम्म भिरालो जमिनमा रहेको बस्ती खानी सञ्चालनपछि उच्च जोखिमा रहने भन्दै खानी विभागको अध्ययन टोलीले उक्त बस्तीलाई अन्यत्र सारेर मात्र खानी सञ्चालन गर्न सकिने प्रतिवेदन विभागमा बुझाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.