|

मुगु : कर्णाली प्रदेशका हिमाली जिल्लाका किसान यतिबेला भुवा पाखो खेतबारीमा हिउँदे बाली गहुँ जौ छर्ने चटारोमा छन।

मुगु लगायतका कर्णाली प्रदेशका हिमाली जिल्लाका किसानहरु हिउँदे बाली लगाउनका लागि खेतबारी खन, जोतमा व्‍यस्त छन्। मुगु जिल्लाका चारवटै स्थानीय तहमा किसान खेतमा गहुँ र जौँ छर्ने हतारोमा छन्। 

बिहान सबेरै खेतबारीमा निस्कीएर खेतमा गहुँ, जो छर्न, खेतबारीमा खन जोत गर्न ब्यस्त रहेका छायाँनाथ रारा नगरपालिका वडा नं ७ का किसान जयरुप शाहीले बताए।

बर्खे बाली कोदो, सिमी, मकै र आलुलगायत बाली थन्क्याएपछि उनी मात्र होइन, हिमाली ,लेकाली बस्तीका अधिकांश किसान खेतबारीमै व्यस्त छन्। अर्का किसान हरिराम सहानीका अनुसार अन्न छर्ने कामले फुर्सद पाउनै नसकेको बताए।

हिमाली लेकाली बस्तीमा चिसो मौसम सुरु नहुँदै अन्न लगाइसक्नुपर्ने बाध्यता छ । चिसोका कारण बाहिर निस्कन समस्या हुने भएकाले कृषक जतिसक्दो छिटो बाली लगाउने हतारोमा परेका छन्।

गएको मंसिर १ गते जिल्लाभर वर्षात अर्थात केहि मात्रामा पानी परे पछि जिल्लाका कृषकहरु खुसी हुँदै काममा व्यस्त छन्।

विगतका वर्षहरुमा समयमा वर्षात नहुँदा जौ गहुँ छर्न निकै समय कुर्नुपर्ने भए पनि यो वर्ष समयमा नै वर्षात भएपछि जौ गहुँ तथा तरकारी रोप्न सहज भएको किसानहरु बताउँछन्। चाडबाड सकिएको र कोराना भाइरसका कारण यति बेला बालबालीका बिद्यालय जान नपाएका र खेत बारीमा बालबालिकादेखि वृद्धसम्मलाई बाली लगाउने कामले छोएको छ । 

छायानाथ रारा नगरपालीका, खत्याड गाउँपालीका, सोरु गाउँपालिका र मुगुमकामारोङ गाउँपालिकामा सिँचाइ सुविधा नहुने अधिकांश क्षेत्रमा आकासेपानीकै भरमा खेती गरिन्छ । हिउँदमा जिल्लाका अधिकांश क्षेत्रमा हिमपात हुने भएकाले हिउँ पर्ने आशामै खेती गरिन्छ ।

हिमपात भएपछि जमिनको चिस्यान लामो समयम्म कायम हुने र उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयका नि कार्यलय प्रमुख पञ्चलाल बुढाले  बताए । 

खेतीपाती गरेर जीवननिर्वाह गर्ने अधिकांश किसान अहिले खेतबारीमै व्यस्त छन्। मंसिर २० सम्म हिउँदे बाली लगाउने समय उत्तम भएको र त्यसपछि छर्दा केहि उत्पादनमा कमी आउने प्रमुख बुढाले बताए।

उनले भने सिँचाइ सुविधा नभएका केही उच्च लेकाली बस्तीमा वर्षमा एक बाली मात्र लाग्छ  ती बस्तीमा पनि हिमपात हुने आशाले किसानले बाली लगाउन सुरु गरिसकेका छन्।

मुगुमा वर्षमा दुई बाली बर्खे बाली र हिउँदे बाली हुन्छ। यता छायानाथरारा नगरपालिकाको रुगा र खत्याड गाउँपालिकाको हयाङलुका स्थानीयले भने हिमपात भएपछि मात्र वर्षमा एक बाली लगाउने गरेको गर्दछन ।

हिमाली क्षेत्रमा जति बढी हिमपात भयो उति बढी अन्नबालीको उत्पादन हुन्छ । चिसोले गर्दा ७ महिना देखि ९ महिनामा मुस्किलले बाली पाक्ने गर्दछ। हिमपातका कारण माटो ओसिलो भएपछि किसानले बाली लगाउने गरेको स्थानीयको भनाइ छ।

जग्गा बाँझो राख्‍नेलाई सेवा सुविधामा रोक

मुगु जिल्लामा एक नगरपालिका तीन गाउँपालिका गरी चारवटा स्थानीय तह छन् भने ४५ वडा छन्। ती वडामध्ये छायानाथ रारा नगरपालिका-४ ले आफनो वडा बस्तीमा जग्गा बाँझो राख्नेलाई वडा कार्यालयबाट दिइँदै आएको सबै सेवा नदिने निर्णय गरेको छ।

गएको मंसिर ३ गते बसेको वडापालिकाको बोर्ड बैठकले हिउँदेबाली नलगाई जग्गा बाँझो राख्नेलाई वडापालिकाबाट प्रदान हुने सबै सेवा रोक्का गरिने निर्णय भएको छायानाथ रारा नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए।

उनका अनुसार नगरपालिका ४ नम्बर वडा बस्तीका स्थानीयले जग्गा बाँझो राखी हिउँदेबाली जौ र गहुँ लगाउन छोडेका थिए। यो बाली हराउने अवस्थामा पुगेपछि छाँयानाथ रारा नगरपालिकाको सो निर्णय गरेको हो। वर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं, र गहुँ लगाउने गरे पनि केही वर्षयता हिउँदे बाली जौ र गहुँ लगाउन छोडेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.