केयुकेएल भन्छ : सडक पुनर्निर्माणले समस्या भयो

|

काठमाडौं : ‘काठमाडौँबासीले खानेपानी जुटाउन अनेक हैरान भोग्नुपरेको छ। तर यहीँ पाइप फुटेर सडकमा चुहिएको पानी पोखरीमा परिणत हुँदा पनि केयुकेएल मर्मतमा वास्ता गर्दैन,', बुधबार गोकर्ण अत्तरखेलका स्थानीय राम भण्डारीले आक्रोश पोख्दै भने। 

यतिबेला आकाशको पानी परेको छैन, हिउँदयाम चलिरहेको छ। यस्तोमा काठमाडौंका सडक धुलाम्मे हुनुपर्ने हो। तर, जोरपाटी–सुन्दरीजल सडकको दृश्य ठीक उल्टो छ। अहिले पनि जताततै सडक हिलाम्मे छन्। खानेपानी चुहिएर सडक पोखरी बनेका छन्। 

भण्डारीका अनुसार अत्तरखेल लगायत सडकको बीचबीचको चार–पाँच ठाउँमा ६ महिनादेखि पाइप फुटेर पानी खेर गइरहेको छ। यो पानी सुन्दरीजलबाट ल्याइएको हो। त्यहाँको पानी उपत्यकाभर वितरण गरिएको छ।

‘६ महिनादेखि यसरी खानेपानी चुहिएको छ,’उनले भने,‘पानीबाट बनेको हिलोसहितको चिप्लोमा परेर २५ जना भन्दा बढीको हात भाँचिएको छ। धेरै सवारी साधनमा क्षति पुगेको छ। मर्मत गर्नुपर्दैन? केयूकेएलका हाकिमहरू कुर्सीमा बसेर खुट्टा हल्लाएर बस्नै ठिक्क छ’, उनले भने। चुहिएको पानी र हिलो घरभित्र पसेको भन्दै तत्काल खानेपानी मर्मत गर्नुपर्ने माग उनको छ।

‘पानीको पाइप छ, तर जारको पानीको भर’

जोरपाटीका रुबि श्रेष्ठले खानेपानीको पाइप भए पनि अहिले पानी नआउँदा जारको पानी किनेर उपयोग गर्ने गरेको बताइन्। ‘मैले पनि सुन्दरीजलबाट आएको पानी लिएको थिए,’उनले भनिन,‘अहिले पाइप मात्रै छ। कहिले पानी आउँछ कहिले आउँदैन। त्यसैले जारको पानी किनेर खान्छौँ।’

ठाउँठाउँमा चुहिएको खानेपानी केयुकेएलले समयमै मर्मत नगर्दा उपत्यकाका धेरै सर्वसाधारण खानेपानीबाट बञ्चित भएको सुनाइन्। ‘बाटोमा चुहिएको पानी मात्रै मर्मत गरेको भए त उपत्यकाका ५०,६० घरलाई मज्जाले पुग्थ्यो,’उनले भनिन,‘हामीले पिउने पानी सब सडकमा छताछुल्ल छ। खै कसलाई के भन्नु र?’

सडक पुनः निर्माणले समस्या : केयुकेएल

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) महाँकाल चौर, सुन्दरीजल शाखा प्रमुख उमेशबाबु मरहठ्ठाले जोरपाटी–सुन्दरीजल सडक पुनःनिर्माणले पानी चुहिने समस्या भएको बताए। ‘सडक निर्माणले खानेपानीको पाइप बिगारेकोले पानी चुहिएको होला,’उनले भने,‘मर्मत गरिन्छ।’

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले सडक पुनःनिर्माणको लागि ढल हाल्दा पानी चुहिएको जानकारी दिए। उनले भने,‘अहिले जोरपाटी–सुन्दरीजल सडकको रेखांकनको काम तीब्र गतिमा अघि बढेको छ। ढल हाल्दा समस्या आएको हो। ढल हालिसकेपछि समस्या समाधान हुन्छ।’

उनले त्यहाँका स्थानीयले पनि घरभित्र प्रयोग गरेको पानी सडकमै फाल्ने गर्दा हिलाम्मे भएको तर्क गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.